
पोखरा । गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आयोजना एवम् वालन तथा कला सांस्कृतिक प्रतिष्ठान नेपालको संयोजनमा पोखराको गुप्तेश्वर गुफामा एक महिने वाद्यवादन तालिम सम्पन्न गरिएको छ ।
नेपाली मौलिक संगीत र धर्म सँग जोडिएको वाद्यवादनको विधालाई समेटेर आयोजना भएको तालिममा मादल, खैजरी, मुजुरा, हार्मोनियम र बाँसुरी गरि पाँच विधामा ५२ जनाले सहभागिता जनाएका थिए ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले सर्वोत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कृत तथा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न सके मात्र प्रशिक्षणले सफलता हासिल गर्ने बताइन ।
धार्मिक एवं पर्यटकीय क्षेत्र गुफाको आम्दानीबाट गुफाको संरक्षणका साथै शैक्षिक,सामाजिक, आध्यात्मिक, तथा यस क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले प्रचलित कानुनी रूपमा संचालित यस धार्मिक क्षेत्रको आम्दानीमा कसैले पनि आँखा लगाउन नसक्ने बताइन ।
गुफा व्यवस्थापन समितिका सल्लाहकार एवं पत्रकार हरिप्रसाद बास्तोलाले २०५० सालमा पुसको २७ गते पहिलो पटक आफूले गुफालाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा उल्लेख गर्दै समाचार लेखेको स्मरण गरे । त्यस बेला केही मान्छेले आफूलाई यस्तो नहुने कुरा पनि के लेखेको भनेकोमा समयसँगै गुफा प्रमुख गन्तव्य बनेकोमा सबैभन्दा खुसी आफू भएको उनको भनाई थियो ।
गुफाका सह कोषाध्यक्ष एवं गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्रधानाचार्य विजयराज आचार्यले गुप्तेश्वरले विविध सामाजिक क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै शिक्षा र तालिमसँगै स्वास्थ्य क्षेत्रमा पनि गुप्तेश्वर अघि बढ्न लागेको बताए । स्वार्थ रहित विशुद्ध सामाजिक कार्यका कारण गुप्तेश्वरले आफ्नो छवि उँचो बनाउँदै लगेको उनको भनाई थियो ।
कार्यक्रममा वडा सदस्य विष्णुमाया थापाले यस्ता तालिम लाई वडाले पनि प्राथमिकतामा राखेको अवस्थामा समग्र पहुँच पुर्याउन नसके पनि गुफा समितिले यस्तो कार्यक्रम गरेकोमा आभार व्यक्त गरिन ।
तालिमका सहभागी धना पौडेल(शान्ति)ले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य राख्दै आगामी दिनमा यस्ता खालका तालिमका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।
नातिदेखि हजुरआमासम्म तीन पुस्ताको सहभागी रहेको उक्त प्रशिक्षण अन्तर्गत मादलमा सविता गिरी र रोशन सुवेदी, खैजरीमा दिपा कुमारी पराजुली ,मुजुरामा रमादेवी पौडेल, हार्मोनियममा प्रशान्त जोशी र बाँसुरीमा शिखर न्यौपाने सर्वोत्कृष्ट भई पुरस्कृत भएका थिए ।
वालन तथा कला सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष नवराज बराल, लोक भजन चुड्का प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, जिल्ला अध्यक्ष शालिकराम गौतम, वरिष्ठ प्रशिक्षक आर्जब पौडेल र सोनाम नेपालीले सहभागीलाई प्रशिक्षण प्रदान गरेको गुफा व्यवस्थापन समितिका सदस्य एवम् कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिए ।
गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईश्वरी लम्सालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव उत्तम सिग्देलले गरेका थिए ।