चितवन, ६ साउन
आफैँ एचआइभी सङ्क्रमित भएर पनि अरु सङ्क्रमितको हितमा काम गर्दै आएकी चितवनकी दीक्षा रिमाललाई १० हजार डलरसहितको अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
दक्षिण अफ्रिकामा बुधबार एक कार्यक्रमका बीच नेपालबाट प्रतिस्पर्धी २० जनालाई उछिन्दै रिमालले अन्तर्राष्ट्रिय ‘रेड रिवन अवार्ड २०१६’ प्राप्त गर्नुभएको हो ।
आफैँ सङ्क्रमित भएर सङ्क्रमितको क्षेत्रमा गरेको योगदानको कदर स्वरुप २१औँ अन्तर्राष्ट्रिय एड्स सम्मेलन २०१६ को अवसरमा यसरी सम्मान गरिएको जिल्ला एड्स समन्वय समिति चितवनका पूर्व संयोजक एवम् जिविस चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले जानकारी दिनुभयो ।
दीक्षा श्रीमान्बाट एचआइभी सङ्क्रमित भई एक दशकदेखि सहज जीवनयापन गर्दै आउनुभएको छ । नियमित औषधि लिए एचआइभी सङ्क्रमितको जीवन पनि अन्य सामान्य मानिससरह नै हुन्छ भन्ने दरिलो उदाहरणमा रिमाल पर्नुहुन्छ ।
एचआइभी लागेका मानिस खुल्न नसकेका बेला उहाँकै प्रयासमा धेरै सङ्क्रमित अहिले बाहिर आएका छन् । उहाँले २०६२ सालमा चितवन सक्रिय महिला प्रतिष्ठान नामक सामाजिक संस्था नै स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिँदै आउनुभएको छ ।
प्रतिष्ठानले एचआइभी लागेका मानिसको परीक्षण, हेरचाह, उपचारमा सहयोग, परामर्श र महिला अधिकारका लागि लड्दै आएको छ ।
उहाँले ७५ जना एचआइभी सङ्क्रमित बालबालिकालाई समेत आश्रय दिँदै आउनुभएको न्यौपानेले बताउनुभयो । रिमालले यसअघि सङ्क्रमितको केस स्टडी पुरस्कार र सन् २००५ को मिसेस एचआइभी स्टीमा फ्रि कन्टेस्ट अवार्ड समेत पाउनुभएको थियो । रासस
photo – everest dainik
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution