पोखरा, १८ पौष –
जिल्ला विकास समिति अन्तर्गतको दलित जिल्ला समन्वय समिति, कास्कीले दलित युवाहरुलाई कम्प्युटर एवं सिलाई तालिम प्रदान गरेको छ । समितिले प्रथम चरणमा ३० जनालाई कम्प्युटर र २० जनालाई आधारभूत सिलाई तालिम दिएको हो । समितिले पोखराको न्यूरोडमा तालिम केन्द्र नै सञ्चालन गरेको छ ।
यसैबीच, प्रथम चरणको तालिम पुरा गरेका प्रशिक्षार्थीहरुलाई समितिले शनिबार एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरेको छ । प्रथम चरणको तालिम समापनसँगै शनिबार नै दोश्रो चरणको तालिमको समेत उद्घाटन गरिएको छ ।
प्रमाणपत्र वितरण गर्दै कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले तालिम पश्चात आयआर्जनको बाटोमा लाग्न प्रशिक्षार्थीलाई आग्रह गरे । समन्वय समितिका अध्यक्ष समेत रहेका तिवारीले दलितहरुको सशक्तिकरणमा यस्ता तालिम फलदायी हुने बताए । कार्यक्रममा बोल्दै उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका बोर्ड सदस्य परशुराम बी.पोख्रेलले तालिमको दिगो उपयोगमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे । समन्वय समितिका उपाध्यक्ष एवं तालिम केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर सुनारले तालिम केन्द्रलाई नमुनाका रुपमा विकास गर्ने योजना रहेको बताए । कार्यक्रममा व्यवस्थापन समितिका सचिव भीमबहादुर विक ‘क्षितिज’ ले तालिममा उत्कृष्ट हुने दलित युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने र आधारभूत तालिम पश्चात ‘एड्भान्स’ तालिमको लागि प्रयत्न गर्ने बताए ।
कार्यक्रममा तालिम केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष गणेश बराईली, जिविसका सामाजिक विकास अधिकृत अर्जुन न्यौपाने, नेकपा (एमाले) कास्कीकी उपसचिव प्रभा कोइराला, मुक्ति समाज कास्कीका अध्यक्ष दामबहादुर विक, नयाँ शक्तिकी कमला रानाभाट, महिला जिल्ला समन्वय समितिकी उपाध्यक्ष तारा अधिकारी, कम्प्युटर प्रशिक्षक दीपक शिर्पाली, सिलाई प्रशिक्षक बसन्ती लुङ्गेली, प्रशिक्षार्थी कुसुम परियार लगायतले बोलेका थिए ।
उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको सहयोगमा सञ्चालित तालिम केन्द्रमा यहि पुस २० गतेबाट दोश्रो चरणको तालिम सुरु गरिने बताइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution