पोखरामा हुने भनिएको कोरोना परीक्षण खोई? गण्डकी प्रदेशले परीक्षण मेसिन नै पाएन !

पोखरा । गत मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान-धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-पोखरा र भेरी अस्पताल-नेपालगञ्जका प्रयोगशालाबाट कोरोनाभाइरस (कोभिड-१९)को परीक्षण सुरू गर्ने निर्णय गर्यो।

सोही निर्णयलाई आधार मानेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पोखराको सरकारी अस्पताल  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण तत्काल सुरु हुने भन्ने खबरले प्रसय पाए । गण्डकी प्रदेशका मन्त्री तथा प्रदेश  स्वास्थ्य निर्देशनालयका कर्मचारीहरुले समेत सोही कुरामा रमाउदै गफ चुटे ।

तर उक्त समितिको आज आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन गण्डकी प्रदेश बाहेकका चार वटा प्रदेशलाई प्रदान गर्ने निर्णय गर्यो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको  संयोजकत्वमा बसेको समितिको बैठकले प्रदेश २, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई कोभिड–१९ को संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन प्रदान गर्ने निर्णय गरेको हो  । यो निर्णय सँगै गण्डकी प्रदेशको पोखरामा सरकारीस्तरबाट तत्काल कोरोना परीक्षण गर्ने कुनै सम्भावना नरहेको बताइन्छ ।

चीनबाट ल्याइएका पाँच थान पीसीआर मेसिनमध्ये एक थान काठमाण्डौमै राखेर गण्डकी प्रदेशलाई छुटाएको भन्दै  सामाजिक संजालमा आक्रोश समेत ब्यक्त हुन् थालेको छ । गण्डकी प्रदेशकै  बागलुङमा शनिबार एक किशोरीमा  कोरोना संक्रमण रहेको पुष्टि हुँदा समेत पहिले नै पोखरामा परीक्षण तत्काल सुरु गर्ने भनेर गरेको निर्णयबाट सरकार पछि हटेको भन्दै सामाजिक संजालमा आक्रोश प्रकट गरिएको छ । केहि समय अघि सञ्चारमाध्यममा  उपप्रधान एवं रक्षामन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार काम गर्ने सवालमा गम्भीर नभएको भनि समाचार आउनु र चीनबाट आएको पीसीआर मेसिन स्टक राखेर गण्डकी प्रदेशलाई नदिएको भन्ने सन्देश बाहिरिदा संघीय सरकार र प्रदेश सरकारमाथि  आशंका  समेत उब्जाएको छ ।

उता  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने तयारी बारे प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यसँग हामीले सोध्दा परीक्षण तयारी गर्ने भन्ने कुरा सुनियतापनि मेसिन कहिले आउने हो र मेसिन कहाँ स्थापना गर्ने भन्नेबारे केहि जानकारी नआएको बताए । निर्देशक डा. आचार्यले पोखरा न्यूज सँग भने – ‘हामीले यहाँ परीक्षण गर्ने भन्ने सुनेको हो तर मेसिन कहिले आउने कहाँ स्थापना गर्ने भन्नेबारे कोहि कसैले छलफल नै गरेको छैन।’

यस बारेमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मालाई हामीले आज बिहान सोध्दा आज आइतबार पीसीआर मेसिन आउने र २ दिन भित्रमा पोखराबाट कोरोना परीक्षण हुने बताएका थिए । अहिले हामीले उहाँसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button