पोखरामा पनि जितिया पर्व

प्रभाषचन्द्र झा, पोखरा न्यूज- ०३, असोज । माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ ।

पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो हुने, भोलि बिहान सूर्योदय हुनु अगावै सप्तमी तिथिको अवधिभित्रको समयमा ‘ओठङ्न’ गर्ने र त्यसपछि शुरु हुने उपवास आइतबार अपराह्न ४ बजेपछि नवमी तिथिको आगमण हुनासाथ उपवास सम्पन्न हुनेछ ।

आमाहरुद्वारा आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका साथ मनाइने जितिया पर्व पोखरामा बस्दै आएका तराईवासी पनि आ–आफ्ना संस्कृतिअनुरुप मनाइरहेका छन् । पोखरामा बस्ने, मैथिल,भोजपुरी समुदायका साथै थारू जातिहरु आ-आफ्ना संस्कृति अनुरुप नियमनिष्ठाका साथ पर्व मनाउन तल्लीन छन् । यसपल्ट तिथिको समयमा हेरफेर भएकाले बर्तालुहरुको उपवासको अवधि लम्बिएको छ ।

भोलि बिहान सूर्य उदयअगावैबाट उपवास शुरु भएपछि शनिबार दिनभरि र आइतवार अपराह्न ४ बजेसम्म अर्थात् ३६ घण्टा निराधार उपवासमा बस्नुपर्ने हुन्छ । शनिबार सूर्योदय हनुअगावै ‘ओठङ्न’ गरिन्छ । अर्थात् सप्तमी तिथिको अवधिभित्र उपवासमा बस्ने माताहरु अन्नजल, मिठाइ, फलफूल ग्रहण गर्छन् । सो विधिलाई ‘‘ओठङ्न’ भनिएको हो । ओठङ्नको समयमा परिवारका सदस्यहरु पनि भोजनमा सरिक हुने चलन पनि रहेको छ ।

सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन बर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ भने विधवाले अरुवा-अरुवाइन खाने गर्छन् । यसअघि, बर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौँलाको पातमा पीना र तेल राखेर जिमूतवाहन देउतालाई अर्पण गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् ।

व्रत बसेको दिनमा बर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि, घर पुगेर डाली (टोकरी) भर्ने नियम रहेको छ । सो डालीमा फलफुल, मिठाइ र नरिवल राखेर नयाँ वस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ ।

पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी बर्तालुले आ–आफ्ना दिवङ्गत सासु र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्यरूपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ ।

किन गरिन्छ, कठोर व्रत ?
माताहरुले आफ्ना सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीर्घायुका लागि जिमूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको हो । यस सम्बन्धमा भविष्य पुराणमा उल्लेख गरिएको छ-अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिमूतवाहनको नियम निष्ठाका साथ व्रत बसेको खण्डमा सन्तानको अकाल मृत्यु हुँदैन भनी जानकारी गराए ।

यसका लागि कुशको जिमूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । त्यसपछि, आफ्नै आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाए।

को हुन् जिमूतवाहन ?

भविष्य पुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिमूतवाहनलाई वरदान दिएको कारण माताहरु सन्तानको रक्षाका लागि जितिया पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

हिन्दूधर्ममा विभिन्न जनावर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसोलगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो । \

उपवासको दिन बर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्यरूपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आँगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिमूतवाहनको पूजा गर्छन् ।

जितिया पर्वको कथा

भविष्य पुराणमा वर्णन गरिएअनुसार कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने बर्तालुहरु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चिलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो ।

चिललाई थाहै नदिई स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चिलले हेरिरहेको थियो । स्यालनी र चिलको मृत्यु भएपछि दुवैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्म भयो ।

जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिकरूपमा मृत्युवरण गर्दै गयो ।

सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै व्रत भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाँचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button