देशभरका बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौँ। कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरी एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा आज र भोलि दुई दिन चल्नेछ । करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए करिव २७ लाख ३ हजार ५ सय २२ बालबालिका र जुकाको औषधि २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई खुवाइने उनले जानकारी दिए ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । कोभिड– १९ का कारणले बन्दाबन्दीले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ । यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ ।

पोषण शाखा प्रमुख पराजुलीले आज नै १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिका समेत सोही कार्यक्रममा खुवाइने बताए। त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button