पानी तान्ने प्रविधि भित्रिएपछि सहज

पोखरान्युजडटकम, ६ असार –

बेनी नगरपालिका–५ चुत्रेनीका रामबहादुर पौडेललाई धानको ब्याड राख्नलाई यस वर्ष मनसुन पर्खनुपरेन । मुल फुटेर खोल्सामा आउने पानीले ब्याड राख्दै आएका पौडेलले यसपालि म्याग्दी नदीबाट पानी तानेर समयमै ब्याड राख्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विद्युतीय उपकरणको प्रयोग गरेर पानी तान्ने प्रविधि भित्रिएपछि म्याग्दी नदीको तटीय क्षेत्रमा अवस्थित चुत्रेनीलगायतका ठाउँका कृषकलाई सिँचाइका लागि वर्षा पर्खनुपर्ने बाध्यता हटेको हो । “खडेरीले सुकेका मुहान र खोल्साबाट ठूलो वर्षा नभएसम्म पानी आउँदैन”, उहाँले भन्नुभयो – “खोलाबाट पानी तान्न सकिने भएपछि सिँचाइका लागि आकासे पानीको भर रहनुपर्ने बाध्यता हटेको छ ।”

रु ७५ हजार लगानीमा चुत्रेनी कृषक समूहले म्याग्दी नदीको किनारमा गत हप्ता जडान गरेको पानी तान्ने प्रविधिले त्यहाँका २५ घरधुरी कृषक लाभान्वित भएका छन् । विद्युत्बाट चल्ने (समरस्बिल) उपकरणको सहायताले म्याग्दी नदी किनारबाट ४० (एमएम)को पाइपबाट ३४ मिटर उचाइमा रहेको टयाङ्कीमा पानी तानेर सङ्कलन र वितरण गर्ने व्यवस्था मिलाइएको समूहका सदस्य हरिप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार कृषकको रु ५० हजार र कृषि विकास कार्यालयको रु २५ हजार अनुदान सहयोगमा पानी तान्ने उपकरण जडान गरिएको हो । खोलाबाट तानेको पानीलाई ४२ हजार लिटर क्षमताको टयाङ्कीमा सङ्कलन गरेर कृषकलाई आवश्यकताअनुसार सिँचाइका लागि पाइपमार्फत वितरण गरिएको छ ।

चुत्रेनीका साथै यस वर्ष बेनी नगरपालिको बगरफाँट, सिंगा, सर्केमेला र बगुवाखोलामा म्याग्दी नदीबाट पानी तानेर सिँचाइ गर्नका लागि छवटा ‘वाटर पम्प’ उपकरण जडान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मुहान सुक्ने र लामो खडेरीका कारण खेतीबाली प्रभावित बनेको अवस्थामा जिल्लामा पहिलो पटक भित्रिएको नदीबाट पानी तान्ने प्रविधि उपयोगी बनेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल बताउनुहुन्छ ।

उहाँका अनुसार पम्प खरिद गर्न कार्यालयले मागमा आधारित कार्यक्रमअन्तर्गत प्रतिकृषक समूहलाई रु २५ हजारका दरले अनुदान दिएको छ । तटीय क्षेत्रमा तरकारी खेतीका लागि सिँचाइ गर्न खोलाबाट पानी तान्ने प्रविधि प्रभावकारी देखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button