बेलिब्रिज नझिक्न जिल्लावासीको आग्रह

खोटाङ, १४ जेठ –

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीको अस्थायी बेलिब्रिज जेठ मसान्तसम्म नझिक्न पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयलाई आग्रह गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

जिल्ला प्रशासन कार्यालय, खोटाङमा बुधबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले जेठ–१५ गतेभित्र झिक्ने भनिएको अस्थायी बेलिब्रिज जेठ मसान्तसम्म नझिक्न आग्रह गरेको हो । जिल्लावासीलाई सहज यातायात सुविधाको व्यवस्था उपलब्ध गराउन सडक विभाग तथा डिभिजन कार्यालयसमक्ष सोही अनुसारको निर्णयसहित आग्रह गरिएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो । हरेक वर्ष वर्षायाममा झिक्ने गरी यसपल्ट गत मङ्सिर १३ गते अस्थायी बेलिब्रिज राखिएको थियो ।

जिल्लामा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी खण्ड पिचगर्ने तथा विद्युत् लगायतका विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ तथा इन्धनको नियमित आपूर्ति, पुनः बेलिब्रिज नराख्दासम्म पुग्ने दैनिक उपभोग्यवस्तु ढुवानी, जेठ २० देखि २२ गतेसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमन लगायतका लागि केही समयपछि मात्र बेलिब्रिजलाई झिक्न आग्रह गरिएको प्रजिअ कार्कीले बताउनुभयो ।

यही जेठ १५ गतेभित्र अस्थायी बेलिब्रिज झिकिसक्न सडक विभागले ठेकेदार कम्पनीलाई पत्र लेखे पनि नदीमा पानीको बहाव नबढेकाले अब दुई हप्ता ढिला गरी बेलिब्रिज झिक्न आग्रह गरिएको हो । वर्षा सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेको भन्दै पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालयले जयरामको बेलिब्रिज जेठ १५ भित्र निकाल्न ठेकेदार कम्पनीलाई जेठ ५ गते पत्राचार गरेको थियो । हरेक वर्ष जयरामघाटको बेलिब्रिज जेठ मसान्तभित्र हटाउने गरिएको थियो ।

बेलिब्रिज निकालिएपछि जिल्ला ६ महिनासम्म सिधा यातायात सम्पर्कबाट विच्छेद हुने गरेको छ । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रीज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ । जिल्लाका व्यवसायीले बेलिब्रिज निकाल्नुअघि ६ महिनासम्म पुग्ने उपभोग्य सामान भित्र्याउनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो।

प्रायः जेठ मसान्तमा निकालिने बेलिब्रिज पुसमा राख्ने गरिएको छ । ठेकेदार कम्पनीको लापरबाहीले तोकिएको समयमा जयरामघाटको मोटरेबल पुल बन्न नसकिरहेको अवस्थामा यहाँ अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माणको काम थालिएको मोटरेबल पुलको हालसम्म दुवैतर्फ पिल्लर हाल्ने कामबाहेक अन्य केही भएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button