
पोखरा, २९ चैत्र –
नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले बालमन्दिर उच्च मा.वि.मा शुरु गरिएको आइटी सेन्टरको उद्घाटन गरेका छन् ।
अष्ट्रेलियन सहयोग नियोग क्यान हेल्प नेपालको सहयोगमा बालमन्दिरमा अध्ययनरत विद्यार्थीहरुलाई आइटी शिक्षाको लागि २० थान ल्यापटप प्रोजेक्टर, इन्भर्टर ब्याट्री सहित २ कोठा सम्पूर्ण डेकोरेसन सहयोग गरेको छ । राजदूत ग्लेन ह्वाईटले विद्यालय प्राङ्गणमा वृक्षारोपाण समेत गरेका थिए । कार्यक्रममा नेपालको विकासमा सदैव सहयोग गर्ने बताउँदै विद्यार्थीको शिक्षाको पहुँचमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा अष्ट्रेलियन सहयोग नियोग क्यान हेल्प नेपालका प्रमुख ग्यामकरीले नेपालका १६ विद्यालयलाई आइटी सहयोग गरिएको र आगामी दिनमा विद्यालय सहयोग कार्यक्रमलाई बढाउँदै लगिने बताए ।
२०२४ सालमा स्थापना भएको बालमन्दिरमा हाल १ हजार २ सय ४७ विद्यार्थी अध्ययनरत रहेको र आइटी सेन्टरले विद्यार्थी अध्ययन र गुणस्तरमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालयका प्राचार्य सुशील बस्नेतले बताए ।
क्यान हेल्प नेपालका कोषाध्यक्ष समता प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारी, क्षेत्रीय सहप्रशासक लोकराज रेग्मी, जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पौडेल, जिल्ला शिक्षा अधिकारी लमजुङ्गका ज्ञानमणि नेपाल, रोटरी क्लव अन्नपूर्णका अध्यक्ष कल्याण कुमार कर्माचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम पौडेल, विद्यालयका शिक्षक तिलक बहादुर कार्की, शिक्षिका शर्मिला नेपाली, विद्यालयका छात्र विकास बसौला, युनाइटेड क्लवका सचिव इश्वर पुन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
सोही अवसरमा विद्यालय प्राङ्गणमा वृक्षारोपण सहित विद्यार्थीहरुबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।





