काठमाडौँको फोहोर उठ्न थाल्यो

पोखरा न्यूज – १६, असार । दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो ।

विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनका अनुसार स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्ने लगायतका माग महानगरसँग गरेका थिए ।

कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उनले बताए । समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् । “समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ” उनले भने, “त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।”

विभिन्न मागहरू राखेर समयसमयमा स्थानीयवासीले फोहोर फाल्न अवरुद्ध गर्दै आएका छन् । महानगरले १३ वर्ष पहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । तेह्र वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै गरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । महानगरपालिकाले केही समय पहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button