पोखरा न्यूज । नायक पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।
१७ वर्षीया एक गायिकामाथि जबरजस्ती करणी गरेको भनि शाहविरूद्ध बुधबार परेको किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।
त्यस लगत्तै गायिकाले मेडिकल चेकअप गराएकी छन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर गायिकामाथि करणी गरेको उजुरीमा उल्लेख गरिएको छ
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि तनहुँ प्रहरीमा जाहेरी परेको हो ।
शाहमाथि प्रेमका नाममा बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।
हालै मात्र सार्वजनिक भएको एक अडियोमा अभिनेता शाहले शारीरिक सम्बन्ध भएको स्वीकार गरेका छन् ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ।
१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।