सांस्कृतिक बाटिका यथासक्य छिटो शुरु गरौं – कोइराला

पोखरा, ११ बैशाख –

प्राचीन कला सँस्कृति संरक्षण एवम्, सम्वद्र्धन अभियान नेपाल(प्राचीन)को साँस्कृतिक श्रृङ्खला सद्भाव, स्वाभिमान र सहनशिलता नाराका साथ शनिवार पोखरा सभागृहमा प्राचीन साँझ २०७३ शुरु भएको छ । नेपालको सुदुर पश्चिमाञ्चलदेखि पुर्वाञ्चल, हिमालदेखि तराईसम्मको लोपोन्मुख नेपाली लोक सँस्कृतिको प्रस्तुति रहेको प्राचीन साँझले पोखरा सभागृह लोपोन्मुख लोकसँस्कृतिमय बनेको थियो ।

प्रकृतिसँगै सँस्कृतिले समेत सुन्दर पोखरामा साँस्कृतिक बाटिका निर्माणार्थ नेपाली प्राचीन कला सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील संस्था प्राचीन नेपालद्धारा आयोजित कार्यक्रमको क्षेत्रीय प्रसासक शंकरप्रसाद कोइरालाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि क्षेत्रीय प्रसासक कोइरालाले प्राचीन नेपालले प्रस्तुत गरेको पोखरामा साँस्कृतिक वाटिका निर्माणमा आफ्नो तर्फबाट पुर्णसहयोग हुने प्रतिवद्धता जनाउनुभयो । उहाले बाटिका निर्माणका लागि यथाशक्य छिटो शुरु गर्नुपर्ने बताउनुहुदै बैशाख १५ गते योजनाको विस्तृत खाका तयारीका लागि प्राचीन नेपालका पदाधिकारीहरुलाई आफ्नो कार्यलयमा निमन्त्रणा दिनुभयो ।

नेपाली मौलिक लोक सँस्कृतिले राष्ट्रिय समृद्धि हुने दावी गर्दै उहाँले बहुजातिय, बहुभाषिक, बहुसाँसकृतिक मुलुकमा सबै जाति, भाषा, धर्म, कला सँस्कृतिले विकास साझा फूलवारी बनाउनुपर्ने प्रसासक कोइरालाको भनाई थियो । प्राचीन साँझ कार्यक्रम अन्तन्तै सान्दर्भिक, सम्मानजनक र महत्वपुर्ण रहेको उहाँको भनाई थियो । ढिलो गरी कार्यक्रम स्थलमा आइपुग्नु भएका प्रमुख अतिथि कोइरालाले निकै हतारमा छु भन्नुभए पनि उत्कृष्ठ साँस्कृतिक प्रस्तुतिले हतारोको बाबजुद करिब करिब ३ घण्टा कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।

प्राचीन साँझमा अति नै लोपोन्मुख चरण नृत्य पश्मिाञ्चलमै पहिलो पटक स्टेजमा प्रस्तुती गरिएको थियो भने लोपोन्मुख मौलिक नेपाल लोक नृत्यहरु कासीकाँधे झ्याउरे, झोरा, सोरठी, कौरा, पर्वते बुढो सालैजो, यानीमाया, तामाङसेलो, पुर्वेली गर्रा, सेब्रुङ, हुर्केली छलिया, शास्त्रीय नृत्य कत्थक प्रस्तुतीबाट दर्शकहरुले मनोरञ्जन लिएका थिए । करिब ५ घण्टाको कार्यक्रममा माया गुरुङ, निता गुरुङ, निखिल गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुपेन्द्रमान स्मृति पुरस्कारबाट पत्रकार कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक, रेडियो अन्नपुर्णका न्युज डक्स कोअर्डिनेटर, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले पत्रकारिता मार्फत नेपाली मौलिक लोकसँस्कृतिक संरक्षण, सम्बद्र्धन, विकास र प्रचारप्रसारमा योगदानको कदर गदै र सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष रुद्रबहादुर थापा(रुपेन बाबु)लाई विगत २८ वर्षदेखि नेपाली लोकसँस्कृतिक संरक्षण, सम्वद्र्धनमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो । प्रमुख अतिथि कोइरालालाई, पुरस्कारका संरक्षक सुरेन्द्रमान श्रेष्ठ, प्राचीन नेपालका अध्यक्ष उमनसिंह गुरुङ(माओत्सेतुङ), प्रतिभा छनौट समितिका संयोजक सरस्वती गुरुङ, सदस्य चिजकाजी गुरुङ लगायतले सम्मानित पत्रकार र सँस्कृतिकर्मीलाई सम्मानपत्रसहित जनही १५ हजार रुपैया, माला, खादा, बुके, मायाको चिनोसहित पुरस्कृत गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई विभिन्न संघ संस्था, समाजहरुको तर्फबाट बधाई प्रदान गरिएको थियो।

पुरस्कार आँधीखोला फेन्सी स्टोर्सका संचालन सुरेन्द्रमान श्रेष्ठले आफ्ना स्वर्गीय भाईको स्मृतिमा प्राचीन नेपालले सञ्चालन गर्ने गरी अध्यक्षकोष स्थापना गरिदिनुभई उक्त कोषको वार्षिक व्याजबाट मौलिक लोकसँस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासका लागि पत्रकारिताबाट विशेष योगदान दिने र सँस्कृति क्षेत्रमा लामो समयदेखि क्रियाशील सँस्कृतिकर्मीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने यसैवर्षदेखि शुरुवात गरिएको हो ।

कार्यक्रममा प्राचीन नेपालको साँस्कृतिक बाटिका निर्माणका लागि गायिका निता गुरुङ ५१ हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न सहयोगीहरुले सहयोग प्रदान गरेको थियो ।

उक्त अवसरमा कार्यक्रमका सहयोगीहरुलाई प्रमुख अतिथि कोइरालाले सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो ।कार्यक्रमका लागि ५१ रुपैया सहयोग शुल्क रहेको कोषाध्यक्ष पवित्रा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक, १४ वर्ष मुनिका विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा र अपांगहरुका लागि निशुल्क प्रवेशको सुविधा रहेको बताउनुभयो ।

प्राचीन नेपालका अध्यक्ष उमनसिंह गुरुङ(माओत्सेतुङ)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्नुहुदै प्राचीन नेपालका कोअर्डिनेटर एनवी गुरुङ युवनले संस्थाका गतिविधी एवं आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको संचालन महासचिव कृष्णकुमार गुरुङ, सचिव प्रेमा गुरुङ र माया गुरुङले गर्नुभएको थियो ।

प्राचीन नेपालले यस अघि पश्चिमाञ्चलको गाँउ गाँउमा घाँटु संरक्षण अभियान, देउसी भैलो अभियान लगायतका अभियानहरु सम्पन्न गरेको छ भने आफ्ना उत्कृष्ठ प्रस्तुतिहरु विभिन्न मञ्चहरुमा प्रस्तुत गर्दै आईरहेको छ ।

दोश्रो दिन आइतवार दिउसो १ बजेदेखि प्रस्तुत गरिने साँस्कृतिक कार्यक्रममा शनिवार प्रस्तुति गरिएका साँस्कृतिक प्रस्तुतिका साथ नयाँ नयाँ प्रस्तुतिहरु पनि रहेको कोअर्डिनेटर एनवी गुरुङ युवनले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button