घोषणापत्र जारी गर्दै मिडिया सम्मेलन सम्पन्न

पोखरा न्यूज – १४, बैशाख । नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन विभिन्न पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारी जस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

संविधान प्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ ।

त्यस्तै, मिडिया सवलीकरण एवं कार्यरत श्रमजीवी पत्रकारको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकार समक्ष माग गर्दै श्रमजीवी पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

घोषणपत्रमा गण्डकी प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवर्द्धन लगायतका विषयलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो । पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको बहसमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशंकर पालिखेको सहभागिता रहेको थियो ।

छलफलमा मन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको बताए । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी विश्वशंकर पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्का दुई पाटा भएको उल्लेख गर ।

राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको आरोप लगाउँदै उनले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लागि गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, नेपाल भ्रमण वर्ष २०२० ले सहयोग गरेको महासचिव गणेश पौडेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button