३३ लाख लागतमा म्याग्दीको मालिका धुरी पदमार्गमा झोलुङ्गे पुल निर्माण

पोखरा न्यूज – १९, भदौ । धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्नेे पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए  । “खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ”, उनले भने  । बर्खामा बाढी आउँदा आवतजावत बन्द हुने गरेको थियो । रु ३३ लाख ८० हजारको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालले जानकारी दिए  ।

पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो । मजदुरको ज्याला र निर्माण सामग्री खरीद गाउँपालिकाले गरेको हो । समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा मालिका धुरी रहेको छ । यहाँ बुद्धजयन्ती, तिहार र जेष्ठ पूर्णिमामा पूजाआजा गर्नेको घुइँचो लाग्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको बिम, दुखु, रघुगङ्गाको ठाडाखानी, मङ्गलाको टोड्के र हिदी भएर मालिका पुग्न सकिन्छ ।

मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बिम बाइन्दफाँट हुँदै मालिका धुरी नजिकैको नुनथलासम्म सडक खनेको छ । यसैगरी मन्दिर परिसरमा पूजा स्थललाई फराकिलो बनाउनुको साथै रेलिङसहितको पदमार्ग र आश्रयस्थल निर्माण गरिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए  । रघुगङ्गा गाउँपालिकाले गत आवमा ठाडाखानीदेखि मालिका धुरी जाने पदमार्ग निर्माण गरेको थियो । पूर्वाधार निर्माण भए पछि मालिका जाने पर्यटक र भक्तजनलाई सहज भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button