नव वर्षको अवसरमा मिस नेवालाई सम्मान

पोखरा, १ बैशाख –

रामबजार तायाः मचाः नाच समिति १०÷१५ ले बुधवार एक कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०७३ को शुभकामना आदान प्रदान र मिस नेवाः ११३६ का विजेताहरुलाई सम्मान गरेको छ ।

पोखरा रामबजारस्थित श्रीकृष्ण मन्दिरको सभाहलमा रामबजार मिसाः पुचः र रामबजार ल्हाम्ह पुचःको सहआयोजनामा नाच समिति १०÷१५द्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. २ बाट निर्वाचित साँसद सारदा पौडेल, समाजसेवीहरु जगत ध्वजु, कृष्णबहादुर जोशी, समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले नेवा खलः कास्कीद्धारा आयोजित मिस नेवा ११३६ का विजेता एलिसा जोशी, फस्ट रनर अप सुमी तण्डुकार र सेकेण्ड रनर अप सन्ध्या श्रेष्ठलाई सम्मानपत्र, माला र खादाद्धारा सम्मान गरिएको थियो । यसरी नै मिस नेवाका विजेताहरुलाई मिस पुचःबाट पछ्यौरीबाट सम्मान गरिएको थियो ।

यस अघि प्रमुख अतिथिले सांसद शारदा पौडेल कार्यक्रमको दीप प्रज्वलनका साथै राष्ट्रिय विभुति शंखधर साख्वालाई पुष्पार्पण गर्दै उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि सांसद पौडेलले नयाँबर्षको शुभकामना व्यक्त गर्नुहुदै सँस्कृतिले नेवारी मौलिक सँस्कृतिलाई समृद्ध बनाउन मिस नेवाका विजेताहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मिस नेवा प्रतियोगिताले चेलीहरुले पनि समाजमा नेतृत्व गर्न सक्छन भन्ने भावनाको विकास भएको बताउनुहुदै नेवारी सँस्कृति विकासका लागि ताया मचा नाच समितिलाई आउदो साँसद विकास कोषबाट बाजा गाजा खरिदका लागि ५० हजार रुपैया सहयोग गर्ने उद्घोष गर्नुभयो । त्यतिमात्रै नभएर उहाँले मिस पुचःमा आवद्ध दिदिवहिनीहरुको क्षमता अभिवृद्धिका लागि तालिममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सांसद पौडेलले पोखरेली लगायत आफुहरुको पहलबाट पोखरा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि बुधवार शिलान्यास गरिने भएकाले खुशी व्यक्त गर्नुहुदै विकास गर्दा स्थानिय जनताको लाभलाई ध्यान दिने गरेको बताउनुभयो । विमानस्थल निर्माणका लागि स्थानिय जग्गाधनीहरुलाई उचित मुअब्जा उपलब्ध गराउन आफुले भुमिका खेलेको दावी गर्नुभयो ।

सम्मानित मिस नेवा ११३६ एलिसा जोशीले नयाँवर्षको शुभकामना व्यक्त गर्नुहुदै रामबजार तायाः मचाः नाच समितिद्धारा २०७३ सालको पहिलो दिनमै सम्मानित हुन पाउदा अत्यन्तै खुशी भएको बताउनुभयो । मिस नेवाहरु नेवारी कला संस्कृति संरक्षणका लागि कृयाशील रहने प्रतिवद्धता व्यक्त गर्नुहुदै संस्कुति संरक्षणको अभियान हरेकले आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा श्रीकृष्ण मन्दिर संचालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा, मिस पुचः की सर्मिला प्रधानाङ्ग श्रेष्ठ, रामबजार टोल सुधार समितिका उपाधयक्ष खरिलाल विश्वकर्मा, पोखराय भिन्तुनाका सम्पादक उदयबहादुर अमात्य लगायतले नववर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नाच समितिका सहयोगदाताहरु र समितिका परिवारका उपलब्धि हासिल गरेको महानुभावहरुलाई सम्मान गरिएको थियो । समितिका सहयोगी केही समय अमेरिकाबाट आउनु भएकी कृष्णकुमारी श्रेष्ठ, बुद्धचोक युवा क्लवका उपाध्यक्ष लिला जिसी, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेस श्रेष्ठ, इलेक्ट्रोमेकानिक्सका कास्की अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, समितिका द्धितिय उपाध्यक्ष जयन्द्र राजभण्डारी लायन्स क्लव अफ युनाइटेड पोखराका अध्यक्षमा निर्वाचित हुनुभएको माला लगाई सम्मान गरिएको थियो । यसरी नै इश्वर श्रेष्ठ र विजया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले रामबजारमा सम्पन्न बाह्र भैरब नृत्यको आय व्यय सार्वजनिक गरिएको थियो । नृत्य आयोजना गर्दा ३ लाख ७० हजार ९ सय आम्दानी र १ लाख ७६ हजार २२ रुपैया खर्च भई १ लाख ९४ हजार ८७८ रुपैया वचत भएको जानकारी दिनुभयो ।

रामबजार तायाःमचाः नाच समितिको अध्यक्ष सम्मरबहादुर श्रेष्ठले नयाँबर्षको शुभकामना व्यक्तका साथै आमन्त्रित प्रमुखअतिथि, अतिथि र सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै नेवा खलः कास्कीद्धारा मिस नेवा आयोजना गरेको वर्षदेखि नै विजेताहरुलाई बैशाख १ गते कार्यक्रम गरी सम्मान गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले पहिचान र नेवारी कला सँस्कृतिको संरक्षण र विकासका लागि समिति क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रमको संचालन समितिका सहसचिव किरण रञ्जितले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button