काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने ।
यसबाट काठमाडौंदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाए ।
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।
निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए ।