
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गरेको छ । पोखरामा बिहीबार विरोध कार्यक्रमको आयोजना गर्दै महासंघले प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावली तत्काल खारेज गर्न माग गरेको हो । नियमावली खारेज नगरिए जेठ १५ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक सवारीसाधन सञ्चालन बन्द गर्ने चेतावनी समेत महासंघले दिएको छ ।
सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिँदै महासंघ गण्डकीका संयोजक केदार पौडेलले भने, ‘हाम्रो माग जेठ १४ गतेभित्र पुरा गरिएन भने जेठ १५ देखि गण्डकी प्रदेश महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरू संचालन नगरी घर ग्यारेज गर्ने छौ।’
महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले मागलाई बेवास्ता गरिए आन्दोलनलाई व्यापक बनाउँदै लैजाने चेतावनी दिएका छन् । उनले भने, ‘प्रदेश सरकार गम्भीर भएर माग पुरा नगरे जेठ १६ देखि केन्द्रसँगको समन्वयमा देशव्यापी रूपमा सार्वजनिक यातायात सेवा ठप्प पार्न बाध्य हुने छौँ।‘
महासंघको केन्द्रले संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइसकेको बताउँदै सचिव केसीले मागहरू पूरा नभएसम्म आन्दोलनको बाटो रोज्न बाध्य हुने स्पष्ट पारे । ‘हामीले अरवौ लगानी गरेको सार्वजनिक यातायात क्षेत्रलाई कमजोर पार्ने, बिचौलिया र कमिसन प्रणालीलाई बढवा दिने तथा यात्रुहरूको सुरक्षामा चुनौती खडा गर्ने गरी ल्याइएको नियमावली स्वीकार्य छैन,’ उनले भने।
सरकारलाई तत्काल निर्णय परिवर्तन गर्न आग्रह गर्दै महासंघले नियमावली फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । गत जेठ १ मा गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।
यसअघि पनि गण्डकीमा राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । प्रदेश सरकारले अहिले कार्यविधि नभई राइड सेयरिङ सम्बन्धी छुट्टै नियमावली ल्याएको हो ।