अभिनेता अनमोल केसी कास्कीको अस्ताममा

पोखरा न्यूज ।  अभिनेता अनमोल केसी यतिबेला कास्कीको अस्ताममा छन् । चलचित्र ‘ए मेरो हजुर ४’ को छायाकंनको क्रममा उनी त्यहाँ पुगेका हुन् । अस्ताममा अनमोल सहित चलचित्र युनिट पुग्दा नौमती पञ्जे बाजाले स्वागत गरियो ।

चलचित्रमा अनमोल र सुहाना थापाको मुख्य भूमिका रहने छ । अस्ताममा गीतको छायाकंन समेत भएको छ । रमणिय ठाउँ माछापुच्छ्रे गाउँपालिका वडा नं.–६, अस्ताममा रहेको अन्नपुर्ण इको भिलेजमा अनमोल सहित चलचित्र युनिट यतिबेला रहेका छन् ।

पोखरा आसपासमा १० दिन छायांकन हुनेछ । पोखरा पश्चात चलचित्र काठमाडौं र ललितपुरमा चलचित्रको करीब ३० दिन छायांकन हुने जानकारी निर्माणपक्षले गराएको छ । यसका अलावा यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा रहेको निर्देशक झरना थापाले बताइन् ।

सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउनेछ । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको यस चलचित्र निकै प्रतीक्षित बनेको छ । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

सम्बन्धित न्यूज

Back to top button