समाचार प्रभाव: मास्कमा चर्को मूल्य अशुल्ने तथा मास्क लुकाउने पोखराका मेडिकल कारवाहीमा

पोखरा न्यूज । पोखरा न्यूज डटकमले बुधबार पोखरामा मास्कको अभाव, १० गुणासम्म मूल्यवृद्धि भन्ने समाचार प्रकाशन गरेसंगै बिहीबार भएको  बजार अनुगमनमा  चर्को मुल्य अशुल्ने  तथा मास्क  लुकाउने  मेडिकल पसल कारवाहीमा परेका छन्।

उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा बिहीबार भएको बजार अनुगमनको क्रममा चर्को मुल्य लिएका पोखरामा परी फार्मेसी र स्याङजा औषधि पसललाई टोलीले कारवाही गरेको हो। मेडिकल मास्कलाई ३० रुपैयामा बिक्रि गरिरहेको अवस्थामा भेटिएको पोखराको हस्पिटलचोकमा रहेको परी फार्मेशी र के.एन.९५ मास्क ४ सय ५० रुपैयामा बिक्रि गरिरहेको अवस्थामा भेटिएको  महेन्द्रपुलमा रहेको स्याङजा औषधि पसलमा ताला लगाइएको छ ।

चर्को मूल्य असुलेका उनीहरुले खरिद गरेको विल देखाउन नसक्दा कारवाही स्वरुप हाल बन्द गराइएको उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले पोखरा न्यूजलाई  बताए ।

सामान्यतया ५ देखि १० रुपैयामा बिक्रि हुने गरेको मेडिकल मास्क कोरोना भाइरस संक्रमणको  कारण बजारमा अभाव हुदा ३० देखि ५० रुपैयासम्म आम उपभोक्तासंग व्यवसायीहरुले अशुल्ने गरेका छन्। के.एन.९५ मास्क सामान्यतया एक सय देखि २ सय  पर्ने भएपनि केही पसलेहरुले ४ सय देखि ६ सय रुपैया सम्ममा बिक्रि गरेका छन्।

त्यसैगरी टोलीले हस्पिटल चोकमा रहेको निर्देश फर्माबाट करिब एक सय स्थान मास्क जफत गरेको छ । पसलमा राखेर आफ्ना मन परेका उपभोक्तालाई मात्र बिक्रिको लागि राखेकोले उक्त फर्मालाई कारवाहीमा गरिएको  टोलीमा सहभागि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

टोलीले पोखराका विभिन्न ठाउँमा मास्कको अनुगमन गर्दा धेरै पसलमा मास्क नभेटिएको टोलीमा सहभागि भएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । टोलीमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा सहितका अन्य व्यत्तिहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस् :-

पोखरामा कोरोना त्रास र कालोबजारी : मास्कको अभाव भन्दै १० गुणासम्म मूल्यवृद्धि

सम्बन्धित न्यूज

Back to top button