गाईघाट(उदयपुर), ३२ जेठ –
जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा डिएल यादव निजी क्लिनिकमा व्यस्त हुने गरेका कारण अस्पतालमा आउने अधिकांश बिरामी मारमा पर्ने गरेका छन् ।
दुई महिनायतादेखि डा यादवले बिहानको समयदेखि बेलुकी ३ बजेसम्म नै गाईघाट बजारको निजी क्लिनिकमा व्यस्त हुँदा अस्पतालमा प्रसूतिको लागि आउने बिरामी सेवाबाट वञ्चित हुनपरेको स्थानीयवासी कुमारी खड्काले बताउनुभयो । खड्का भन्छिन् – “दुई दिनसम्म प्रसूतिका लागि डाक्टरलाई अस्पतालमा पख्र्यौं, तर डाक्टरले तल निजी क्लिनिकमै आउनू भनेपछि पैसा तिरेर तल डाक्टरको क्लिनिकमै बिरामीको उपचार गरायौं ।”
अस्पतालबाट सरकारी तलब खाएर बसेका डा यादव दिनभरि आफ्नो निजी क्लिनिकमा बसेर बेलुकी ३ बजेदेखि ५ बजेसम्म दुई घन्टा मात्र अस्पतालमा आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । प्रसूति सेवाका लागि आउने अधिकांश बिरामी डा यादवकै क्लिनिकमा जाने गरेका छन् । केही भने जिल्ला बाहिर जान बाध्य हुनपरेको बिरामीका आफन्त बताउँछन् । अस्पतालमा आउने कतिपय बिरामीलाई डा यादवले अस्पतालमा नगई आफ्नो क्लिनिकमा आउन बाध्य पार्ने गरेका जनगुनासो छ ।
अस्पतालमा सामान्य शुल्कमा प्रसूति जाँच हुने र एक्सरेमा धेरै पैसा नलाग्ने र प्रसूति सेवा निःशुल्क हुने गरेको अस्पतालका कर्मचारी बताउँछन् । तर डा यादवले अस्पतालका बिरामीलाई आफ्नो क्लिनिकमा जान बाध्य बनाएर बिरामी जाँच, एक्सरेदेखि सबै सेवाको महँगो शुल्क लिने गरेको बिरामीका एक आफन्त गङ्गाबहादुर मगरले बताए ।
अस्पतालका एक कर्मचारी भन्छन् – “दुई महिना अघिसम्म जिल्ला अस्पताल उदयपुरमा आउने प्रसूतिका बिरामी कोही पनि उपचारका लागि बाहिर जान नपर्ने अवस्था थियो, अहिले डा यादवले अस्पतालतिर ध्यान दिन छाडेपछि ५० प्रतिशत प्रसूतिका बिरामी बाहिर जान बाध्य बन्न थालेका छन् ।”
डा। यादवले अस्पतालबाट केही दिनका लागि बाहिर जानु छ भन्ने बहाना बनाएर पटक पटक बिदा लिने तर क्लिनिकमा बस्ने गरेको स्थानीयवासी रुद्र श्रेष्ठले बताए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution