‘अक्षरयात्रा’ को १२५ औं श्रृङ्खला मझेरीपाटनमा सम्पन्न

पोखरा, १८ पौष –

साहित्यिक पर्यटनको अवधारणाका साथ सञ्चालित पोखराको साहित्यिक अभियान ‘अक्षरयात्रा’ को १२५ औं श्रृङ्खला शनिबार पोखराको मझेरीपाटनमा भएको छ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले संयुक्तरूपमा प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको पुसे श्रृङ्खला मझेरीपाटनको देउराली फार्म हाउसमा भएको हो। पर्यटकीय सम्भावनालाई साहित्यमा उतार्दै तद्स्थानीय रचना वाचन गर्ने अभियान, अक्षरयात्रामा यस पटक पोखराका करिव तीन दर्जन बढी साहित्यकारले सहभागिता जनाए। देउराली फार्म हाउसको स्थानीय व्यवस्थापनमा भएको अक्षरयात्रामा मझेरीपाटन आसपासको सम्भावना, देशको राजनीतिक अवस्था, सामाजिक विकृति र मायाप्रेम विषयलाई यात्रीले रचनामार्फत सुनाएका थिए।

कार्यक्रममा सन्ध्याका सल्लाहकार तथा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक प्रकट पंगेनी शिवले साहित्यलाई पर्यटनसँग जोडेर तद्स्थानमै सिर्जना भएका रचना सुनाउने अभियानले नयाँ प्रतिभा र सम्भावनाको उजागर तथा साहित्यमा विविधता ल्याउन अक्षरयात्रा अभियान सुरू गरिएको बताए। १२५ महिनासम्म चलेको यो अभियान निरन्तर बढाइरहनका लागि नयाँ पुस्ता पनि उत्पादन भैरहेको बताउँदै पंगेनीले कविता सुनाएका थिए। फार्म हाउसका सञ्चालक तथा कवि गनेस पौडेलले चलिरहेका साहित्यिक अभियान मध्ये अक्षरयात्रा पनि एक पृथक अभियान भएको बताउँदै एग्रो टुरिजमलाई पनि जोड्न पाएकोमा खुशी व्यक्त गरे।

सन्ध्या अध्यक्ष विर्सना बस्नेतको अध्यक्षतामा भएको अक्षरयात्रामा सन्ध्याका सल्लाहकार ईश्वरमणि अधिकारी, रूपिन्द्र प्रभावी, मन क्षेत्री, कपिल शर्मा, रयाण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, प्याव्सन उपाध्यक्ष तथा कवि दिनेश श्रेष्ठ, प्याव्सन कोषाध्यक्ष मथुरा पौडेल, समाजसेवी किरण पौडेल लगायतले शुभकामना मन्तव्यसहित कविता वाचन गरेका थिए।

यसैगरी, अक्षरयात्रामा लक्ष्मी थापा, कल्पना चिलुवाल, डा.चैतन्य अधिकारी, सुमन लम्साल, घनश्याम रेग्मी, मिर्मिसा पराजुली, रामकुमार श्रेष्ठ, वलराम पूर्णविराम, विनिता लम्साल, लगायतले रचना वाचन गरेका थिए भने सचिव मोहन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button