डुम्रे-बेँसीशहर सडक जीर्ण बन्दै

पोखरा न्यूज । पृथ्वी राजमार्गअन्तर्गत छिमेकी जिल्ला तनहुँको डुम्रेदेखि लमजुङ बेँसीसहरको एक मात्र सडक डुम्रे–बेँसीशहरमा सम्बन्धित निकायाको ध्यान पुग्न नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । सो सडक ४२ किलोमिटर लामो रहेको एक लेनको हो ।

दैनिक लामो तथा छोटो दूरीका दर्जनौं साना–ठूला सवारी साधनको आवतजावत हुने गर्दछ । सो सडक कालोपत्र भएको करिब २५ वर्ष भए पनि आवश्यक मर्मतसम्भार भएको छैन । यस सडकको करिब १७ किलोमिटर लमजुङतर्फको भागका विभिन्न ठाउँमा खाल्डखुल्डी हुँदा सडक जीर्ण अवस्थामा पुगे पनि हालसम्म गुणस्तरीय सडकतर्फ कसैको ध्यान पुगेको देखिँदैन । यस सडकको जिम्मा सडक डिभिजन कार्यालय दमौलीको हो ।

सो कार्यालयले पर्याप्त बजेट नआएको भन्दै वर्षौँदेखि वास्ता नगर्दा कालोपत्र सडक गुणस्तरहीन बन्न थालेको छ । स्थानीय तथा जिल्लावासीले वर्षौँदेखि सम्बन्धित निकायसँग सडकका बारेमा आवाज उठाउँदै आए पनि सुनुवाइ हुनसकेको छैन । पर्यटकको आगमन हुने यस जिल्लाको सडक गौरवको बन्नुपर्ने भए पनि सडक जीर्ण हुँदा अन्य स्थानमा जिल्लाको सन्देश राम्रो नजाने बेँसीशहर नगरपालिका–२ का सन्तोष श्रेष्ठले बताए ।

उनले भने, “साँघुरो सडक, त्यहीमाथि खाल्डैखाल्ड, सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।” त्यस्तै यस सडकमा सवारी चलाउँदै आएको माइक्रो चालक नारायण घिमिरेले भने, “वर्षौँदेखि यस सडकमा सवारी चलाउँदै आएको छु, हालसम्म पनि मर्मतसम्भार नहुँदा जीर्ण सडकले यात्रुसमेत दिक्क मान्ने गरेका छन् ।”

जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनाका ठूला सवारी साधनसमेत गुड्ने गरेकाले सडकको क्षमताभन्दा बढी भएकाले सडक छिटो भत्किन थालेको सडक डिभिजन कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर सडक आर्थिक वर्ष २०५४/५५ मा कालोपत्र भएको थियो । एकपटक पनि स्तरोन्नति र मर्मतसम्भार भएको छैन ।

सडक डिभिजन दमौलीका इञ्जिनीयर नारायाण पौडेलले भने, “विगतमा हामीले हेर्दै आए पनि सडक मर्मत तथा सडक स्तरोन्नतिका तथा डबल लेन बनाउनका लागि यस सडक डिभिजनअन्तर्गत बेँसीशहरमा डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय स्थापना गरिएको छ ।”

उक्त कार्यालयले आगामी वर्षसम्म ठेक्का प्रक्रियाको काम सक्ने र तीन वर्षभित्र डबल लेनको कालोपत्र बनाउने उनको भनाइ छ । यस आवमा यस सडकका लागि रु ३२ करोड विनियोजिन भएको सडक डिभिजडन कार्यालले जनाएको छ । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङको सडक जीर्ण बन्दा पर्यटकलाई समेत निकै सास्ती हुँदै आएको छ । -रासस

सम्बन्धित न्यूज

Back to top button