यस वर्षको प्रिमनसुन शुरु, साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने

पोखरा न्यूज । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद् समिर श्रेष्ठले बताए । “जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन शुरु भएको हो”, उनले भने । तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ ।

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने औँल्याएको छ । मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझापख प्रभावित भइरहन्छ ।

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । -रासस

सम्बन्धित न्यूज

Back to top button