झ्यालबाट रोइकराई आवाज आउँदा मन थाम्नै गाह्रो हुन्थ्यो

रञ्जन अधिकारी । वैशाखदेखि कार्तिकसम्म चार पटक नाक मुख घोचियो, कोभिडबाट जोगिएकै थिएँ । कहिले ट्राभल हिस्ट्री, कहिले कन्ट्याक्ट ट्रेसिङ, त कहिले लक्षण देखिएको आशङ्कामा स्वाब दिएँ । सधैँ नेगेटिभ नै आएपछि अब त पक्का नभई टेस्ट  गर्दिन भनेरै बसेको थिएँ । दशैं मान्न धादिङ जाँदा समेत म सही हालतमै थिएँ । फर्केको एक साता नबित्दै सन्चो भएन ।प्रायः वर्षेनी असोज/कार्तिकको समयमा रुघा र ज्वरोले थलिने भएकाले बिरामी हुन खोजेको भान भयो । त्यसैले पनि लक्षणको सुरुवाती पाँच दिन मैले लापरवही गरेँ कि ? भन्ने लाग्छ । यही कारण संक्रमण भएर होटल र हस्पिटल बस्दा समेत म माध्यम बनेर अरू कोही पनि संक्रमित नहोस्, परिवार जोगिउन्, साथीभाइ जो मेरो सम्पर्कमा आउनुभयो, सबै सुरक्षित रहुन् भन्नेमै तनावपूर्ण एक हप्ता गुजारेँ । सोचे जस्तै भयो, राहत मिल्यो । सहकर्मी पत्रकारहरू आफूलाई संक्रमण भएको सार्वजनिक गरेपछि जहिल्यै फेसबुकमा लेख्थेँ ‘हामी सबै लाइनमै छौँ । ढिलो चाँडो मात्रै हो । नलागुन्जेल डराऔँ, लागेपछि नडराऔँ ।’ नलागुन्जेल डराएकै हो, लागेपछि झन् डर लाग्दो रहेछ । सबै भन्ने कुरा न हुन् । कास्कीमा कोरोना बीमा गराएका ३०३ पत्रकारहरूमध्ये संक्रमित पत्रकारको क्रम सङ्ख्यामा म ३१ औँ नम्बरमा परेछु । १० प्रतिशत भित्रै नाम मिसियो ।

कोरोना कसरी सर्‍यो पत्तै भएन 
अनलाइन विज्ञापन मार्फत ‘चिया सिड’ अर्डर गरेर खान सुरु गर्नु र कार्तिक २४ गते पेट बिग्रनु एकसाथ भयो । पर्याप्त पानी नखाएपछि कब्जियत हुने रहेछ, पानी धेरै नपिउँदा दिसा गर्न समस्या भएछ भन्ठानेँ । कुन दिनदेखि को बाट संक्रमण भयो आशङ्का मात्र भयो, पुष्टि भएन । यति चाहिँ प्रस्ट छ, पहिचान भएका कोरोना संक्रमित व्यक्तिबाट मलाई सरेको होइन । कार्तिक २५ गते हल्का रुघा लाग्यो । त्यसपछि स्वाद र गन्ध एकसाथ हरायो । स्वादमा नुनिलो, अमिलो र पिरो चाहिँ थाहा हुन्थ्यो । नत्र, आलु खाएको कि मासु ? तरकारी राखेको कचौरा हेरेपछि थाहा हुने भयो । सबैभन्दा पहिले श्रीमती भन्दा पनि अघि लक्षण देखिएको कुरा मेरो संस्था बिग एफएमका अध्यक्ष महेश भण्डारीलाई जानकारी गराएँ । उहाँ र परिवारसँग मैले दुई दिन अघि भेटेको थिएँ । कार्तिक २९ गतेचाहिँ पक्का कोरोना होला भन्ठानेँ । यसबिचमा भतिज र सहकर्मी मित्रको बर्थडे देखि अफिसियल कामको सिलसिलामा गाडीको यात्रामा पनि सामेल भएको थिएँ । स्वाद र गन्ध हराएपछि भने छोरोलाई जुठो खुवाइनँ । मास्क छाडिनँ र सकेसम्म दोस्रो व्यक्ति भन्दा परै आफूलाई राखेँ । त्यसै कारण पनि मबाट सबै परिवार जोगिए, दर्जनौँ साथीभाइलाई संक्रमण भएन भन्ने लाग्छ ।

डेरा छाड्ने तयारी
आफूसँग साना छोराछोरी छन् । घरभेटी बुवाआमा निकै नै बृद्ध–बृद्धा हुनुहुन्छ । उहाँहरू दुवै घर भन्दा हस्पिटल बढी बस्नुपर्ने अस्वस्थ । त्यसमाथि पत्रकार, ड्राइभरहरूले कोरोना ल्याउँछ भनेर डराइरहने । सधैँ ‘ल है कोरोना ल्याउला’ भनिरहने भएर पनि यो घर छाड्न नै उचित थियो । दुई दिनपछि तिहार छ, काठमाण्डौ मै तिहार मान्न जाने भन्ने अनि होटल गएर बस्ने योजना बुन्यौँ । कार्तिक २९ गते श्रीमती (सुचिता) सँगकै सल्लाहमा डेरा छाड्ने निर्णयमा पुगेँ । दिउँसो नयाँबजारकै एक फार्मेसीबाट छाती तातो राख्न इलेकट्रिकल हट ब्याग, बाफ लिने मेसिन, भिटामिन सी, जिङ्क, सन्चो, जीवनजल, निको, डिकोल्ड, भिक्स जस्ता आवश्यक सामाग्री किनेँ । आवश्यक लत्ता कपडा, च्यवनप्राश, हर्लिक्स, महसहित अदुवा, लसुन, मरीच, दालचिनी, ज्वानो, जिरा, गुर्जोलाई सुचिताले पोको पारिदिइन् । फलफूल, अमला, कागती पनि झोलामै हालिन् । पानी तताउने भाडो, थर्मस सबै पोको पारियो । बाइक स्टार्ट गरेर आफै लेकसाइडतर्फ हानिएँ । बाटोमा पर्ने पोखरा न्यूजको अफिस मुन्तिर पुगें । गणेश बराल दाइलाई फोन गरेँ । तलमाथि फोनमै कुरा भयो । आवश्यक सहयोगका लागि अनुरोध गरेँ । उहाँलाई लक्षण देखिएकै दिनदेखि अपडेट गराएँको थिए ।अँध्यारो भएपछि लेकसाइड स्थित चिनेजानेकै होटलमा पुगेँ ।

होटलको बसाइँ अनुभव
सञ्चालक हितैषी भएकाले होटलमा बसुन्जेल खान बस्नको चिन्ता हुन्थेन । कोरोना संक्रमित हुँदा पनि कोरोना नसम्झिए त यसले गाह्रो पार्ने रहेनछ । तर, कर्म नै पत्रकारिता भएपछि अपडेट भइरहनुपर्ने, सहकर्मीहरूले वेभसाइटमा राखेका पोस्टहरू समेत देखिरहने भएपछि डर बढ्ने भयो । मृत्युको समाचारमा सबैभन्दा पहिले कति वर्षको ? भन्नेतिर आँखा जान्थ्यो । सकेसम्म मृत्युको समाचार पढ्नै नपरे हुन्थ्यो जस्तो लाग्ने । सम्झेँ, अरूलाई पनि यस्तै लाग्दो हो । हामी पत्रकारसँग कति रिस उठ्दो हो ? मलाई आफै पत्रकार हुँदा समेत समाचार हेरेपछि दिमाग खलबलिन थाल्यो । सायद यही कारण पत्रकार त्रिभुवन पौडेल दाइले फेसबुकमा कोरोना संक्रमण हुँदा मृत्युको समाचारले आहत दिन्छ भनेर लेख्नुभयो । त्यो अनुभव मैले पनि व्यहोरे । तर पनि हामी आफू जुन अवस्थाबाट गुज्रिएका छौँ, मन नै नपरे पनि समाचार प्रवाह गर्न कर लाग्ने । कस्तो निर्दयी पेसा यो ? जसले आफू र आफ्नाको समेत ख्याल नगर्ने ।

परिचित जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेसँग वर्षौँ अघिदेखि नै म फेसबुकमा थिएँ । उहाँसँग यसअघि पनि सहयोग मागेको थिएँ । कोरोनाको सुरुवाती समयदेखि अहिलेसम्म उहाँका अपडेटसँग म जानकार थिएँ । त्यसैले सिधै डा. पाण्डेलाई आफू संक्रमित भएको र सहयोगको आग्रह गरे । उहाँले अक्सिमिटरमार्फत् अक्सिजन लेभल नापिरहनु भन्नुभएपछि फार्मेसीमा फोन गरेर तीर्थराज अवस्थी सरसँग थर्मोमिटर र अक्सिमिटर मगाएँ । मलाई ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, ज्यान दुख्ने केही भएन । वैशाख ३० गते भाइ सुशील बस्नेतले अघिल्लो दिन छुटेका सबै सामान होटलमा ल्याइदिए । स्वाद, बास्ना नभए पनि खाना खान छोडिनँ । तर, योग ध्यान पर्याप्त बेसार, गुर्जो पानी तर्फ ध्यान नै गएन । अल्छी लागेर सुतिरहन्थेँ।

जब बाँच्दिन कि ? जस्तो लाग्यो 
बेलुकी भएपछि अलि अर्कै महसुस हुन थाल्यो । राति १ बजे बिउँझिएँ । मरिन्छ कि क्या हो ? नयाँ रोग, केही थाहा छैन । कोरोनाकै कारण दिनहुँ जसो २ दर्जन बढीको ज्यान गएको छ । कति त हाम्रै उमेर समूहका छन् । न कुनै दीर्घ रोगी हुन् ? यो सम्झँदा झन् ऐँठन भयो । त्यसपछि मोबाइलकै सामसुङ नोटमा छोडेर जाँदा जे जे लेख्नुपर्ने हो सबै लेखेँ । हरहिसाब गरेँ । सम्झनु पर्नेलाई सम्झेँ । माया गर्नेहरू सबै सम्झेँ । जिन्दगीका हरहिसाब मोबाइलमा शब्दमा उत्रियो । मन सन्तोष भयो । लेखेका कुराहरू एकछिन पढेँ, छोरा सम्झेँ, आमा बा सम्झेँ, माया गर्नेहरू सम्झेँ आँखाभरि आँसु भयो । छोराको भविष्य सम्झेर भक्कानिएँ । निन्द्रा लागेन । यत्तिकै उज्यालो भयो । दिनभरि पल्टिरहेँ । मलाई अफ्ठेरो अवस्था आयो भने यी नम्बरहरूमा फोन गर्नु भनेर सुचितालाई म्यासेज गरेँ ।

आज त तिहारको दिन, मन बेचैन भयो । सप्तरङ्गी टीका लगाउनै पाइएन । यहाँ दिदीहरूसँग समेत लगाउन पाइएन । काठमाण्डौमा तिहार मान्न जाने भनेर निस्के पनि काठमाण्डौमा विमला पण्डित दिदीलाई जुठो परेकाले टीका थिएन । छोराछोरीको टीका लगाएको फोटो मगाएँ, फेसबुकमा पोष्ट गरे । बेलुकी चाउथेबाट दिदीहरूले ‘सबै तिहारका भाइ मसला छन्, ल्याइदिऊँ ?’ भन्नुभयो । ‘पर्दैन, सन्चो भएपछि म आफै आउँछु’ भनेँ । मन भारी भयो ।होटलमा कोही पनि गेस्ट थिएनन् । एउटा कोठामा म मात्र थिएँ । खाना पनि आफ्नै अर्को होटलबाट व्यवस्था थियो । खाना ल्याउने भाइलाई पनि मेरो भाँडा म आफै प्लास्टिकले प्याक गर्छु, गएर पन्जा लगाएर तातो उम्लिएको पानी खन्याएपछि मात्र प्रयोग गर्न सुझाउँथे ।  होटलवालालाई अफ्ठेरो नहोस् भन्ने हेतुले म कहिल्यै घाम ताप्छु भनेर छत उक्लिनँ, बाहिर निस्किनँ ।

होटलमा गएपछि दुई दिनसम्म परिवार र चाउथेमा दिदीहरू बाहेक अरूलाई थाहा थिएन । धादिङमा घरमा पनि आमा बालाई भनेको थिइनँ । अञ्जन भाइ पोखरामा थिएन । साथी राजकिरण छत्कुली पनि तिहार मान्न घर गएका थिए । पोखरा भएको सुशील भाइ पनि बिहानै हेटौँडा गइसकेको थियो । मैले घर छाड्ने बेलामै गणेश दाइलाई भेट्दा ‘केही परे भन्नु’ भन्नुभएको थियो । यस बिचमा होटल सञ्चालक प्रिय भाइ र गणेश दाइसँग मात्र आफ्ना कुराहरू शेयर गरेको थिएँ । डा. पाण्डेसँग म नियमित म्यासेन्जर र फोनमा सम्पर्कमा रहेँ । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सर भिटामिन ई, जिङ्क, गुर्जो र पढ्ने पुस्तक लिएर आफै होटल आउनुभयो । संक्रमण मुक्त भइसक्नुभएका दाइ अमृत सुवेदीले पनि फोन गरेर नआत्तिन भन्नुभयो ।

श्वास फेर्न गाह्रो भएपछि
तिहारको दिन बेलुकी श्वास फेर्न गाह्रो भयो । छाती ढक्क फुले जस्तो, खोकी लाग्ला जस्तो भयो, दम बढ्यो । डा. पाण्डेले अक्सिजन लेभल नाप्न भन्नुभयो, ९१ देखायो । उहाँले ‘९४ बाट कम हुनुलाई राम्रो मानिँदैन । श्वास फेर्न असजिलो भएको भए तुरुन्त हस्पिटल गएर एक्स–रे गरिहाल्नु’ भनेर सुझाउनुभयो । राति ७ बजिसकेको थियो । अन्धकार भइसकेको थियो । सिधै हाम्रा अभिभावक दीपेन्द्र श्रेष्ठ सरलाई फोन गरेँ । दिउँसो आउनुभएको भए पनि उहाँले तुरुन्त आउँछु भन्नुभयो । यसबिचमा सबै अस्पतालहरूमा फोन गरेर बुझ्नुभएछ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कोभिड बिरामी उपचार गर्ने मुख्य सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले अहिले राति भइसकेकाले एक्स–रे नहुने, भोलि १० बजे मात्रै हुन्छ भन्ने जवाफ दिएछ । त्यसपछि चरक हस्पिटल जाने तारतम्य मिलाउनुभयो । एकैछिनमा तयार भएर बस्नु, एम्बुलेन्स आउँछ भनेर दीपेन्द्र सरले भन्नुभयो । सजनी म्यामसहित सर आफै गाडीमा आउनुभयो । म एम्बुलेन्ससम्म पुग्ने बेला चोकमा धेरैले हेरिरहे ।लेकसाइडमा एक ३३ वर्षीय मासु पसले युवकले ज्यान गुमाएपछि त्यहाँका स्थानीय आतङ्कित रहेछन् । त्यही कारण पनि एम्बुलेन्सलाई हामीले मूल सडकमै रोकिन भनेका थियौँ ।

चरक हस्पिटलमा पुगेर सिटी स्क्यान गरेँ । ‘बेड रहेनछ, रिपोर्ट म पछि भन्छु । तिमी होटल जाऊ, केही असजिलो हुनासाथ फोन गरिहाल म राति जुनै समयमा पनि उठाउँछु । अरू हस्पिटलमा के कस्तो छ ? बुझ्छु’ भन्नुभयो । पुनः म एम्बुलेन्समै होटल फर्किएँ । सिटी स्क्यान रिपोर्ट हातमा थिएन, फिल्म थियो । त्यसलाई फोटो खिचेर डा. रवीन्द्र पाण्डेलाई पठाएँ । उहाँले तुरुन्त आफै फोन गरेर ‘फोक्सोमा समस्या सुरु भइसकेको रहेछ, तपाईँ हस्पिटल जानुस्, होटल नबस्नुस्’ भन्नुभयो ।दीपेन्द्र सरले पनि ‘सिटी स्क्यानको रिपोर्ट आयो, निमोनिया देखियो, अब हस्पिटलमै बस्नुपर्छ भाइ । म यहाँ राम्रो ठाउँमा बेड मिलाउँदै छु’ भन्नुभयो । त्यसपछि, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली दाइले फोन गर्नुभयो र भन्नुभयो – ‘फोक्सोमा निमोनिया देखियो । अब रिस्क लिनुहुन्न । तिमी होटलबाट निस्क’ भन्नुभयो । लगत्तै प्रदेश अध्यक्ष त्रिभुवन पौडेल दाइले पनि अब हस्पिटल बस्नुपर्छ भनेर फोन गर्नुभयो । एकैछिनमा फेरि एम्बुलेन्स आयो । मैले छाती न्यानो बनाउने हट ब्याग बाहेक अरू केही बोकिनँ । एम्बुलेन्सबाटै बा आमाको लागि केही लेखेँ, आफ्नो कुल देवतालाई भाकल र बडा देवता सम्झेँ ।

हस्पिटलको बसाइँ अनुभव 
गण्डकी मेडिकल कलेज पुगेर इमर्जेन्सी वार्डमा पुगेँ । दीपेन्द्र सरले कोभिड आइसोलेसनका डा. बिराजसँग सबै कुरा गरिसक्नुभएछ । ४५ मिनेट त्यहीँ बेडमा बसेँ । डा. बिराज आएर आइसोलेसन जान भन्नुभयो । लमजुङका संक्रमित व्यक्ति बसेको कोठामा परेँ । मेरो टेस्ट नै भएको थिएन । तर, लक्षण र निमोनिया समेत देखिइसकेकाले कोभिड नै हो, परेको व्यहोरुला भनेर दस्तखत गरेरै म आइसोलेसनमा पुगेको थिएँ । पछि मेरो रिपोर्ट नेगेटिभ आउने र कोभिडकै बिरामीसँग बसेका कारण पुनः केही समयपछि पोजेटिभ आएको भए पनि यहाँ हस्पिटललाई दोष जाने थिएन । मेरो छिटो छरितो उपचारका लागि कोभिड टेस्टको झमेलातिर हामी गएनौँ ।

जिएमसीमा त्यस रात काट्न सकिएन । बिरामी सुतेको ठाउँमा म पुष्टि नभएको मान्छे ? भनेर मन बुझाउन खोज्दा पनि मानेन । पानीदेखि सबै व्यवस्था आफै गर्न पर्ने रहेछ, मैले होटलबाट जाने बेला केही लगेको थिइनँ । त्यही हट ब्याग काखी च्यापेर रात काटेँ । राति नै त्यहाँको अवस्थाबारे दीपेन्द्र सर र गणेश दाइलाई भनिसकेको थिएँ । नर्सलाई पानी ल्याइदिनु न भनेँ । चिसो मिनिरल वाटर ल्याइदिनुभयो । ‘तातो पानी छैन?’ भनेँ । ‘यो त मैले अर्कासँग मागेर हजुरलाई ल्याइदिएको’ भन्नुभयो । भोलिपल्ट बिहानै मित्र जगत कार्कीले आफ्नै घरबाट पानी तताएर ल्याइदिनुभयो । पानी नपिएको पनि १२ घण्टा भइसकेको थियो । जगतले पटक–पटक आएर मेरो औषधि ल्याइदिनुभयो । म कोभिडको बिरामी भएपनि सावधानी अपनाएर होटलबाट मेरा सबै सामान भाइ सुशीलले अस्पताल ल्याइदियो ।

हस्पिटलका लक्ष्मण शर्मा सरले धेरै पटक मलाई सम्पर्क गर्ने कोसिस गर्नुभएछ । मैले नै फोन नउठाएको भनेर उहाँले भोलिपल्ट भन्नुभयो । ‘गण्डकी मेडिकल कलेजमा तिमीलाई कुनै अफ्ठेरो हुन्न, केही समस्या भए मलाई भन्नु’ भन्नुभयो । दीपेन्द्र सरले मेडिकल सुपरिटेन्डेन्ट टु माया घलेसँग मेरो उपचारको सबै व्यवस्थापन गरिसक्नुभएको थियो । त्यसमाथि, परिचित व्यक्तित्व लक्ष्मण सरले समेत अस्पतालमा कुनै चिन्ता नलिन भन्नुभएपछि मन हलुका भयो । मंसिर ३ गते मैले अस्पतालबाटै स्वाब पठाएँ । प्रेस सङ्गठनका संयोजक माधव बरालले यसमा धेरै फलो अप गर्नुभयो, केही घण्टामै मैले पोजेटिभ रिजल्ट आएको थाहा पाएँ । माधव दाइले यस बिचमा पनि निरन्तर मेरो स्वास्थ्य अवस्था बुझ्न फोन गर्नुभयो । रामकृष्ण दाइले पनि पटक पटक फोन गर्नुभयो । गणेश दाइले हरेक दिन गुड मर्निङ देखि गुड नाइटसम्म केयर गर्नुभयो । मन नआत्तिन रमाइला-रमाइला फिल्म हेर, ल्यापटप ल्याइदिन्छु भन्दै न्यानो ब्ल्याङकेट  समेत घरमै पुगेर अस्पताल ल्याइदिनुभयो । अस्पतालमा बस्दा ल्यापटप समेत राम्ररी खोलिनँ, भजन सुन्थेँ । साहिँली भन्ने फिल्म सक्न ७ दिन लाग्यो । योग, ध्यानतिर तरिका थाहा नभएर त्यता मन पनि गरिनँ । कागती पानी, अमला, दिनमा एउटा स्याउ सुन्तला खाएँ । बेसार पानी र गुर्जो दैनिक एक गिलास पिएँ । मलाई सबैभन्दा बढी हेरचाह गर्ने मेरो परिवार पनि जिएमसी नजिकै थियो, हिँडेर २ मिनेटमै आफू बस्ने डेरामा पुगिन्थ्यो । बुढी, छोराछोरीको यादले छाती झनै चर्किन्थ्यो ।

संक्रमित भएपछिका दृश्य र समाचार  
परिवारमा कसैलाई लक्षण देखिएन, केही गाह्रो साह्रो पनि नपरेपछि परीक्षण गरिएन । अस्पताल पुगेको भोलिपल्टै म छुट्टै वार्डमा सरिसकेको थिएँ । ल्यापटप खोल्ने जाँगर पनि थिएन । कहिल्यै यसरी अस्पताल भर्ना भएर बसेको थिइनँ । पोखरामा कोरोना चर्चा–परिचर्चा ह्वात्तै बढ्यो । मंसिर पहिलो साता कोभिडले पोखराको अवस्था खराब बनाएको बेला म जिएमसीको कोभिड आइसोलेसन बेडमा  कोभिडसँग जुधिरहेको थिएँ ।  म  बेडमा रहँदा पोखरामा एकै दिन ७ जनाको मृत्यु भयो । म उपचाररत अस्पताल गण्डकी मेडिकल कलेज जिएमसीमै ३ जनाले एक दिनमै ज्यान गुमाए । निमोनिया बिग्रेर मेरै उमेर समूहका युवकको समेत निधन भएपछि हंसले ठाँउ नै छाड्यो। झ्यालबाट घण्टा बिराएर रोइकराई आवाज आउँथ्यो । मन थाम्नै गाह्रो हुन्थ्यो ।  झन् झन् चिन्ता बढ्यो । त्यसमाथि, ६ अस्पताल डुलाउँदा समेत उपचार नपाएर स्याङ्जाकी धनमाया गुरुङ र कास्कीको अन्नपूर्णमा बस्दै आएका ललितपुरका राजेश कार्कीको निधनको खबर पनि अस्पतालको बेडबाटै पढेँ । समाचार भाइरल भइसकेको थियो । यही समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अन्तर्वार्ता पढेँ ।

सरकार र नेताहरूका गफ अनि यथार्थ
सरकारी अस्पताल नगएर किन प्राइभेट चाहारेको ? भन्ने मुख्यमन्त्री गुरुङको वाक्यांश कति पनि चित्त बुझेन ।  सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले एक्स–रे भोलि मात्रै हुन्छ भनेपछि चरकमा सिटी स्क्यान र त्यहाँ बेड नभएपछि म जिएमसी भर्ना भएको हुँ । यदि क्षेत्रीय अस्पतालले एक्स-रे त्यहाँ गरिदिएको भए, म त्यही जान्थेँ, त्यहीँको आइसोलेसनमा बस्थेँ र आर्थिक भार मलाई कम हुन्थ्यो । मैले रहरले ७ दिनमा सवा लाखको बिल तिर्न खोजेको थिइनँ । प्राइभेट चाहर्नै परेर तीन पटक एम्बुलेन्स चढ्नुप¥यो । सांसद बिन्दुकुमार थापाले पैसा भए पनि अस्पताल कै कारण सासू बचाउन नसकेको, स्वयं वरिष्ठ डा. मुकुन्द आचार्य हेलिकोप्टर चार्टर गरेर काठमाण्डौ ह्याम्स जानुपरेको अवस्थाले यहाँको उपचार अवस्था र व्यवस्थापन कस्तो हुन्छ भन्ने छर्लङ्ग हुन्छ ।

यसबिचमा मैले यहाँको सरकारी व्यवस्थापन, दल, नेता, केन्द्र सरकार र प्रदेश सरकारसँग सामाजिक सञ्जालमा तीतो पोखिरहेँ । सरकारले के गरेको छ, अनुभव प्राप्त मैले भन्दा मेरो लागि सरकार हुनु र नहुनुको अर्थ भएन । म दशक बढी पोखरेली पत्रकारितामा योगदान दिएको, सत्तासीन पार्टीले समेत चिन्ने, सत्ता र पहुँचमा हुनेहरूसँग नजिक र पेसाको हिसाबमा पनि अग्रणी मिडियामा मुख्य पदमा रहेको व्यक्ति, पत्रकार सङ्घसंस्थामा आबद्ध परिचित हुँदा त मैले समयमै एक्स-रे समेत पाउन नसक्ने रहेछु, अरू धनमाया र राजेश नै बन्नुपर्ने नियति छ । नागरिक आफै सचेत हुनुपर्छ । सरकारी स्तरबाट जम्मा दुई कल फोन आयो । महानगरको स्वास्थ्य महाशाखाबाट कनट्याक्ट ट्रेसिङमा को को हुनुहुन्छ ? भनेर फोन आयो । काठमाण्डौबाट तपाईँको उमेर कति हो ? छुटेछ भनेर सोधे । यसबाहेक होम आइसोलेसनमा बस्नेहरूलाई के गर्ने भनेका हुन् ? अरू थाहा भएन । महानगरमा रहनुभएका माधव दाइले सम्बन्धका हिसाबमा व्यक्तिगत तवरले जे गर्नुभयो, सकेको गर्नुभयो । सरकारले यति जनाको पीसीआर भयो, यति जना संक्रमित भए, यति जनाको मृत्यु भयो भन्ने तथ्याङ्क दिनुबाहेक नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व अरू केही पूरा गरेको छैन । यो मेरो भोगाइबाट निस्केको निष्कर्ष हो ।आफूलाई परेपछि नै त थाहा हुने रहेछ । आत्तिएर अन्तिम नोट समेत लेखेर बसेको मान्छे म, आँखै अगाडि पुलिसको भ्यानले सिट्ठी बजाउँदै एकै दिन ३ वटा शव लगेको देखेको मान्छे म । अनि आफ्नो भोगाई र वास्तविकता एकतिर छ, नेताहरूका गफ चित्त फाट्ने खालको छ। चित्त बुझ्ने गरी पेज, ट्विटरतिर लेखेर बसेँ । पत्रकार महासंघ, कास्कीको जुम मिटिङमा सहभागी भएँ, विविध विषयमा चर्चा भयो ।

हस्पिटलबाट डिस्चार्ज भएपछि
मंसीर ८ गते अस्पतालबाट डिस्चार्ज भएँ । सिधै घर जान मन थियो तर के गर्नु नेगेटिभ कहिले हुने हो ? १४ दिनपछि लक्षण नदेखिए अरूलाई सर्दैन र आफू पनि एण्टीबडी बनिसकेकाले सुरक्षित हुन्छ भनिए पनि समाजले त्यस्तो स्विकार्दैन । समाजले नेगेटिभ नै रिपोर्ट खोज्छ । सोझै फेरी होटलमै गएँ । कोभिड संक्रमितलाई छाती फुले जस्तो हुने, श्वास फेर्न गाह्रो हुने, थोरै चिसोले समेत खोकी लाग्ने, थाक्ने अनुभव धेरैले शेयर गरेका थिए, मलाई पनि यस्तै भयो । होटलमा रहँदा धेरै जनासँग कुराकानी गरेँ । जसले फोन गर्छन्, आफ्नो अवस्थाबारे बताएँ । साथी राजकिरण मार्फत खान मन लागेका कुराहरू मगाएँ । होटलमा आएपछि भने ज्यान दुख्यो । राति पनि कटक्क पेट काट्न थाल्यो ।

मंसिर १२ गते स्वाब दिन दुई वटा मास्क, पन्जा लगाएर बाइकमै प्रदर्शनी केन्द्र पुगेँ । सुचितालाई नजिकै छु पनि भनिनँ । भोलिपल्ट माधव दाइले ‘ल घर जान कतिको मन छ ? नेगेटिभ आएको छ है’ भन्नुभयो । तुरुन्त भाइलाई ट्याक्सी लिएर लिन आउन भनेँ । समानहरु सबै ट्याक्सीमा राखेर म  होटलमै भएको आफ्नो बाइकमा फर्किएँ । लक्षण देखिएको १४ दिनपछि त सर्दैन भन्ने विशेषज्ञहरूको भनाई छ । रिपोर्टका हिसाबमा ९ दिनमा कोरोना जितेको देखियो तर मलाई २३ गतेबाटै लक्षण देखिएको मान्दा १२ गतेसम्म २० दिन भइसकेको कारण कोरोना सर्दैन भन्ने लाग्यो । र, छोरोलाई अँगालो हालेरै सुतेँ । अहिलेसम्म परिवार सबै सकुशल छन् । नेगेटिभ आएको ३ दिनपछि डा. मुकुन्द आचार्यलाई फोन गरेँ । उहाँले ओम हस्पिटल आउनु भन्नुभयो । पहिलेको सिटी स्क्यान रिपोर्ट देखाउँदै फोक्सोको एक्स-रे गराएँ । ‘७ प्रतिशत खराब अवस्था देखिएछ, अहिले सबै ठिक छ’ भन्नुभयो ।

सोचेजस्तो छैन संक्रमित हुँदा
कोभिड कसैका लागि रुघाखोकी जस्तो पनि नहुन सक्छ । लक्षण पनि देखिँदैन तर ऊ मार्फत अरूलाई सर्छ । जो दीर्घ रोगी अथवा उमेर पाकेका वृद्धवृद्धा छन्, उनीहरूलाई गाह्रो बनाउँछ । निमोनिया समस्या हुनेहरूलाई यो भाइरस ज्याद्रो छ । म जस्ता निमोनिया नै नभएकाहरूलाई समेत निमोनिया देखियो । सबै कोरोना संक्रमितलाई अल्छी लाग्ने, जाँगर नचल्ने, थाक्ने, श्वास बढ्ने समस्या देखिएको छ । नयाँ भाइरस हो, एक वर्ष आयु पुगेको भाइरसले संक्रमितहरुलाई पछि कस्तो असर गर्छ ? के थाहा ? तर बजारमा मास्क नलगाउनेको भीड बढेको छ । दुरी कायम गरेको पाइन्न । कोरोना केही होइन भनी गफ चुट्नेहरू स्वयम् संक्रमित भएपछि कोरोना के हो ? थाहा पाउनेछन् । संक्रमणको समयमा आफू संक्रमित भएको सार्वजनिक नगरेपनि सामाजिक उत्तरदायित्वसहित आफ्ना परिवार, आफ्ना घरभेटी, निकटका मित्रहरू जोगाउन मैले लक्षण देखिएको दिनदेखि प्रयासमा रहेँ । मेरो कारण कोही संक्रमित भएनन्, यसमा म सन्तुष्ट छु ।

जसका ऋणी भएँ
अभिभावकका रूपमा सशरीर उपस्थित भएर सबै जिम्मेवारी पूरा गर्नुभएका आदरणीय दीपेन्द्र श्रेष्ठ सर, काठमाण्डौमा रहेर पनि म मात्र होइन, हरेक कोभिडका बिरामी जो सहयोग चाहन्छन्, उनीहरूलाई आफै सम्झेर कल, म्यासेजमार्फत हरपल फलो अप गर्नुहुने डा. रवीन्द्र पाण्डे, जिएमसी हस्पिटल, लक्ष्मण शर्मा सर, चरक हस्पिटल सबैप्रति आभारी छु ।
जिएमसीमा कार्यरत नर्स बहिनीहरूप्रति अत्यन्त आभारी छु । उहाँहरू पिपिई लगाएर फुल टाइम खटिनुभयो । कति कठिन हुन्छ भन्ने कुरा हामी हेर्नेले भन्न नसकौँला । सामान्य बिरामी सरह कोभिडका बिरामीहरूलाई हेरचाह गर्नु भनेको समाजका जान्ने बुझ्ने भनिएकाहरू अगाडि नै ‘च्यालेञ्ज’ हो । कत्ति पनि डर मनमा नराखी सेवा गर्नुहुने सबै नर्स टिम धन्यवादका पात्र हुनुहुन्छ । डा.अमर नागिला र डा. मुकुन्द आचार्यलाई नमन प्रकट गर्दछु । मेरो साथीभाइ रोशन अधिकारी, अशोक सेढाईं, रियाज तिमिल्सिना म तिमीहरूप्रति ऋणी छु । मलाई लक्षण भएकै दिनदेखि मेरो बारेमा अपडेट राख्ने, हरसमय ख्याल राख्दै हौसला दिने गणेश बराल दाइ तपाईँका प्रति म नतमस्तक छु ।

फलो अप गर्नुहुने रामकृष्ण ज्ञवाली दाइ, माधव बराल दाइ, त्रिभुवन पौडेल दाइलाई स्मरण गर्दछु । स्वाब क्षेत्रीय प्रयोगशाला लैजानेदेखि मलाई अस्पतालमा खाने व्यवस्था गर्नुहुने रोशन रिमाल दाइ, तिहारका बेला यहाँ औषधि किन्ने समेत आफन्त नहुँदा सहयोग गर्नुहुने मित्र जगत कार्की, मेरो स्वास्थ्यप्रति अत्यन्त केयर गर्नुहुने मेरी दिदी देवी र सरला, खानामा सहयोग गर्ने दाइ विक्रम खत्री सबैप्रति ऋणी छु । विदेशमा रहेर पनि सधैँ मेरो चासो राख्ने ज्ञानु भावीका साथमा करु दिदी । भाइहरू कमल, सुशील, अञ्जन, सुनिल, मिलन, राजन र आशिष् । साथीहरू राजकिरण, गोविन्द द्वय । आदरणीय व्यक्तित्वहरू महेश भण्डारी सर, अर्जुन पोखरेल दाइ, नरेन्द्र बास्तोला सर, सजनी म्याम, रश्मि दिदी । आफ्ना अनुभव सुनाउँदै नआत्तिन सुझाव दिने अनुप भाइ, अनिष भाइ, अमृत सुवेदी दाइ, मोतिसागर अधिकारी दाइ, जीवन सुवेदी दाइ, मित्र अर्जुन गिरी, सहकर्मी अर्जुन परियार, अर्पण तिवारी । हरेक दिन जसो मामा कस्तो छ हजुरलाई ? भन्ने भान्जाहरू प्रदीप, सुमन । गोकुल दाइ, सुबा दिदी, सुष्मा बहिनी, छोरेपाटनका ममी सबैका प्रति धन्य छु । आफ्नी बुढी त भइहालिन् । सहकर्मीहरू अर्जुन थापा, किरण श्रेष्ठका अतुलनीय सहयोगप्रति म आभारी छु ।

मंसीर १ ’शून्य समय’ मानेर । जिन्दगीको हिसाबकिताब गर्दै यो दिनलाई जीवनको ’मध्य’ क्षण मान्छु तर नयाँ जिन्दगीको सुरुवाती दिन । नयाँ जिन्दगी नयाँ तरिकाले नै जीउने हो । केही प्रण गरेको छु । नाफाको जिन्दगीमा म पूरा गर्छु ।

जिन्दगीको हिसाबकिताब भो ।
हिसाबकै हिसाबकिताब भो ।
सम्बन्धको हिसाबकिताब भो ।
हिसाबकिताब गर्दाको बखत साथ सहयोगको हिसाबकिताब गरेँ भने, म जत्ति पापी को होला ? धन्य छु ।

लेखक बिग एफएमका स्टेसन म्यानेजर तथा पत्रकार महासंघ कास्कीका कार्यसमित सदस्य हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button