पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना २ जना घाइते, प्याराग्लाइडिङको अवैध उडान

दीननाथ बराल

पोखरा न्यूज – २०, फागुन ।

पोखराको मुख्य पर्यटनको आकर्षणको रुपमा विकास हुदै आएको साहसिक खेल प्याराग्लाइडिङलाई व्यबस्थित पार्न नसक्दा हाल दैनिक जसो दुर्घटना हुने गरेको छ ।

प्यराग्लाइडिङलाई नियमनकारी निकायले प्रभावकारी ढंगले नियमन नगर्दा  विदेशबाट पोखरा घुम्न आएका प्यराग्लाइडिङ पाइलटहरुले आफु खुसि तोकिएको सिमा भन्दा बाहिर उडान गर्न थालेपछि पोखरामा प्यराग्लाइडिङको दुर्घटना बढ्दै गएको व्यवसायी तथा प्यराग्लाइडिङ पाइलटहरु बताउछन्।

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले पोखरामा यति वेला अवैध ढंगबाट प्याराग्लाइडिङ उडान हुदा दुर्घटना बढेको बताए । पोखरा नागरिक उडड्यन कार्यालयले दिएको उडान क्षेत्र सिमा सराङकोट, तोरीपानी र माद्रेढुंगाबाट प्याराग्लाइडिङ उडान र अवतरको लागि खपौंदी, चंखपुर क्षेत्रमा अनुमति दिए पनि हाल विभिन्न देशका सोलो(सिकारु) पाइलटहरुले विभिन्न ठाँउबाट उडान भर्दैै अवतरण गर्दा दुर्घटना बढेको रावतले दाबी गरे ।

आवश्यक नियमन नहुदा पोखरामा हाल प्यराग्लाइडिङमा ठुलो समस्या देखिएको र साहसिक खेल प्यराग्लाइडिङको बदनाम भएको उनले  दाबी गरे । उनले पोखरा न्यूज सँग  भने “ पोखरामा प्याराग्लाइडिङमा धेरै बेथिति मौलाएको छ, नीति नियम र मापदण्डलाई ख्याल गरिएको छैन यसलाई अब समयमै नियमन गर्न नसके पोखराको प्यराग्लाइडिङ बारे नकारात्मक सन्देश विश्वमा फैलिन सक्छ । यसरी नै खुलेआम विदेशीलाई उड्न दिँदा दुर्घटना  बढ्न सक्ने हुँदा सम्बन्धित निकायले समयमै ध्यान पुर्याउनुपर्ने उनको भनाई छ  । ”

पोखराको आकासमा केहि सिमित ठाँउहरुमा  विभिन्न कम्पनीहरुसंगको समन्वयमा विदेशी पाइलटहरुलाई प्यराग्लाइडिङ उडान र अवतरणको सिमा दिएको भए पनि उनीहरु तोकिएको  सिमा भन्दा बाहिर जाने गरेको नागरिक उडड्यन कार्यालय पोखराका सुचना अधिकारी काशीनाथ पौडेलले पोखरा न्यूजलाई बताए । उनका अनुसार हाल पोखरामा करिब १० भन्दा बढी देशका करिब ३ सय जना प्यराग्लाईडिङ पाईलटहरुले एकै पटक सोलो प्यराग्लाइडिङ उडानको लागि अनुमति लिएका छन्। चालु आर्थिक बर्षको फागुन २० गते सम्म पोखरामा ८ सय २३ जनाले प्याराग्लाइडिङ उडानको अनुमती लिएको सुचना अधिकारी पौडेलले बताए ।

उडान भर्ने र अवतरण गर्ने कुनै कम्पनीसंग समन्वय गरी आउने प्रति प्याराग्लाइडिङ पाइलटले १५ दिनको लागि ५ हजार ६ सय ५० रुपैया राजश्व तिर्ने गरेको छ । तर पोखरामा केहिले अनुमति लिए पनि केहीले अनुमती विना आफु खुसि आफुलाई मन लागेको ठाँउबाट उडान भर्ने र अवतरण गर्ने गरेको गुनासो आउन थालेको  छ।

पोखरामा व्यबस्थित प्यराग्लाइडिङ गराउन नसक्दा आइतबार र सोमबार  लगातार प्यराग्लाइडिङ दुर्घटना भएको छ । पोखरामा आइतबार प्यराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिकले ज्यान गुमाउनु पर्यो भने सोमबार प्याराग्लाइडिङ दुर्घटना हुदा दुइ जना घाइते हुन पुगे । आइतबार रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासी तालमा डुब्न पुगेर उनको मृत्यु भएको घटना सेलाउन नपाउदै सोमाबार दुई देशका दुई जना प्यराग्लाइडिङ सिक्दै गरेका सोलो पाइलट दुर्घटनामा परेका हुन्।

सोमबार माछापुच्छ्रे गाउँपालिका ८ ठाँटीमा पोल्याण्डका ३७ बर्षीय जानुज कारोल प्याराग्लाईडिङको ग्लाईडर बिजुलीको तारमा ठोकिदा घाइते भएका छन्। नाङगो बिजुलीको तारमा छुन पुग्दा उनको दाहिने हातमा बिजुलीको करेन्टले जल्न पुगेको बताइन्छ । उनको हाल मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भइरहेको छ ।

त्यसैगरी सोमबार नै रसियाका ६३ बर्षीय यागुडीउ यलगिज मादी गाँउपालिकाको छाचोकमा प्याराग्लाईडिङ गर्ने क्रममा चिलाउनेको रुखमा अड्किदा सामान्य घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जना उडान तथा अवतरणका लागि अनुमति नभएको स्थानमा पुगेर दुर्घटना हुनुलेनै अवैधानिक रुपमा प्याराग्लाइडिङ भएको कुरालाई पुष्टि गर्दछ । अवैध  उडान तथा अवतरण भएको बिषयमा न त कास्की प्रहरीलाई  ज्ञान छ न त सम्बन्धि निकाय नागरिक उडड्यन कार्यालयलाई नै  जानकारी छ ।

ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीका संचालक नारायण पराजुलीले नागरिक उडड्यन कार्यालय, प्रहरी प्रशास, प्यराग्लाइडिङ नियमन गर्ने संस्था हवाई खेलकुद संस्था ना लगायतका संस्थाहरु प्याराग्लाइडिङलाई ब्यबस्थित पार्ने बिषयमा गम्भिर नहुदा पोखरामा प्यराग्लाइडिङ दुर्घटना बढेको दाबी गरे ।

प्याराग्लाइडिङ पाइलट रविन गुरुङले पोखरामा पछिल्लो क्रममा प्याराग्लाडिङ क्षेत्रमा  जोखिम बढ्दै गएको बताए । उनले भने “ पोखराको आकासमा विहान भन्दा दिउसो एक बजे पछि कहिले काँही हावा हुरी आउछ  जसका कारणले गर्दा सिकारु सोलो पाइलटहरुलाई कसरी तत्काल ल्याण्ड गर्ने भन्ने राम्रो ज्ञान हुदैन र उनीहरु  प्रायः दुर्घटनमा परेका छन्। ”

उता पोखरामा  रसियन पाइलटहरुको एक समुहले हिमालयन ओपन कप भनेर विदेशी पाईलटहरुलाई समेट्दै आफु खुसि प्रतियोगिता गरेका छन्। यद्यपी उनीहरु मध्ये केहिले व्यक्तिगत रुपमा उडानको अनुमति लिए पनि नेपालका आधिकारिक कुनै पनि संस्थासंग अनुमति नलिई  फेब्रुअरी २७ देखि मार्च ६ तारिख (फागुन २२) सम्म उक्त प्रतियोगिता आयोजना गर्दैछन्।

अन्तराष्ट्रिय स्तरका यस्ता  प्रतियोगिता गर्दा सम्बन्धित देश र सम्बन्धित खेल संघ र स्थानियसंगको समन्वयमा हुनु पर्नेमा यसमा कुनै कुरालाई ख्याल नगरी खुलेआम रुपमा यस्तो प्रतियोगिता हुदा कास्की प्रशासन र सम्बन्धित निकाय मौन रहेको छ ।

उक्त प्रतियोगिताको लागि सुरक्षा, रेस्क्यु जस्ता कुरामा आयोजकहरुले ख्याल नै नगरेकोले गर्दा पनि पोखरामा अर्को गम्भिर त्रुटी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button