पोखरा, २७ चैत्र –
नेवा मिसा पुच कास्कीको आयोजनामा शनिबार पोखरामा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पुचका अध्यक्ष शान्ती उदासको अध्यक्षतामा भएको कार्यक्रममा नया बर्ष बि.सं. २०७३ सालको शुभकामना आदानप्रदान, मिस नेवा पोखरा ११३६ का विजेता तथा सहभागी , भैरब नाचका गुरुहरु तथा मिस लेखनाथ क्विनका बिजेतालाई सम्मान गरिएको थियो ।
सम्मानित हुने ब्यक्तिहरुलाई प्रमुख अतिथी नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले फेटा तथा मायाको चिनो प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा मिस नेवा पोखरा ११३६ बिजेता एलिसा जोशी, फस्ट रनरअप सुवि तण्डुकार, सेकेण्ड रनरअप सन्ध्या श्रेष्ठ सहित मिस नेवामा सहभागी १९ प्रतिस्पर्धी रहेका थिए । यसैगरि भैरब नाचमा योगदान पुर्याए वापत भैरब साँस्कृतिक संरक्षण समितीका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र भैरब नाचका गुरु कृष्णबहादुर बैद्यलाई सम्मान गरिएको थियो । मिस क्विन लेखनाथमा बिजेता बन्न सफल सुलोचना श्रेष्ठलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले आफ्नो मौलिकताको जगेर्ना गर्न सबैले आ–आफ्नो कर्तब्य र भुमिका निर्बाह गर्नुपर्ने बताए । उनले भैरब नाच पोखराको पुरातात्विक महत्वको नाच भएकोले यसलाई संरक्षण र प्रबद्र्धनका लागि सरकार पनि चनाखो हुन पर्ने कुरामा जोड दिए । सम्मानितको तर्फबाट बोल्दै मिस नेवा पोखरा ११३६ एलिसा जोशीले नेवा खल कास्कीले समुदायका युवतीहरुलाई मिस नेवा पोखराको आयोजना गरि आफ्नो समुदायको बारेमा जान्ने तथा ब्यक्तित्व विकास गर्ने अवसर दिएको मा धन्यबाद दिंदै संस्कृति जगेर्नाका लागि गरिने हरेक कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता जनाईन । नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले संस्कृति जगेर्नाका लागि पोखराका नेवार समुदायमा जागरण आएकोले नेवा खल तथा मिसा पुचले भाषा, भेष तथा संस्कृति जगेर्नाका लागि हरसम्भव कार्यहरु गर्ने बताए । कार्यक्रममा भैरब साँस्कृतिक संरक्षण समितीका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग, भैरब नाचका गुरु कृष्णबहादुर बैद्य, मिस क्विन लेखनाथ सुलोचना श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेवा मिसा पुचका सचिब संगीता बज्राचार्यले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक मेनुका श्रेष्ठले गरेका थिए ।





