अस्ट्रेलियामा नेपाली खाना र मौलिकता पस्किदैँ श्रेष्ठ

 पोखरा । विदेशमा व्यवसायमा जमेका थोरै नेपालीको सुचीमा आउने एउटा नाम हो कृष्ण मान श्रेष्ठ । सन् २००१ देखि अष्ट्रेलियाको पर्थ सिटिमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्दै आएका कृष्ण श्रेष्ठ एन आर एन पश्चिम् अष्ट्रेलियाका कोर्डिनेटर पनि हुन् ।

वि.सं.२०२८ सालमा लमजुङ जिल्लाको साविकको चिती गाउँपालिका, हालको वेसिशहर नगरपालिकामा जन्मेका श्रेष्ठ अष्ट्रेलियामा सेफको रूपमा प्रवेश गरेका थिए । आफैले काम गरेको हिमाली गोर्खा नेपाली नामक रेस्टुरेन्ट किनेर त्यसैको संचालकको रूपमा आफुलाई स्थापित गरेका श्रेष्ठलाई निरन्तर रुपले मेहेनत गर्यो भने अवश्य सफल भइन्छ भन्ने कुराको एक ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । आफ्नो सफलताको थोरै कथा अनि थोरै हिस्सा बाँड्दै श्रेष्ठ पश्चिम् अष्ट्रेलियामा सबैमाझ परिचित हुँदै सहयोगी मनका रुपमा अझै स्थापित हुँदैछन् ।

नेपाल एसोसियसन अफ वेस्टर्न अष्ट्रेलिया (NAWA ) को स्थापनाकाल देखि नै अत्यन्त सक्रिय भुमिका निर्वाह गरिरहेका श्रेष्ठ पर्थ नेपाली मन्दिर एन्ड कम्युनिटि सेन्टरको सक्रिय अभियन्ता पनि हुन् । उनले नेपालीहरुलाई परेका समस्या सुल्झाउन स्टेट सरकारसँग समन्वय पनि गरिरहेका छन् । श्रेष्ठले एनआरएनकातर्फबाट अष्ट्रेलियामा बसोबास गरेका नेपालीहरुलाई सहयोग गर्ने क्रममा प्रदेश तहबाट केन्द्रिय तहसम्म पुर्याउने र परेका समस्याहरु समाधान गर्न सहजकर्ताको कार्य गरिरहेका छन् ।

कृष्ण मान श्रेष्ठ

श्रेष्ठले अष्ट्रेलियामा मात्र नभई नेपालमा पनि लमजुङको एक विद्यालयलाई ४ थान ल्यापटप पनि सहयोग गरेका छन् भने विपन्न समुदायमा गएर लत्ताकपडा वितरण गरेका छन् । आफू नेपाल आएको समयमा नेपालका पर्यट्किय क्षेत्रको भ्रमण गर्ने गरेका श्रेष्ठले आफ्नो भ्रमणको अनुभव अष्ट्रेलियामा साटासाट गरेर पर्यटन प्रबर्द्धन गर्न पनि राम्रो भुमिका खेलेका छन् ।

पश्चिम् अष्ट्रेलियाको पर्थमा चलाइरहेको रेस्टुरेन्ट (हिमाली गोर्खा नेपाली) उनको आफ्नै लगानीको रेस्टुरेन्ट हो। सन १९९५ मा स्थापना भएको सो रेस्टुरेन्ट सन २००१ देखि कृष्ण श्रेष्ठले काम गर्दै आएर पछि आफैले किनेका हुन् । हाल प्रत्येक हप्ता ८०० जना मानिसहरुलाई नेपाली खाना खुवाउदै आएका श्रेष्ठले रेस्टुरेन्टमा दर्जनौँलाई रोजगारीसमेत दिएका छन् ।

परदेशमा बसेर पनि नेपालीको लोकल स्वाद दाल, भात, तरकारी, गुन्द्रुकको अचार, तामाको अचार, ढिडो, आटो, रोटि, सेल, खिर, सुकुटी मासु लगायतका नेपाली खाना खुवाउने हिमाली गोर्खा नेपाली रेस्टुरेन्टमार्फत श्रेष्ठले त्यहाँका नेपालीलाई घरकै महसुस मात्र नदिलाई नेपाली खाना र संस्कृतिको अन्तर्राष्ट्रिय बजारमासमेत पहिचान दिइरहेका छन् ।

साथै एनएड्ब्लुए नामक गैर नाफामुखी संस्थाको माध्यमबाट नेपाली भाषा, भेषभुसा संस्कृतिको प्रचारप्रसार गर्दै संसार भरका पर्यटकलाई अष्ट्रेलियामै पनि नेपाली खाना, संस्कृति भेषभुषा र संस्कृतिसँग परिचित गराउनमा श्रेष्ठले प्रशंसनीय प्रयास गरेका छन् । उनले पर्यटन वर्ष २०२० को परिप्रेक्ष्यमा अष्ट्रेलियाको पर्थबाटै नेपालको भौगोलिक स्वरुप, वातावरणीय पक्ष , खानपान जीवनशैली, प्राकृतिक सौन्दर्यको प्रबर्द्धनसमेत गरेका छन् ।

यस अर्थमा विदेशमा रहेर पनि आफ्नो देशको प्रतिको कर्तव्य पुरा गरिरहेका कृष्ण मान श्रेष्ठको सत्कर्मलाई मुक्तकन्ठले प्रशंसा नगरिरहन सकिदैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button