
पोखरा, २६ चैत्र –
आज चैत २६ गते अर्थात सहिद भीमसेन दहालको स्मृति दिवस । उनको शालिकमा पुष्प माल्यार्पण गरेर स्मृति दिवस मनाइएको छ । सहिद दहालको महेन्द्रपुल भीमसेनचोकस्थित शालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाईएको हो ।
माल्यारोपण कार्यक्रममा संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कागेंस कास्कीका अध्यक्ष कृष्ण केसी, जनआन्दोलन सहिद परिवार तथा घाईते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, शहिद दहालका धर्मपत्नि एवं शहिद भीमसेन दहाल स्मृति प्रतिष्ठानका अध्यक्ष सविता दहाल लगायतले शहिद दहालको शालिकमा माल्यारोपण गरेका हुन । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी तथा नागरीक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहिद दहालले जनआन्दोलन ०६२÷०६३ मा दश वर्षअघि आजकै दिन महेन्द्रपुलमा सेनाले चलाएको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो । काभ्रे घर भएका सहिद दहाल पोखरामा व्यवसाय संचालन गर्दै आउनु भएको थियो । यसै बिच पोखरा २६ सराङकोटको ग्यारजातीमा रहेको सार्वजनीक जग्गामा आजै शहिद स्मृति दिवसको अवसरमा शहिद स्मृति पार्कको शिलान्यास गरीएको छ । उक्त पार्कको संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले शिलन्यास गर्दै शहिदले देखाएको बाटो हिड्न सके मात्र शहिदको श्रृद्धा हुने बताए । उनले उक्त पार्क निमार्णमा सहयोग गर्ने बताउदै नमुना पार्क बनाउन पोखरेलीहरुलाई लाग्न आग्रह गरे ।
शहिद भीमसेन दहाल स्मृति प्रतिष्ठानका अध्यक्ष सविता दहालको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बराल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रतिष्ठानका उपाध्यक्ष शिव कुमार पौडेल, प्रतिष्ठानका सचिव एवं रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, स्थानीय भरत बहादुर थापा लगायतले शहिदले देखाएको बाटो नेताहरु हिड्न नसक्दा देशमा अस्थिर राजनीतिक जारी रहेको बताए ।





