मुख्य खबरविचार/ लेखसमाचार

अनलाइनमा भ्रम अनि यथार्थ : तपाइँले पढ्ने र विज्ञापन दिने अनलाइन यसरी जाँच गर्नुहोस्

पोखरा न्यूज । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणसँगै परम्परागत मिडिया र न्यू मिडिया बीचमा ठूलो खाडल देखिन थालेको छ । समाजमा लामो समयदेखि जरो गाडेर बसेका अर्थात आफूलाई स्थापित गराएका परम्परागत सञ्चार माध्यमलाई कोभिड-१९ ले नकारात्मक प्रभाव पार्यो भने न्यू मिडियाका रुपमा अगाडि वढ्दै गरेका अनलाइन सञ्चार माध्यमलाई सहज रुपमा वुझ्ने वातावरण यसले तयार पार्यो । तसर्थ छोटो समयमा यी दुई मिडियाहरुका बीचमा ठूलो खाडल देखा पर्न थाल्यो ।

परम्परागत मिडिया र न्यू मिडिया
पत्रपत्रिका, टेलिभिजन र एफएम लगाएतलाई परम्परागत मिडिया अर्थात सञ्चार माध्यमका रुपमा लिने गरिन्छ । विश्वका धेरै ठाउँमा प्रकाशित हुँदै आएका पत्रपत्रिकाहरु यतिवेला वन्द गरेर न्यूज पोर्टल अर्थात अनलाईन मार्फत प्रकाशित हुन थालेका छन । प्रिन्ट माध्यमवाट प्रकाशित हुने धेरै पत्रपत्रिका अव इतिहास बन्दैछन । त्यस्तै करिव चार दशक देखि मनोरन्जनको साधन बनेको टेलिभिजन पनि विस्तारै ओरालो लाग्ने स्थितिमा छ भने एफएम रेडियोहरुको स्थिति समेत नाजुक वन्दै गएको छ । विगतमा ठूला–ठूला कार्यालय राखेर सञ्चालन हुदै आएका एफएमहरु यतिवेला घरको एक कोठामा संकुचित भएका छन भने श्रोताहरुको सख्या समेत ह्वात्तै घटेको छ । पत्रपत्रिका, टिभी र एफएमलाई विस्थापित गर्न अनलाइन न्यूज पोर्टलहरुले भूमिका खेलेका छन ।

न्यू मिडिया अर्थात अनलाइन न्यूज पोर्टलले २१ औं शताव्दीको सञ्चारमा क्रान्ती नै ल्याएको छ ।  २०७७ को साउन मसान्त सम्ममा प्रेस काउन्सिल नेपालमा सूचीकरणका लागि आबेदन दिने अनलाइनहरुको संख्या २ हजार १ सय ९९ पुगेको छ । न्यूज पोर्टलको वाढीसँगै  केहि न्यूज पोर्टलले  आफूले आफैलाई सबैभन्दा राम्रो र धेरै भिजिटर भएको भनेर घोषणा समेत गर्न थालेका छन ।  जसका कारण भिजिटरहरुमा मात्रै नभई विज्ञापनदाताहरुलाई समेत अन्यौलको वातावरण बनेको छ । तर यसको पनि समाधान र उपाय छ ।

न्यू मिडियाको रुपमा स्थापित हुँदै गरेको अनलाइन सञ्चार माध्यम वुझ्नेहरुका लागि सबैभन्दा पारदर्शी रहेको छ । प्रविधिको प्रयोग गरेर केहीले ढाट्ने छल्ने प्रयास गरेपनि प्रविधिकै प्रयोग गरेर त्यसको वास्तविकता समेत पत्ता लगाउन सकिने माध्यम बनेको छ अनलाइन सञ्चार माध्यम । विगतमा कुनै पनि सञ्चार माध्यमको भिजिटर मापन गर्न सर्भे गर्ने गरिन्थ्यो भने पत्रपत्रिकाको हकमा सञ्चालकले भन्ने गरेको प्रिन्ट संख्या र सर्कुलेसनलाई आधार मानिन्थ्यो । तर अहिले समय सहज बनेको छ । कुनै पनि सचेत पाठक वर्ग अर्थात् विज्ञापनदाताले थोरै प्रयास गरेको खण्डमा मात्र पनि उनीहरुले कुन मिडियाको कस्तो  पहुँच छ र भिजिटर फेक छ की वास्तविक छ भन्ने कुरा पत्त्ता लगाउन सक्दछन । हुनत सञ्चार माध्यमको भिजिटर र सर्कुलेसनको ज्ञान र चासो सबैभन्दा धेरै विज्ञापनदातालाई हुनुपर्ने हो । तर यहाँ विज्ञापनदाता भन्दा वढी मिडिया सञ्चालकलाई भिजिटर र सर्कुलेसनको गफ हाक्नुपर्ने हुन्छ ।

२१ औं शताव्दीमा आइपुग्दा सञ्चार माध्यमले सही र सत्य तथ्य सूचना प्रकाशन प्रसारण सँगसँगै आफ्नो सञ्चार माध्यमको भिजिटर र सर्कुलेसनको यर्थाथ विवरण आम पाठक वर्ग, विज्ञापनदाता र शुभचिन्तकलाई दिनुपर्ने जरुरी छ । न्यू मिडियाको रुपमा स्थापित अनलाइन सञ्चार माध्यममा झन् धेरै पारदर्शिताको आवश्यक्ता रहेको छ । अवको सुचना प्रविधिको युगमा अनलाइन मिडिया सञ्चालकले भिजिटरलाई अथवा विज्ञापनदातालाई झुटो विवरण पेश गरेर अर्थात गफ लगाएर हुनेवाला देखिदैन । प्रविधिले अनलाइन मिडियालाई सोचे भन्दा वढी पारदर्शी बनाइसकेको छ ।

अनलाइनको प्रभावकारिता र भिजिटरको मापन
कुनै पनि अनलाइन अर्थात अनलाइन न्यूज पोर्टलको प्रभावकारिता कस्तो छ र त्यो कति भिजिटर (पाठक)हरुले पढ्छन वा हेर्छन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । अनलाईनको प्रभावकारिता र भिजिटरको सख्या पत्ता लगाउने, आफूले पढ्ने अनलाईन विश्वको कति रेंङ्कमा छ वा नेपालमा कति छ भन्ने जान्न एलेक्साबाट जान्न सकिन्छ ।

क) एलेक्सा रेङ्किङ : एलेक्सा रेङ्क अनलाइनको रेङ्क मापन गर्ने एक सहज उपाय हो । गुगलमा गएर एलेक्सा डट कममा गएर रेङ्क सर्च गर्ने अनि कुनै पनि अनलाईन न्यूज पोर्टलको पुरा डोमेन लेखे पछि यसले आफूले पढेको अनलाइन कुन रेङ्कमा छ भन्ने खोज्न सहज हुन्छ ।

एलेक्सा रेङ्क समेत दुई थरीका छन् । एक थरी एलेक्सालाई पैसा तिरेर रेङ्क वढाउन सकिन्छ अर्को भनेको एलेक्साले जस्तो छ त्यस्तै देखाउने । केही अनलाईन सञ्चालकले भिजिटर तथा विज्ञापनदातालाई आँखामा छारो हाल्न एलेक्सालाई पैसा तिरेर रेङ्क वढाएका हुन्छन । एलेक्सालाई पैसा बुझाउने अनलाइनहरुको एलेक्सामा ‘सर्टिफाइड’ लेखिएको हुन्छ तर पैसा नवुझाउनेहरुको सर्टिफाइड लेखिएको हुँदैन । कृपया तल फोटोमा हेर्नुस।

पैसा तिरेर एलेक्सा रेङ्क बढाएको एक अनलाइनको स्क्रिन क्याप्चर
सेतो पाटी डटकमको लेख तयार पार्दाको दिनको वास्तविक एलेक्सा रेङ्क स्क्रिन क्याप्चर

एलेक्सामा सर्टिफाइड भएकाहरुको रेङ्क पैसा तिरेर किनिएको हुन्छ । जसमा वास्तविक भिजिटर अनुसारको रेङ्क हुँदैन । आफ्नै रेगुलर भिजिटर नभएका, मिडियाको आधिकारिक फेसबुक पेजमा लाइक धेरै नभएका,  ग्रुपमा मेम्बर धेरै नभएका केहि अनलाइनहरुले खोक्रो सानका लागि एलेक्सामा रेङ्क बढाउन लागिपरेका छन् । तर पछिल्लो समय प्रविधिको ज्ञान सँगै धेरै विज्ञापनदाता तथा एजेन्सीहरुले रेङ्क बढाउने यो तरिकाबारे जानकार भइसकेका छन । जसको फलस्वरुप आजभोलि विज्ञापनदाताहरुले एलेक्सा रेङ्कको रिपोर्ट साथमा  गुगल एनलाइटिक्सको रिर्पोट माग्न थालिसेका छन ।

ख) गुगल एनलाइटिक्स : कुनै पनि अनलाइन वा न्यूज पोर्टलको वास्तविक भिजिटर बारे जानकारी लिने सवैभन्दा भरपर्दो मानिएको टुल्स् हो गुगल एनलाइटिक्स । यसले कुनै पनि अनलाइनको प्रति मिनेट कति भिजिटर छ, प्रति हप्ताको भिजिटर र प्रति महिनाको भिजिटरलाई आवश्यक्ता अनुसार देखाइदिने गर्दछ भने मासिक भिजिटरको रिर्पोट नै दिने गर्दछ ।

गुगल एनलाइटिक्सले सम्वन्धित अनलाइन न्यूज पोर्टलको कुन समाचार कति जनाले विश्वको वा देश भित्रको कुन ठाउँ बाट हेरे अर्थात कुन यूआरएल कति पटक क्लिक गरे भन्ने बारे देखाइदिने गर्दछ । गुगल एनलाइटिक्सले देखाएको कुनै पनि यूआरएलमा शंका लागेमा (वुष्ट गरेको र भिपिएन प्रयोग गरेको) सम्वन्धित मिडियाको आधिकारिक फेसवुक पेज, ग्रुप र टाइमलाइनमा गएर क्लिक् संख्या हेर्न सकिन्छ । यसर्थ पनि अनलाइनको भिजिटर मापनका लागि यो नै सवै भन्दा उपयुक्त विकल्प मानिएको र पछिल्लो समय विज्ञापनदाताले यही टुल्सलाई आधार मान्न थालेका छन ।

ग) वेभसाइट भ्यू काउन्ट : अनलाइनमा प्रकाशित भएको सामाग्री कति जनाले पढे भन्ने बारेमा जानकारी दिन केही मिडियाले ’भ्यू टुल’ राखेको पाइन्छ । तर यसमा पनि केही अनलाइनहरुले वदमासी गरेको पाइन्छ । एक पटक एउटा मोवाइल वा ल्यापटपवाट क्लिक गर्दा एक भ्यू गर्दा एक नै देखिनुपर्नेमा जति पटक खोल्यो वा रिफ्रेश गर्दा भ्यूको सख्या ५, १०, १५, २० वढ्दै जान्छ । यसलाई ‘फेक भ्यू काउन्ट’ भनिन्छ । यो आफ्नो अनलाइनलाई धेरै पटक पढिएको देखाउन गरिएको एक प्रकारको वदमासी हो । यसले भिजिटरसँगै विज्ञापनदाताहरुलाई ठूलो भ्रम उत्पन्न हुन्छ । केही अनलाइनहरु यतिवेला भ्रममा राख्न फेक भ्यू काउन्टको सहारा लिएका छन जुन सरासर भिजिटर माथीको शोषण नै हो ।

यसैगरी केही अनलाइनहरुले भिजिटर ५, १०, १५, २० जसरी मल्टिपल रुपमा वढ्ने गरी नदेखाई एक आइपीबाट (ल्यापटप, मोवाइल, कम्प्युटर) हरेक पटक रिफ्रेश (पुनः क्लिक) गर्दा अतिरिक्त एक भ्यू वढ्ने गरी राखिएको पाइन्छ ।

विज्ञापन कसलाई दिने र कसरी दिने ?
यतिवेला अनलाइनहरुमा विज्ञापन दिनेहरुको आर्कषण वढेको छ । परम्परागत सञ्चार माध्यममा विज्ञापन दिंदै आएका विज्ञापनदाताहरुको अनलाइनमा आफ्ना उत्पादनहरुको विज्ञापनका लागि आर्कषण वढ्नु स्वाभाविक पनि हो । कसलाई वा कुन अनलाइनलाईनलाई विज्ञापन दिने त?

–फेसवुकमा इन्सटान्ट आर्टिकल ईनेवल नगरेकोलाई
–एलेक्सा रेङ्किङलाई रकम नर्तिनेलाई (सर्टिफाइड नभएको)
–गुगल एनलाइटिक्स रिर्पोटका आधारमा
–फेक भ्यू काउन्ट भएकालाई नदिने

एलेक्सा रेङ्क, गुगल एनलाइटिक्स र फेक भ्यू काउन्टका बारेमा माथि चर्चा भइसकेको छ । फेसबुक इन्सटान्ट आर्टिकल फेसबुकले प्रयोगमा ल्याएको विज्ञापनको माध्यम हो । जुन अनलाइन न्यूज पोर्टलले फेसवुक इन्सटान्ट आर्टिकलको प्रयोग गरेको हुन्छ त्यो अनलाइनको समाचार सामाजिक सञ्जालबाट क्लिक गर्दा फेसबुकको मात्रै विज्ञापन देखिन्छ भने विज्ञापन दाताले त्यो मिडियालाई दिएको विज्ञापन भिजिटरले हेर्न पाउँदैनन । फेसबुकबाट डलर झार्ने दाउमा इन्सटान्ट आर्टिकल इनेवल गरेका मिडियालाई विज्ञापन दिंदा विज्ञापन धेरै भिजिटरले नदेख्ने हुँदा त्यस्तोमा विज्ञापन दिंदा होशियार हुन आवश्यक छ ।

विज्ञापनदाताले यी चार कुरामा विशेष रुपले ध्यान दिने हो भने विज्ञापनदाता कहिल्यै पनि ठगिएको महशुस गर्नेछैन । यदि कुनै समाचार, लिंक, अथवा शंका लागेमा त्यस मिडियाको आधिकारिक फेसबुक पेज, ग्रुपमा गएर सम्वन्धित समाचारको शेयर र क्लिक हेर्न सकिन्छ । आफ्नो उत्पादन जनमानस सम्म पुर्याउन अनलाइन उपयुक्त माध्यम हो तर कहीं कतै पनि कोही ठगिनु वा भ्रममा पर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button