झोलुङ्गे पुल निर्माणका लागि अध्ययन

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । झोलुङ्गे पुल नभएका खोला तथा लामो समय हिँडेर वारपार गर्नुपर्ने ठाउँमा गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि दमौलीस्थित गैरसरकारी संस्था समन्वय समितिसँग सम्झौता गरिएको जानकारी दिनुभयो । “गाउँपालिकाका विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि डिपिआर तयार गर्न सम्झौता भएको छ, अध्ययनपछि कहाँ-कहाँ पुल निर्माण गर्न उपयुक्त हुन्छ, त्यही ठाउँमा काम तत्कालै अगाडि बढाउँछौँ”, थापाले भन्नुभयो ।

उहाँका अनुसार बन्दीपुर-१ र भानु नगरपालिका-४ जोड्ने चुँदीखोला, बन्दीपुर-१ कटुवाको घुम्तीदेखि सोही ठाउँ जोड्ने नाहालाखोला, बन्दीपुर-३ र सोही वडाको शेराटार जोड्ने खुदीखोला, बन्दीपुर-२ र वडा नं ६ जोड्ने साम्दीखोला तथा बन्दीपुर-२ र वडा नं ४ जोड्ने पाहरपानी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।

उहाँका अनुसार ती झोलुङ्गे पुल निर्माणपछि यहाँका पाँच हजारभन्दा बढी सर्वसाधारण लाभान्वित हुनेछन् । उहाँका अनुसार पुल निर्माणमा गाउँपालिकाले १० प्रतिशत लगानी गर्नेछ भने बाँकी रकम सङ्घीय सरकारले व्यहोर्नेछ । सम्भाव्यता अध्ययनपछि मात्रै पुलको लागत थाहा हुने थापाको भनाइ छ ।

गैरसरकारी संस्था समन्वय समिति (एनजिओ नेटवर्क) का अध्यक्ष प्रतापसिंह गुरुङले सम्भाव्यता अध्ययनका लागि गाउँपालिकासँग सम्झौता भइसकेकाले तत्कालै काम शुरु गरिने जानकारी दिनुभयो । एनजिओ नेटवर्कले जिल्लाका अधिकांश ठाउँमा झोलुङ्गे पुल निर्माणको काम गर्दै आइरहेको छ । नेटवर्कले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा नौ पुल निर्माण शुरु गरेको थियो । जुन हाल निर्माणाधीन अवस्थामा छ । बन्दाबन्दीका कारण ती झोलुङ्गे पुल निर्माण गर्न नसकिएको गुरुङले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button