
पोखरा । मलेसियाले अघिल्लो महिना देखि विदेशी कामदारमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
अघिल्लो महिना त्यहाँको मानव संशाधन मन्त्रालयले देशभित्र उपलब्ध रोजगार स्थानीय कामदारलाई दिने हेतुले वैदेशिक कामदारलाई निश्चित क्षेत्रमा मात्र सीमित गरेको थियो । मन्त्रालयको निर्णय अनुसार वैदेशिक कामदारहरु कन्स्ट्रक्सन र कृषि क्षेत्रका कम्पनीहरुले मात्र ल्याउन पाउने व्यवस्था थियो ।
तर बिहीबार अबेर मन्त्रालयले उक्त प्रतिबन्ध फुकुवा गर्दै जुनसुकै कम्पनीले पनि विदेशी कामदार ल्याउन सक्ने बताएको हो । त्यहाँका मानव संशाधन मन्त्री सरभनन् मुरुगनले केही कम्पनीहरुमा ठूलो संख्यामा विदेशी कर्मचारीहरुको आवश्यक रहेको बताएको र उनीहरुकै माग अनुसार प्रतिबन्ध हटाएको जानकारी दिए ।
विदेशी कामदार ल्याउन स्वीकृति प्रदान गरिएपनि मुरुगनले कम्पनीहरुलाई सकेसम्म स्वदेशी कामदारहरुलाई रोजगारी दिन पनि अनुरोध गरेका छन् । मन्त्रालयका अनुसार कोरोना महामारीका कारण जुलाईमा मात्रै मलेसियामा ६७ हजार मलेसियाली र ४७ सय विदेशी कामदारको रोजगारी गुमेको थियो ।
मलेसियामा हाल २१ लाख विदेशी कामदारले वैधानिक रुपमा काम गरिरहेका छन् जसमध्ये नेपाली कामदारको हिस्सा उल्लेख्य रहेको छ ।





