
पोखरा । ठूलो आवाज निकाल्ने, साइलेंसरबाट आगो फ्याँक्ने र समाजमा त्रास मच्चाउने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी सडकमा हो–हल्ला गर्ने चार जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १० का सुवास कार्की (२१ वर्ष), वडा नं. ३ बस्ने एल्विन पुन (२५ वर्ष), वडा नं. ६ का संजिव दुवाडी (२६ वर्ष) र वडा नं. ५ का अमृत चापागाई (२९ वर्ष) रहेका छन्।
उनीहरुले सवारी ऐन विपरीत मोटरसाइकलमा म्युफ्लर, साइलेंसर र अन्य उपकरण परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगो फ्याँक्ने र सार्वजनिक सडकमा आतङ्क मच्चाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाएको बताएको छ। साथै, यस्ता अवैध रूपमा परिवर्तन गरिएका मोटरसाइकल देखेमा १००, १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध गरिएको छ।
प्रहरीका अनुसार, सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ।





