
पोखरा । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
ग१६प २०७५ नम्बरको स्कुटरलाई ना ५ ख ६२२२ नम्बरको ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा स्कुटरमा सवार पोखरा चाउथेका ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा निधन भएको कास्की प्रहरीले जनाएको छ ।
उक्त स्कुटर चलाइरहेकी २३ वर्षीया सुस्मिता कँडेल घाइते भएकी छन्। प्रहरीका अनुसार उनको हात र घुँडामा चोट लागेको छ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।