मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

चितवन –

मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला रु मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पुरयाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् ।

विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउनुहुन्छ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान उहाँको सुझाव छ । धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उहाँले बताउनुभयो ।

त्यसो त बढी मासु प्रयोग हुनेबेला मानिसले सूर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्छन् । अलग अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताउनुभयो । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उहाँको भनाइ छ ।

पछिल्लो समय युवा पिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताउनुभयो । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।

चुरोटले अन्न नलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उहाँको भनाइ छ । दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने रौनियारको सुझाव छ । उहाँले मासु बढी खाँदा रेसादार वस्तुको सेवन पनि बढाउनुपर्ने बताउनुभयो । फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उहाँले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिनुभयो ।

आज खाएर भोलि क्यान्सर नहुने भएपनि सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । समयमै क्यान्सर रोग पत्ता लागेमा उपचार सम्भव छ ।

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साह मासुको खपत कम गर्न सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो – “सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्ता सेतो मासु खानु राम्रो हो ।”

मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने बताउँदै उहाँले हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्ने खतरा बढी हुने जानकारी दिनुभयो । “मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोग हुन्छ” – डा साहले भन्नुभयो ।

भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउनुहुन्छ । मासु खानै पर्दा ताजा खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उहाँले बताउनुभयो । फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिन सक्ने उच्च खतरा हुने र भुटेर राख्दा अपच र पेटमा अन्य समस्या उत्पन्न हुन सक्ने उहाँको भनाइ छ ।

मासु एक्लैले भन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुन्छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घन्टा लाग्छ भने मासुका लागि २४ घन्टासम्म लाग्ने अधिकारीले बताउनुभयो ।

नेपालमा अन्य समयमा आवश्यक मात्रामा मासु नखाने भए पनि दसैँको बेला ऋण धन गरेर भए पनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ । स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा आयातित खसी, बोका, राँगा र बङ्गुरको मासुको खपत चाडबाडमा अधिक हुने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button