पोखरामा बालिकाहरुलाई यौन कार्यमा लगाएको आरोपमा ४ पक्राउ

२ बालिकाको उद्धार

पोखरा ।  बालिकाहरूलाई प्रलोभनमा पारी यौन कार्यमा लगाएको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका -८ जाल्पा रोड स्थित खाजाघरबाट उनीहरु  पक्राउ परेका हुन्।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर गणेश पाण्डेका अनुसार  विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा शनिबार साँझ करिब ७ बजे खटिएको प्रहरी टोलीले  यौन कार्यमा संलग्न गराउने व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई राम्रो तलब तथा खानबस्न सुविधा दिने प्रलोभनमा पारी पोखरा ल्याइ सुरुमा सामान्य काममा लगाउने र पछि ग्राहकबाट रकम लिएर जबरजस्ती यौन कार्यमा संलग्न गराउने गरिएको खुलेको पाण्डेले बताए ।

उनका अनुसार प्रहरीले घटनास्थलबाट २ जना बालिकालाई उद्धार समेत गरेको छ ।

पक्राउ पर्नेहरूको विवरण:

  • मोरङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७ बस्ने २१ वर्षीया महिला (परिवर्तित नाम “कास्की ६८”)
  • सिन्धुली स्थायी घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ३१ वर्षीया खाजाघर सञ्चालक महिला (परिवर्तित नाम “कास्की ६९”)
  • पोखरा महानगरपालिका–२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट
  • भारत, बिहार स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३१ वर्षीय अमिर उल्ला मियाँ

पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button