पोखरामा बिदेशी पर्यटकलाई लक्षित गर्दै भाइटिका महोत्सव हुने

पोखरा न्यूज –   ७, कार्तिक ।  तिहार पर्वको अवसरमा यस बर्ष पनि पोखरामा भाइटिका महोत्सव हुने भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही कात्तिक १२ गते भाइटिकाको दिन पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा १३ औ भाइटिका महोत्सव  हुने भएको हो ।

नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यले  भाइटिका महोत्सवलाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले थप टेवा पुग्ने उनले जनाए । कार्यक्रम भाइटिकाको दिनमा अपरान्ह २:३०  बजेपछि शुरु हुनेछ ।

रेन्वो चिल्ड्रेनका २० जना बहिनीहरुले पर्यटकहरुलाई दाजुको रुपमा सप्तरंगी टिका लगाउने कार्यक्रम रहेको संघका द्धितिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए । महोत्सवमा नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउँसी भैलो खेल्ने. उपहार आदानप्रदान  र सेलरोटी लगायतका  खानाका परिकार खाने खुवाउने कार्यक्रम रहेको  संयोजक  श्रेष्ठले जनाए । महोत्सबको लागि सम्पूर्ण तयारी पुरा भएको र  महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम समेत शुरु भैसकेको संयोजक श्रेष्ठले  बताए ।

यस बर्ष करिब १२ देशका १ सय जना  पर्यटकहरु महोत्सवमा सहभागि हुने उनले बताए । भाइटिका महोत्सबमा सहभागी हुन पर्यटकले  १५ डलर तिर्नुपर्ने र उक्त रकम टिका लगाइदिने बहिनीलाई दक्षिणा, टोपी, सल, भाइटिका मसला, खाना, पेय पदार्थ आदिमा खर्च हुने श्रेष्ठले जनाए ।

भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुमा केहि पर्यटकहरु दोहो¥याएर समेत टिका लगाउन पोखरा आउन थालेको पर्यटन व्यवसायी एवम्  बटरफ्लाई चाइल्ड केयर सेन्टरका संचालक गोबिन्दराज पहारीले जनाए ।  होटल संघको आयोजना तथा विभिन्न संघ सस्थाको प्रायोजनमा संचालन हुने महोत्सबले नेपाली संस्कृतिलाई विश्व माझ परिचित गराउदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको  पहारीले बताए ।

महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ भने ट्याम्पल ट्रि रिसोर्ट र बटरफ्लाई चाइल्ड केयर सेन्टर लगायतका संघ सस्था सहयोगीको रुपमा रहेका छन्। महोत्सव सम्पन्न गर्न करिब १ लाख ५० हजार खर्च लाग्ने आयोजक  संघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button