पत्रकारको भविष्य अन्यौलमै, पार्टी र नेताको हनुमान बन्दा समस्या

पोखरा न्यूज  । राजनीतिक आस्था, विचार एउटा हुनसक्छ । तर पत्रकारले आफुले पस्कने सामग्रीमा पार्टीको भक्तिभाव झल्काउनु हुँदैन । सामग्रीमा तटस्थता देखिनुपर्छ । पत्रकार आफ्नो पेशा प्रति बफादार बन्नुपर्छ । पछिल्ला दिनमा पत्रकारिता क्षेत्रको गलत प्रयोग गरेर फाइदा लिने पक्ष हाबी हुँदैछन् । उनीहरुको गोटी बन्दै पत्रकारले आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछन् । यो पत्रकारिता क्षेत्रका लागि सुखद पक्ष हुँदै होइन ।

गल्ती भएको हो भन्ने घाम जति छर्लङ छ । ठूलो गल्ती भइसक्यो । तर गलत कामको ढाकछोप गर्न फेरि मुर्ख बन्छौ । हामी भन्दा दर्शक, श्रोता, पाठक बाठा छन् भन्ने विर्सन्छौ । सही लाई सही गलतलाई गलत भन्न नसकी वास्तविकता छायाँमा पार्न मरिहत्ते गर्छौ । अन्तमा आफै खुइलिन्छौ ।

हुन त आजकाल राम्रो काम गर्नेलाई समेत गाह्रो छ । तारिफ पाउन त काम हैन पार्टी र गुट मिल्नुपर्छ । राम्रो काम हो भन्ने थाहा छ । त्यसलाई राम्रो भन्दैनौ, प्रोत्साहन गर्दैनौं । किनकी त्यो काम गर्ने पार्टी आफुले सर्मथन गरेको होइन । ल मानौँ पार्टी एउटै भयो । तर फेरि सर्मथन गर्दैनौ । सर्मथन पाउन गुट समेत मिल्नुपर्छ । हो नेपाली पत्रकारिता क्षेत्रमा यस्ता प्रवृत्तिले प्रश्रय पाउन थालेको छ । जसले पत्रकारिता क्षेत्रलाई दुर्घन्धित बनाइदिएको छ । भनिन्छ एउटा कुँहिएको आलुले बोरा भित्रका सबै आलुलाई कुहाइदिन्छ । अहिलेका यस्ता कुँहिएका केही आलुले नेपाली पत्रकारिता क्षेत्रलाई भित्रभित्रै सडाउन थालिसकेको छ । समय छदै तिनीहरुको पहिचान गरिएन भने पत्रकारिता क्षेत्रको अस्तित्व संकटमा पर्नेछ ।

थोमस अल्बा एडिसनले भन्नु भएको छ– ‘फैलिएर रहेको र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौं कहाँ पुग्दछ, तिनीहरुलाई ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ ।’ उहाँको यो भनाईले पत्रकारिता पेशाको महत्वलाई बुझाउदछ । अहिले उहाँले भने जस्तो अवस्था पत्रकारिता क्षेत्रबाट हट्दैछ । गलत प्रवृत्ति मौलाउँदा यो क्षेत्रमा कार्यरत निष्ठावान व्यक्तिलाई पत्रकार भएकोमा गर्व नभई निरास बनाएको छ । यसको मुख्य कारण पत्रकारिता मुलभूत सिद्धान्तभन्दा बाहिर गएर व्यक्क्तिगत फाइदाका लागि कलमको प्रयोग गर्ने जमात बढ्दै जानु हो ।

पत्रकारिताको सिद्धान्तको रुपमा रहेको शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता र स्वच्छतामा ध्यान नदिई पत्रकारिता गर्ने चलन बढेकोले आम सर्वसाधरणको विश्वास यो क्षेत्रले गुमाउन थालेको छ । समाचार र विचारलाई यथार्थ भन्दा फरक तरिकाले प्रस्तुत गर्ने पित पत्रकारिता मौलाउदै गएको छ ।

पत्रकारिता क्षेत्रमा देखिएको विकृति रोक्न नसक्दा पत्रकारको भविष्य अन्योलमा परेको छ । न जागिरमा स्थायित्व छ । न काम अनुसारको पारिश्रमिक श्रमजीवी पत्रकारले पाउन सकेका छन् । नेतृत्वमा पुग्ने र पुग्नखोज्नेले श्रमजीवीका नारा भजाउन भने छोडेका छैनन् । दैनिक जीविकोपार्जनमा समस्या भएका कारण कति पत्रकारिता पेशाबाट पलायन भए । पत्रकारिता क्षेत्रतर्फ देखिएका विकृतीले यसको ओझ घटाएको छ । अहिले कोरोना महामारीका कारण झनै यो पेशा संकटमा परेको छ । धेरै पत्रकार लामो समयदेखि बेतलबी विदामा छन् । केही थौरै पारिश्रमिकमा काम गर्न बाध्य छन् । केही यो पेशा छोड्न वाध्य भइसके ।

पत्रकारका नेताको ध्यान आफ्नै स्वार्थमा केन्द्रित छ । काम नगर्ने तर गफ वा भाषणमा ठूला कुरा गर्ने प्रवृत्तिले यो क्षेत्रलाई झनै अस्थिर बनाएको छ । प्रविधिका कारण चुनौती थपिएका छन् । समय अनुसार परिवर्तन हुन नसक्नु अर्को समस्या हो । पत्रकारिता पेशा व्यवस्थित हुन नसक्दा आम सर्वसाधारणले प्रश्न उठाउने गरेका छन् । यि सबै कुरा चिर्दै पत्रकारिता पेशा प्रति सकारात्मक सन्देश छर्न सक्ने नेतृत्व अबको खाँचो हो ।

नेपाल पत्रकार महासंघ नेपालका सम्पूर्ण व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व गर्ने छाता संगठन हो । जसको नयाँ नेतृत्वको लागि आगामी फागुन ३ गते केन्द्र, प्रदेश र जिल्ला निर्वाचन हुँदैछ । निर्वाचन अगाडि मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एशोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा समेत हुनेछ । मिति तय भएसँगै नेतृत्वमा पुग्न खोज्नेहरुको दौडधुप शुरु भएको छ । भित्रभित्रै रणनीति बनाउदैछन् । आफुलाई सर्मथन गर्न अनुरोध गर्दै नेताको चाकडी र चाप्लुसी गर्न केहीले शुरु गरिसकेका छन् । नेपाल पत्रकार महासंघको अधिकारिक तथ्यांक अनुसार हालसम्म १३ हजार २ सय ६४ पत्रकार यसका सदस्य छन् ।

पत्रकारिता क्षेत्रमा देखिएका यस्ता विकृति विसंगती चिर्न नसक्ने हो भने यो पेशा प्रतिको आर्कषण झनै घट्नेछ । त्यसैले अहिलेको आवश्यकता यो पेशालाई भ¥याङको रुपमा प्रयोग गर्ने भन्दा यही पेशामा निरन्तर लडिरहने र श्रमजीवीका आवाज सम्बोधन गर्न सक्ने खालको नेतृत्व जिल्ला, प्रदेश र केन्द्रमा आउन आवश्यक छ । यसको लागि मतदाताको रुपमा रहेका आम पत्रकार सचेत हुनुपर्छ ।

पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका व्यक्ति पत्रकार महासंघको विभिन्न तहमा पुग्ने र पार्टीकै निर्देशन अनुसारका काममा लाग्ने हुँदा पत्रकारका समस्या जीउका तिउ रहने गरेका छन् । सामाजिक सञ्जालमा पार्टी तथा नेताकै गुनगान गाउने उनीहरुसँग नजिक छु भनि देखाउन फोटो पोष्ट गर्ने गर्दछन् । यसरी नागिंएका उनीहरु ऋाफू स्वतन्त्र छु भन्न भने कुनै संकोच मान्दैनन् ।

पत्रकार हुँ भनेर त्यसको आडमा अन्य मनग्गे फाइदा लिन खोज्ने एकथरी छन् भने पत्रकारिता पेशालाई टिकाउन अन्य काम गर्दै धानिएका उतिकै छन् । कतिले यो पेशालाई निरन्तरता दिन खोज्दा घरको भएको सम्पत्ति सकेका छन् । केही भने महल ठड्याउन, कार चढ्न र समाजमा हैकम जमाउन सफल भएका छन् ।

नेताहरुकै अघिपछि लाउने र उनीहरुकै गुनगान गाउदै सामग्री सम्प्रेषण गर्ने ट्रेन बढ्दा समेत पत्रकारिता पेशा प्रति आम मानिसको धारणामा परिवर्तन आएको छ । राजनीतिक दलको मुखपत्रको रुपमा पत्रकार प्रयोग हुनु यसको मुख्य कारण हो । हुनत पत्रकारितालाई राजनीति गर्ने माध्यम बनाई सोही आडमा अगाडि बढ्न खोज्नेहरुका भिड यो क्षेत्रमा छ । स्थापित भनिएका तथा जिम्मेवार पदमा रहेका व्यक्ति नै यस्ता गतिविधिमा सम्लग्न हुँदा यो क्षेत्रमा बफादार भएर लागिरहेकाहरु निरास छन् ।
पत्रकारिता क्षेत्रमा भविष्य बनाउन खोज्नेहरुका लागि यो सुखद पक्ष हुँदै होइन । गैर पत्रकारको हाबी पत्रकारिता क्षेत्रमा हुन थालेको छ । केही दिन अगाडि नक्कली प्रेस कार्ड छपाउने पक्राउ परेको घटनाले यसलाई पुष्टि गर्छ ।

अहिले पत्रकारमा मात्र हैन आम सर्वसाधरणको हातमा समाचार छ । उक्त्त समाचार भाइरल बनाउन सामाजिक सञ्जालनै काफी हुन थालेको छ । नेताकै वरिपरिमात्र समाचार देख्ने चलन छाड्दै समाचार सम्प्रेषण गर्ने कार्यमा पत्रकार खटिनुपर्नेछ । सर्वसाधरणले पोष्ट गरेका सामग्री र पत्रकारले पोष्ट गरेका सामग्रीमा फरकपना देखिनुपर्छ ।

पत्रकारिता पेशामा टिक्न नसक्नुको कारण भनेका पारिश्रमिक र जागिरको स्थायित्व मुख्य हो । पत्रकारलाई नेताहरुले विभिन्न पदमा नियुक्ती गर्दै प्रोपोगाण्डा मच्चाउन प्रयोग गरिरहेका छन् । यसले उनीहरुका कर्तुतलाई ढाकछोप गर्न सघाएको छ । वास्तविकता छायाँमा परेको छ ।

नेताकै पछि लाग्दा पत्रकारिता क्षेत्रमा विकृति थपिएको छ । के सत्य के झुट भन्दा पनि आफ्नो पक्षका नेताको अथवा आफ्नो विचारधारा मिल्ने पार्टीको सपोर्ट गर्न एकथरी लाग्छन् । कुनै नेताको वा पार्टीको चाकरी गर्ने त्यसबाट फाइदा लिनेहरुकै दबदबा यो क्षेत्रमा देखिन्छ । जसका कारण अहिलेसम्म पत्रकारका पीडा जिउका तिउ छन् । फ्रोसा आश्वासन दिँदै फाइदा लिन यस्ता व्यक्ति पुनः सक्रिय हुदैछन् । अब वास्तविक पत्रकारलाई नेतृत्वमा ल्याउनुपर्नछ । धैर्यताको बाध फोर्दै पत्रकारिता क्षेत्रलाई जोगाउनुपर्ने बेला आएको छ । अब सोच्नेकी ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button