सन्देश श्रेष्ठ
पोखरा, ०३ बैशाख –
बिना अक्सिजन भुमीसमाधिमा बसेका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज शुक्रबार सकुशल भुमीसमाधिबाट निस्केका छन् । चैत २६ गते साँझ ६ः३० बजेबाट पोखरा रामघाटस्थित मन्दिरमा भुमीसमाधिमा बस्नु भएका गुरु सिद्धबाबा ९ दिनपछि शुक्रबार पूर्वान्ह १० बजेर २० मिनेटमा बाहिर निस्केका हुन् ।
भुमीसमाधिबाट सिद्धबाबालाई निकाल्न पूर्वान्ह ९ बजेर ३५ मिनेटबाटै शुरु गरिएको थियो । समाधिलाई पूर्ण रुपमा माटोले पुरेका कारण निकाल्न झण्डै ४५ मिनेट लागेको हो । समाधिबाट निकाल्दा सिद्धबाबा पूर्ण रुपमा पसिनाले भिजेका थिए । उनलाई शुरुमा सिद्धबाबाको समाधिस्थ हुनुअघिको आज्ञाअनुसारनै उनका प्रथम चेला गोविन्दबाबा शर्माले जलार्पण गरेर तिलक लगाउनुका साथै कुम, कानको दुवैतिर र शिरमा पञ्चामृत छर्के । त्यसपछि सिद्धबाबा आफै उठ्ने प्रयास गरेपनि चेला गोविन्दबाबा र उनका सहयोगीले सहायता दिएर उठाए । भूमीसमाधिबाट उठेपनि उनी कोही कसैसँगै बोलेनन् । उठेलगत्तै उनले पञ्चामृत ग्रहण गरे ।
लगत्तै डा.कालु शर्मा, डा.नारायण गौतम लगायतको चिकित्सकको विशेषज्ञ टोलीले सिद्धबाबाको स्वास्थ्य परिक्षण गरे । स्वास्थ्य परिक्षणमा सिद्धबाबाको सम्पूर्ण स्वास्थ्य सामान्य अवस्थामा रहेको चिकित्सकको टोलीले निश्कर्ष निकाल्यो ।
त्यसपछि मात्रै सिद्धबाबाले समाधिबाहिर निस्केको हेर्न पुगेका हजारौं दर्शकलाई समाधि बसेकै घरको पहिलो तल्लाको कौशीबाट दर्शन दिए । उनले हात हल्लाएर सबैलाई अभिनन्दन गरे तर त्यतिबेला पनि उनी कसैसँग बोलेनन् । त्यसपछि उद्घोषकले सिद्धबाबाको नाममा ओमकार गर्न भने, उपस्थित सबैले ओमकार गर्नुका साथै उनको जयजयकार पनि गरे । त्यतिञ्जेल सिद्धबाबा उपस्थित दर्शक भक्तजनलाई हेरेर मुस्कुराए ।
उपस्थित भक्तजनलाई स्वास्थ्य परिक्षणको नेतृत्व गरेका डा.कालु शर्माले सिद्धबाबाको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । उनले भने,–‘समाधिमा बस्नुअघी पनि हामीले उहाँको स्वास्थ्य परिक्षण गरेका थियौं, अहिले समाधि सकिएपछि पनि स्वास्थ्य परिक्षण ग¥यौं, उहाँको स्वास्थ्य समाधिमा बस्नुअघी जस्तो थियो अहिले पनि त्यस्तै छ, अर्थात नर्मल ।’ उनले अक्सिजनबिना भूमी समाधिमा बसेर सिद्धबाबाले आश्चर्यमा पारेको बताए । उनले अहिलेसम्म असम्भव लाग्ने कुरा सम्भवमा परिणत गरेको बताए ।
शिक्षासचिवले अक्सिजनबिना भूमीसमाधि सफल पार्ने सिद्धबाबाले धार्मिक शक्ति र योगको सफल परिक्षण गरेर देशलाई नै गौरवान्वित बनाएको बताए । सिद्धबाबाको गुनगान र महिमामा नै समय खर्च गरेका उनले अन्तिममा ओमकार गर्दै सिद्धबाबाको जयजयकार गर्दै अरुलाई पनि भन्न लगाए ।
यसअघी चैत २६ गते साँझ साढे ६ बजेदेखी भुमीसमाधिमा बस्नुअघी सिद्धबाबाले राष्ट्र र मानव कल्याणका लागि आफू भूमीसमाधिमा बस्न लागेको बताएका थिए । उनले आफूलाई ९ दिनपछि मात्रै भुमीसमाधिबाट निकाल्न आग्रह गर्दै भनेका थिए,–‘मलाई बैशाख ३ गते बिहान १०ः१५ बजे भित्र निकालि सक्नु पर्नेछ, अन्यथा मलाई जे पनि हुन सक्छ ।’ त्यस्तै उनले आफ्नो बारेमा कसैलाई पनि चिन्ता नलिन आग्रह गर्दै भनेका थिए,–‘ मेरो बारेमा कसैले पनि चिन्ता नलिनु, शरिर यहाँ भएपनि मेरो आत्मा अयोध्यामा बस्छ ।’
सिद्धबाबालाई समाधिमा बस्नको लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस बनाइएको थियो । जहाँ उनी अचेत अवस्थामा सुतेका थिए । जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसलाई ४ वटा साँचो लगाइएको थियो ।
बाकसको माथिल्लो भागमा बालुवा माटोले पुरिएको थियो । त्यसमाथि जमरा लगाइएको थियो । उनी समाधिमा बस्ने स्थानमा पुग्न पनि ३ वटा कोठाको चाबी खोलेर पुग्नुपर्ने थियो । कसैले चाबी खोल्न नसकोस् भन्नका लागि लाहाछाप लगाएर चाबी सुरक्षित राखिएको थियो । जसलाई प्रहरीले २४ सै घण्टा सुरक्षा दिएको थियो । ‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने दिव्य आह्वानका साथ राष्ट्रको सम्पन्नताका लागि हरित क्रान्तिका प्रणेता एवम् अभियन्ता महायोगी सिद्धबाबाले लिनुभएको भूमि समाधिले यसको सिद्ध भइसकेको दावी आयोजक समितिका अध्यक्ष मदन खनालले गरेका छन् ।
समाधी स्थलमा सिताराम भजन मण्डलीले अखण्ड भजन कृतन लगातार गर्दै आएको थियो जुन अहिले पनि चलिरहेको छ । कृतनको बिचबिचमा कथा वाचन तथा राम चरित मानस पाठ पनि गरिएको थियो । सिद्धबाबाले हरेक वर्ष चैते दशैं तथा बडा दसैंमा विशेष समाधि साधना गर्दै आएका छन् । उनी पहिलो पटक उहाँ २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बसेका थिए ।
यसैबीच, सिद्धबाबालाई रथारोहणसहित शनिबार अभिनन्दन गरिने भएको छ । समाधि बसेको ठाउँ रामघाटबाट नारायणस्थान मन्दिर नदीपुरसम्म ध्वजासहितको रथारोहण गरिने र नारायणस्थान मन्दिरमा अभिनन्दन गरिने आयोजकले जनाएको छ । अभिनन्दन पछि सिद्धबाबाले भक्तजनहरुलाई आर्शिबचन दिनुहुने र अन्तिममा प्रसाद वितरण गरिने आयोजकले बताएको छ ।