पोखराको गन्धर्व नाटक घर लामो समयदेखि सुनसान

सामूहिक प्रयास अहिलेको एक मात्र विकल्प

पोखरा न्यूज ।  पोखराको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुन नपाएको नौ महिना भैसकेको छ । कोरोना महामारीका कारण बन्द भएको नाटक घरमा नाट्य गतिविधि समेत हुन नपाएको त्यति नै समय भइसकेको छ ।

विगतमा चहलपहल भइरहने पोखरा थिएटर अनि थिएटरद्वारा सञ्चालित नाटक घर सुनसान रहेको छ । यसले नाटक घर सञ्चालकलाई मात्र नभएर रंगप्रेमीलाई समेत खल्लो महसुस गराएको छ । कोभिड १९ को प्रभावले आक्रान्त परिरहेको रङ्गमञ्चलाई जीवन्त राख्न अब जाग्नुपर्ने बेला आएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो । ‘कोभिड १९ को प्रभावले आक्रान्त परिरहेको रङ्गमञ्चलाई जीवन्त राख्न समयानुकूल विभिन्न विकल्पको खोजी गरिरहेका छौ । यसकै फलस्वरूप केही समय अगाडि हामीले अभिनय तथा निर्देशन सम्बन्धी भर्चुअल कक्षा सञ्चालन गरेका थियो । त्यसबाट आएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएर पुनः उक्त कक्षाहरूलाई निरन्तरता दिँदै छौँ’ उहाँले भन्नुभयो ।

लामो समयदेखि नाटक घरको ढोका बन्द हुँदा रङकर्मीले शारीरिक एवं मानसिक दबाब सामना गर्नु परेको उहाँ बताउनुहुन्छ । ‘कोरोना महामारी र बन्दाबन्दीका कारण लामो समयदेखि नाटक घरको ढोका बन्द भएको छ । जसको कारण सधैँ अभाव र सङ्घर्षमा जुधिरहेको नाट्य क्षेत्रको आर्थिक अवस्था जर्जर त छदै छ अर्कोतर्फ नाट्यकर्मीले वर्तमान समयमा सामना गर्नु परेको शारीरिक एवं मानसिक दबाबले पनि अझ कमजोर बनाएको महसुस बनाएको छ’ पोखरा न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो ।

सुनसान पोखरा थिएटर

कोरोनाले थला परेको रंगक्षेत्रलाई गतिशील बनाउन अग्रज, समकालीन तथा अनुज रंगकर्मिहरुसँग छलफल गरिरहेको पोखरा थिएटरले जनाएको छ ।थिएटर अध्यक्ष परिवर्तन भन्नुहुन्छ–‘कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र यो महामारीबाट बाहिर निस्कन तत्काल सम्भव छैन । तसर्थ सामूहिक प्रयास नै अहिलेको एक मात्र विकल्प हो । सामूहिक रूपमा अगाडि बढ्नको लागि अहिले अग्रज, समकालीन तथा अनुज रंगकर्मिहरुसग छलफल गरिरहेका छौ । हामी छिट्टै नै रङ्गमञ्चलाई गतिशील बनाउने प्रयास गरिरहेका छौ । तर के गर्नु अहिलेको अवस्थामा हामीले चाहेर मात्र यो सबै सम्भव छैन ।’ हुन त सधैँ अभावमा बाच्न सिकेका थिएटर कर्मीहरू कोरोनाको महामारीमा अभावको अर्को पराकाष्ठा भोग्दै जीवन अगाडि बढाइरहेका छन् । केही कलाकारहरू भने सर्ट मुभी, म्युजिक भिडियो लगायतमा व्यस्त हुँदै क्रियाशील हुने प्रयास गरिरहेका छन् ।

पोखरामा पोखरा थिएटर सञ्चालनमा आएपछि रङ्गमञ्च प्रतिको माहौल बढ्दै गएको थियो । नियमित रूपमा नाटक मञ्चन मात्र नभएर अभिनय सिक्ने, सिकाउने क्रम सुरु हुँदा माहौल बढ्दै थियो । दुई वर्षको अवधिमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भए । विभिन्न रङ्गकर्मी, नाट्य क्षेत्रका संस्थाको क्रियाशीलताले पोखराको रङ्गमञ्च कोरोना कहर अगाडि जागेको थियो । पछिल्लो समयमा सुनसान रहेको नाटक घरलाई गतिशील बनाउने प्रयासमा यति बेला पोखरा थिएटर जुटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button