पानी तान्ने प्रविधि भित्रिएपछि सहज

पोखरान्युजडटकम, ६ असार –

बेनी नगरपालिका–५ चुत्रेनीका रामबहादुर पौडेललाई धानको ब्याड राख्नलाई यस वर्ष मनसुन पर्खनुपरेन । मुल फुटेर खोल्सामा आउने पानीले ब्याड राख्दै आएका पौडेलले यसपालि म्याग्दी नदीबाट पानी तानेर समयमै ब्याड राख्नुभएको छ ।

विद्युतीय उपकरणको प्रयोग गरेर पानी तान्ने प्रविधि भित्रिएपछि म्याग्दी नदीको तटीय क्षेत्रमा अवस्थित चुत्रेनीलगायतका ठाउँका कृषकलाई सिँचाइका लागि वर्षा पर्खनुपर्ने बाध्यता हटेको हो । “खडेरीले सुकेका मुहान र खोल्साबाट ठूलो वर्षा नभएसम्म पानी आउँदैन”, उहाँले भन्नुभयो – “खोलाबाट पानी तान्न सकिने भएपछि सिँचाइका लागि आकासे पानीको भर रहनुपर्ने बाध्यता हटेको छ ।”

रु ७५ हजार लगानीमा चुत्रेनी कृषक समूहले म्याग्दी नदीको किनारमा गत हप्ता जडान गरेको पानी तान्ने प्रविधिले त्यहाँका २५ घरधुरी कृषक लाभान्वित भएका छन् । विद्युत्बाट चल्ने (समरस्बिल) उपकरणको सहायताले म्याग्दी नदी किनारबाट ४० (एमएम)को पाइपबाट ३४ मिटर उचाइमा रहेको टयाङ्कीमा पानी तानेर सङ्कलन र वितरण गर्ने व्यवस्था मिलाइएको समूहका सदस्य हरिप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार कृषकको रु ५० हजार र कृषि विकास कार्यालयको रु २५ हजार अनुदान सहयोगमा पानी तान्ने उपकरण जडान गरिएको हो । खोलाबाट तानेको पानीलाई ४२ हजार लिटर क्षमताको टयाङ्कीमा सङ्कलन गरेर कृषकलाई आवश्यकताअनुसार सिँचाइका लागि पाइपमार्फत वितरण गरिएको छ ।

चुत्रेनीका साथै यस वर्ष बेनी नगरपालिको बगरफाँट, सिंगा, सर्केमेला र बगुवाखोलामा म्याग्दी नदीबाट पानी तानेर सिँचाइ गर्नका लागि छवटा ‘वाटर पम्प’ उपकरण जडान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मुहान सुक्ने र लामो खडेरीका कारण खेतीबाली प्रभावित बनेको अवस्थामा जिल्लामा पहिलो पटक भित्रिएको नदीबाट पानी तान्ने प्रविधि उपयोगी बनेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल बताउनुहुन्छ ।

उहाँका अनुसार पम्प खरिद गर्न कार्यालयले मागमा आधारित कार्यक्रमअन्तर्गत प्रतिकृषक समूहलाई रु २५ हजारका दरले अनुदान दिएको छ । तटीय क्षेत्रमा तरकारी खेतीका लागि सिँचाइ गर्न खोलाबाट पानी तान्ने प्रविधि प्रभावकारी देखिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button