अतिक्रमित घर टहरा हटाउने कार्य रोकियो

भक्तपुर, २२ जेठ –

पर्यटकीयस्थल नगरकोट क्षेत्रमा वन अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने कार्य केही समयका लागि रोकिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

जिल्ला वन कार्यालय भक्तपुरले अतिक्रमण गरी निर्माण गरिएका घर टहरा भत्काउन सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । तर, जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलले विशेष परिस्थितिको कारण देखाउँदै सो कार्य केही पर सारेको हो ।

जिल्ला वन कार्यालयले दुई साताअघि वन अतिक्रमण गरी निर्माण गरेका घर टहरा भत्काउन १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, विहिबार बसेको कार्यदलको बैठकले वर्षात्को समय र भूकम्पपीडितलाई सरकारले उपलब्ध गराउने भनेको राहतबापतको रकम पाई नसकेको तथा उनीहरुको पुनर्वासको उचित व्यवस्था तत्काल नभएको अवस्था समेतलाई दृष्टिगत गर्दै घर टहरा धनीलाई केही समय दिएर उनीहरु स्वयम्लाई ती घर टहरा भत्काउन समय दिने निर्णय गरेको थियो ।

बैठकले सम्बन्धित घर टहरा धनीले स्वयम्ले दिइएको समयावधिभित्र नभत्काएमा वर्षात्को मौसम सकिएलगत्तै सार्वजनिक सूचना बिना कुनै पनि बखत ती अतिक्रमित घर टहरा हटाउने निर्णय समेत गरेको छ । कार्यदलले भक्तपुर नगरकोट सडक विस्तार कार्य भइरहेको र सो सडक विस्तार कार्य महत्वपूर्ण तथा जिल्लाको प्राथमिकतायुक्त योजना भएकाले सो बाटो विस्तारमा अवरोध हुने घर टहरा भने तत्काल भत्काउने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यको विस्तृत कार्य योजनासहित वनको जग्गा लिजमा लिन चाहनेले सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी लिन सक्ने निर्णय समेत गरेको छ ।

बैठकले जिल्लामा वन अतिक्रमण गर्ने कार्य निरुत्साहित गर्न वन कार्यालयले तदारुकताका साथ कार्य गर्नुपर्ने तथा वन अतिक्रमण भए तत्काल कारबाही गरी हटाउनुपर्ने जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button