आधुनिक गीत नै मेरो पहिलो रोजाइ होः सागर शाह

पोखरा न्यूज। गायक तथा संगीतकार सागर शाह ‘एनजे’को जन्म भारतको मेघालयमा भएको हो । उहाँको पूख्यौली थलो भने लमजुङ जिल्लाका मध्यनेपाल नगरपालिकामा हो । कक्षा ६ सम्मको अध्यययन उहाँले भारतमा नै गर्नुभयो । नेपाल आएपछि उहाँले मध्य नेपालको भैरवकाली माविमा अध्ययन गर्नुभयो । उहाँमा बाल्यकाल देखि नै साहित्य, संगीत, अभिनय र खेल क्षेत्रमा रुचि थियो । उहाँलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न पारिवारिक वातावरणले नै मुख्य भुमिका खेल्यो । त्यतिबेला मुमाले गाएको भजन सुन्दै उहाँका दिनहरु सुरु हुन्थे । भैरवकाली माविबाट प्रवेशिका परिक्षा उत्र्तीण गरेपछि उहाँ पोखरामा आउनुभयो । पोखराको पृथ्वीनारायण क्याम्पस पोखराबाट उहाँको कलेज यात्रा सुरु भयो ।

उहाँले पहिलो रेकर्ड गरेको गीत ‘धौलागिरी फेदमा हिउँ प¥यो’ भन्ने गीत हो । यो गीत २०५२ सालको अन्तिममा सिम्फोनिक डिजिटल रेर्कडिङ स्टुडियो काठमाण्डौमा रेकर्ड भएका थियो । यो सिञ्जा व्यान्डको पहिलो गीत समेत थियो ।

२०५३ मा सिञ्जा व्यान्डकै एलबमको ‘जाउँ है कान्छी’ पोखरा गीतमा उहाँले आवाज भर्नुभयो । २०५६ सालमा आएको मिर्मिरे एलबम मार्फत ‘यो जुनीमा भयौं पराई गीत’ आयो । त्यसपछि उहाँले सोलो एलबम पस्कन थाल्नुभयो । २०५९ सालमा ‘अचानक’, २०६१ सालमा ‘सानु’, २०६४ सालमा ‘याद’, २०६६ सालमा ‘तिमीलाई’ र २०६९ सालमा ‘ऋषभ’ एलबम पस्किसक्नुभएको छ । पछिल्लो क्रममा गीत रेकर्ड गर्दै भिडियो निर्माण गरेर सार्वजनिक गर्दै उहाँले यात्रामा निरन्तरता दिइरहनुभएको छ ।

जाउँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ आदि गीत चर्चामा रहे । उहाँले हालसम्म ८० भन्दा बढी गीतमा आवाज तथा संगीत भरिसक्नुभएको छ । उहाँको अन्तिममा रेर्कड भएको गीत ‘नजरैले हान्यो’ हो । यो गीतको भिडियो निर्माण गरेर सार्वजनिक गर्ने उहाँको तयारी छ ।

विभिन्न सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुति राखिसक्नुभएका उहाँले नेपालका धेरै ठाउँमा पुगेर आफ्नो प्रतिभा सुनाइसक्नुभएको छ । यसका अलावा भारत, जापान मलेसिया सहित युरोपका देशमा समेत पुगेर संगीत पारखीको सांगीतिक तृष्णा मेटाउने प्रयास उहाँले गर्नुभएको छ । यसपाली उहाँसँग सांगीतिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
मेरो मुमाले मिठो आवाजमा कृष्ण भजन गाउनु हुन्छ । बाल्यकाल बाटनै उहाँको भजन सुन्ने अवसरले म भित्र समेत संगीत क्षेत्रको मोह बढ्यो । २०५२ सालमा मित्र राजेन्द्र अधिकारीको शब्द र मेरो संगीतमा ‘जाँउ है कान्छी पोखरा’ गीत रेकर्ड गरियो जुन गीत सिञ्जा ब्याण्ड मार्फत ल्याइएको थियो । यसरी नै सुरु भएको थिया मेरो सांगीतिक क्षेत्रको यात्रा ।

कस्ता गीत गाउन मनपर्छ ?
आधुनिक गीत नै मेरो पहिलो रोजाई हो । सोही कारण लोक आधुनिक गीतहरु गाउन मलाई मनपर्छ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
रेडियो नेपालको माध्यम बाट सुनिन्थ्यो । गाउँमा रोधी घरको जमघटमा गीत सुन्न पाइन्थ्यो । यसका अलावा स्कुलको बार्षिक उत्सवमा समेत गीत गाएने चलन थियो त्यहाँ समेत सुनिन्थ्यो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
नारायण गोपाल, फत्तेमान, बच्चु कैलाश, प्रेमध्वज प्रधान, अरुणा लामा, तारादेवी मलाई मनपर्ने गायक गायिका हुनुहुन्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
सोचे जस्तो सजिलो छैन । जीबन धान्न कठिन छ । यसको मतलब नसकिने भने होइन । सांगीतिक क्षेत्रबाट जीवन धान्न सकिन्छ ।

तपाईले देखेको सपना ?
खासै ठुलो सपना केही देखेको छैन । असल व्यक्त्विको पहिचान बनाउने रहर हो । सधैं संगीतमा लगाव राख्छु । देशमा अमन चयन होस् भन्ने सपना मैले देख्ने गर्छु ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
सुनमा सुगन्ध भने झैं नेपाली संगीत क्षेत्रले देशको गरिमा बढाएको छ । यो नेपाली साँगीतिक क्षेत्रको सकारात्मक पाटो हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
नेपाली माटो सुहाउँदो नेपालीपनको संगीत लाई प्रथामिकता दिनु पर्छ । नेपाल सरकारले पनि संगीत क्षेत्रलाई उच्च स्थानमा राखेर सपोर्ट गर्नु पर्दछ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?
हार्मोनियम, गितारमा दैनिक अभ्यास गर्दै आफुमा निखारता प्रदान गर्ने प्रयास गरिरहेको छुँ ।

संगीत क्षेत्रबाट पाएको कुरा ?
गायक तथा संगीतकार भन्ने पहिचान अनि तपाई हरुको माया मैले संगीत क्षेत्रबाट पाएका कुरा हुन् ।

संगीत क्षेत्रबाट गुमाएको कुरा ?
मैले संगीत क्षेत्रमा लागेर गुमाएको खासै केही छैन ।

अबका योजना के छन् ?
संगीत क्षेत्रमानै निरन्तर अगाडि बढ्ने हो । अब छिट्टै नयाँ गीत लिएर आउँदैछु ।
अन्तमा के भन्नुहुन्छ ?
प्रश्न सोधेर स्रोता, दर्शक सामु मेरा दुई शब्द पु¥याइदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । दर्शक, स्रोताको माया अनि आशिर्वाद पाई रहुँ यहि अपेक्षा राख्दछु ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button