मेरो मुख्य सपना विभेदरहित समाजको स्थापना हो : क्षितिज सापकोटा

अहिलेको अवस्थाको वैधानिक समाधान भनेको संसद पुर्नस्थापना नै हो

पोखरा न्यूज । युवा नेता क्षितिज सापकोटा ‘किरण’को जन्म कास्की जिल्लाको मादी गाउँपालिका तारकाङमा भएको हो । उहाँले ९ कक्षा अध्ययन गर्दाबाट विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो । त्यतिबेला उहाँ सीताराम माविमा अध्ययन गर्नुहुन्थ्यो । इकाइ समितिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले हालसम्म विद्यार्थी संगठन तथा पार्टीका विभिन्न कमिटीमा बसेर काम गरिसक्नुभएको छ ।यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैधानिक रुपमा विभाजन नभएपनि अहिले दूई समूह स्पष्ट रुपमा देखिएको छ । दुवै समूहबाट छुट्टाछुट्टै गतिविधि मार्फत कार्यकर्तालाई संगठित तथा जनताको साथ खोज्ने प्रयास भैरहेको छ । दुवै समूहले आफूहरु मुलधार भएको दावी गरिरहेका छन् ।यो समयमा सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा हुनुहुन्छ । यही समूह मुलधार भएको दावी गर्ने सापकोटा प्रचण्ड–माधवकुमार नेपालको नेकपाको कास्की जिल्ला कमिटी सदस्य, विद्यार्थीको केन्द्रीय सदस्य र हालै गण्डकी प्रदेशको समन्वयको जिम्मेवारीमा हुनुहुन्छ । यसपाली युवा नेता सापकोटासँग उहाँको राजनीतिक यात्राको आरोह अवरोहसँगै अहिलेको राजनीतिक अवस्थाका बारेमा केही प्रश्न गरेका छौँ ।

तपाईंको विद्यार्थी राजनीति कसरी शुरु भयो, हालसम्म कुन कुन कमिटीमा बसेर काम गर्नुभयो ?

सीताराम माविमा नौ कक्षा पढ्ने बेलामा इकाइ समितिबाट राजनीतिक यात्रा शुरु भएको हो । पृथ्वीनारायण क्याम्पसमा आएपछि अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको इकाई समितिमा आवद्ध भए । विद्यार्थी स्वंमसेवक पृथ्विनारायण क्याम्पसको अध्यक्ष तथा जिल्लाको सचिवको रुपमा काम गरे । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको अध्यक्ष, अखिल क्रान्तिकारी केन्दी्रय समितिको सदस्य, केन्द्रीय सचिवालय सदस्य, केन्द्रिय सचिव, गण्डकी इन्चार्ज बहन गर्ने अवसर मिल्यो । पार्टीको हकमा सेलकमिटिको सदस्य, अध्यक्ष, माओवादीको कास्की जिल्ला समितिको जिल्ला सदस्य मात्र नभएर माओवादीको केन्द्रीय सदस्य समेत भएर काम गरे ।

अहिले के के जिम्मेवारीमा हुनुहुन्छ?

अहिलेको पार्टी वैधानिक रुपमा विभाजन भएको छैन । तर दुई समुहमा गतिविधि भैरहेका छन् । म प्रचण्ड–माधवकुमार नेपालको नेकपाको कास्की जिल्ला कमिटी सदस्य, विद्यार्थीको केन्द्रीय सदस्य र हालै गण्डकी प्रदेशको समन्वयको जिम्मेवारी प्राप्त भएको छ ।

संसद विघटित पछि अहिले देशमा भैरहेको गतिविधिले के संकेत गर्छ ?

संसद विघटन गर्ने कुरा नयाँ त हैन । तत्कालीन राजा ज्ञानेन्द्रले गरे, महेन्द्रले गरे, गिरीजाले गरे, मनमोहनले पनि गरे । तर त्यो परिस्थिति र अहिलेको परिस्थिति फरक छ । नेपाललाई कहिल्यै शान्ति र स्थिरता तर्फ अगाडि बढ्न नदिने उद्देश्यले अहिले विघटित गरिएको हो । जुन सरासर गलत छ । आफैले बनाएको संविधान जो सर्वोच्च निकायमा छ उसैले हनन गर्नुले देशलाई कुनै न कुनै बहानामा द्धन्द्ध लान खोजेको भन्ने कुराकै प्रक्षेपण हुन्छ ।नेपाल अब छिट्टै मुटभेडको दिशा तर्फ अगाडि बढ्ने खतरा देखिएको छ । नेपालमा केही मानिसको हत्या गर्ने र संकटकालको घोषणा गर्न केही विदेशीहरुको स्वार्थ यसमा मिसिएको छ । जो नेपालमा अस्थिरता मच्चाएर विभिन्न नाउँमा व्यापार गर्न खोज्छन् । उनीहरुले फेरिपनि आफ्नो गोटी नेपालमा चलाएर त्यो तर्फ उन्मुख बनाउन खोजेका छन् भन्न सकिन्छ ।

यसको समाधान के हुन सक्ला ?

यसको वैधानिक समाधान भनेको संसद पुर्नस्थापना नै हो । प्रतिनिधि सभालाई पुर्नस्थापित गर्नुपर्छ । अहिलेसम्म हाम्रो आशा के छ भने भन्दा न्याय विक्दैन, न्याय प्रभावित हुदैन, पहुँचको आधारमा न्याय यताउति गर्न सकिदैन भन्नेमा विश्वास छ । हुनत आम मानिसले सानालाई ऐन ठूलालाई चयन भन्नेनै बुझिरहेका छन् । यो केसमा त्यस्तो हुँदैन भन्नेमा हामी आशावादी छौ । तर यहाँ भइरहेका गतिविधिका कारण ढुक्क हुने अवस्था भने छैन । अहिले सम्मानीत सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद बिघटनलाई गलत ठहर गर्दै संसद पुर्नस्थापित गरेर ट्रयाकमा ल्याइदिएन भने आम मानिसमा जसले सक्छ त्यसलाई मात्र कानून लाग्दैन अरुलाई लाउछ भन्ने कुरा स्थापित हुन्छ । अदालतले त्यस्तो जोखिम लिदैन भन्ने हाम्रो विश्वास छ ।

वैधानिक रुपमा पाटी विभाजन भै नसकेपनि दुई पक्ष भएर आरोप प्रत्यारोपमा उत्रदा मत दिएर जिताउने मतदाता र कार्यकर्ताकै ठूलो पंक्ति निरास छन् यसले तपाईं जस्ता युवाको राजनीतिक यात्रा कता लग्ला ?

पार्टी फुटेपनि नफुटेपनि यो समग्र पार्टीले जनताका आवाजहरु उठाउन सकेन, बुलन्द गर्न सकेन । कोरोनाले मानिस घरबाट बाहिर निस्कन सकेनन् । व्यवसायीले व्यवसाय गर्न पाएन । मजदुरले मजदुरी गर्न पाएनन् कोही कोरोनाको कारण मरे, कोही कोरोनाको डरको कारण मरे, कोही मानिस खान नपाएको कारणले मरे । सरकार छ, पार्टी छ, कम्युनिष्टले सर्वहारालाई हेर्छ, निम्नवर्गलाई हेर्छ भन्ने प्रतिबद्धता थियो, आशा थियो, बुझाई थियो त्यो पहिल्यै अन्त्य भयो । त्यो अन्त्य हुनुसँगै नेकपा विगठनको चरणमा पुग्यो, वैधानिक रुपमा नभएपनि कार्यगत रुपमा बिघटन भयो । जुनवर्गको निम्ति राजनीति गर्ने दृष्टिकोण बनाएको थियो, सिद्धान्त बनाएको थियो त्यो नै कार्यान्वयन नभएपछि उतिबेलानै यो विघटन भएको थियो । नेकपा मात्र नभएर यसभन्दा अगाडि नेपालका कम्युनिष्ट पार्टीहरु फुट्दापनि विभिन्न विचारका लेपनहरुले फेसियल गर्ने काम हुन्थ्यो । तर अहिलेको परिस्थितिमा नेकपाले नेपाली जनताको आवश्यकताको परिपूर्ति गर्न सकिरहेको थिएन ।

चुनावमा जनतासँग धेरै भोट माग्न जाने हामीजस्तो वर्ग नै प¥यो । माथीको नेता आउनुभयो उहाँहरुलाई लिएर हामी जनतासम्म गयौ । हामीले जनतालाई दुई तिहाइ दिनु अनि राम्रो काम हुन्छ, समृद्धि हुन्छ नेपाल पनि विकसित देश बन्छ भन्यौ । अहिले आएर नेताहरुले त्यसमा कालो धब्बा लगाइदिनुभयो । यस्ले हामी दुखित छौ । नेपाली जनतासँग फेरी एकपटक माफी माग्नुपर्ने ठाउँमा हामी पुगेका छौँ ।
दोस्रो कुरा अब युवाको भविष्य के हुन्छ भन्ने सवाल छ । हामी यस्तो पिढी हौ जसले राजतन्त्र पनि व्यहोरेउ, गणतन्त्र पनि बेहोरेउ ।

अक्सर एउटै मानिसले दुइवटा व्यवस्था बेहोर्न पाउँछ । लामो समय शासन गरेको राजालाई हटाएर अर्को शासनको पनि हकदावी गर्ने दुईवटै आन्दोलनको श्रेय लिने त्यो मौका हाम्रो वर्गले पाएको थियो । हामी खुशी थियौ । हामी राजतन्त्रलाई हटाउ तथा गणतन्त्र ल्याउन सफल बन्यौ । एउटा संघर्ष आन्दोलन सकियो अब नयाँ ठाउँमा पुगियो भनेको फेरि आन्दोलन गर्ने ठाउँमा शासकहरुले पुर्याए । यो कताबाट पुगियो भन्दा संविधानको कार्यान्वयन नगरेको कारणले, संविधानलाई मिचेको कारणले पुगियो ।

अब हाम्रो यात्रा के होला, भविष्य के होला भन्दा पनि नेपालको संविधान कार्यान्वयन गरिएन भने थप कष्टकर अवस्थामा हामी पुग्छौ । मुल नेतृत्वलेनै संविधानलाई हत्या गर्न लागेकोले यसपाली कमसेकम संविधानलाई पूर्णरुपमा कार्यान्वयन गराउने तथा कार्यान्वयनपछि अब कसको भविष्य के हुन्छ भन्ने कुरा छलफलमा ल्याउनुपर्छ भन्ने लाग्छ । अहिलेको सबैभन्दा पहिलो मुद्दा संविधान कार्यान्वयनको मुद्दा हो । यसलाई कार्यान्वयन गराउनुपर्छ । अनिमात्र अन्य मानिसको भविष्यको लेखोजोखा हुनुपर्छ ।

पदको झगडामा देशलाई तहसनहस पार्ने नेतृत्वकै पछि पक्ष र विपक्ष बनेर लाग्नु भन्दा युवाले रचनात्मक दबाब दिनुपर्ने हैन र ?

यहाँ नेताको पक्ष, विपक्षमा भन्दापनि सही र गलतको पक्षमा हो भन्ने लाग्छ । यसरी हेर्दा कहीले कोही नेताले सही गर्नुभयो, कहीले कोही नेताले गलत गर्नुभयो । राजनीतिमा यस्तो हुन्छ नै । विडम्बना हाम्रो प्रवृत्ति कस्तो भयो भने एउटा नेताको पछि लागेपछि लागेको लाग्यै गर्नुपर्ने । म केपी ओलीको पछि लागे भने सधै केपी ओलीको भक्त्त हुनुपर्ने । उहाँले गलत गर्दा गलत गर्नुभयो भन्न नमिल्ने नपाउने यस्तो पनि हुन्छ । सहीलाई सही गलतलाई गलत भन्ने आँट गर्नसक्नुपर्छ ।एजेन्डामा पक्ष, विपक्ष भन्दापनि नेताको पक्ष र विपक्षमा लाग्नु दःुखद कुरा हो । यसलाई सच्याउनुपर्छ । यसको लागि युवाले पहलगर्नुपर्छ । युवाहरुको खबरदारी पुगेको छैन अब पुर्याउनुपर्छ ।

दोस्रो कुरा अहिले संविधान मिच्नेमा देशको प्रधानमन्त्री केपी शर्मा ओलीनै मूख्य हुनुहुन्छ । बाँकी सबै नेता, पार्टी, नागरिक, युवा, लेखक, साहित्यकारसहित अधिकांश मानिस एकातिर हुनुुहन्छ । अहिलेको अवस्था एजेन्डाको हिसाबले आएको हो, केपी ओलीको पक्ष विपक्ष भएर हैन । सडकमा देखिएको सबैको आवाज केपी ओलीले चाल्नुभएको गलत कदमको पक्ष र विपक्षमा हो । हामी जस्ले बुझ्यौ, यो गलत हो भन्ने लाग्यो त्यसको पक्षमा निरन्तर आवाज उठायौ । यो गलत हो यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ, उल्ट्याउनुपर्छ भन्नेमा लागेका छौ । हामी प्रचण्ड-माधवकुमार नेपालको पक्षमा लागेका हैनौ, गलत कदमको विपक्षमा लागेका हौ । नेपाली जनताले ठुलो त्याग र बलिदानी पछि प्राप्त गरेको संविधानको रक्षाको लागि हामी जुटेका हौँ । साना र ठुलालाई हेरेर हैनकी समानरुपमा संविधानको कार्यान्वयन गराउनुपर्छ भनेर हामी लोगेका छौँ ।

हामीलाई थाहा छ दुई पक्षमा विभाजन हुँदा अथवा पार्टी विभाजनको तहमा पुग्दा कम्युनिष्टहरु फेरी चिराचिरा परेर चुनावमा भाग लिदा यस्ले भाइ फुटे गभार लुटे भन्ने ठाउँमा पु¥याउछनै । कम्युनिष्ट पार्टीको नाममा सत्तामा जाने तर कम्युनिष्ट पार्टीको सिद्धान्त जुन हो मुल स्प्रिड जुन हो त्यो स्प्रिड अनुसार काम नगर्ने हो के अर्थ भयो । कम्युनिष्ट पार्टीले सिद्धान्त बोकेर राजनीति गरेका थिए, त्यो सिद्धान्त कार्यान्वयन गराउनका लागि ठुलो बलिदानी र सर्घष भएको थियो । सत्तामा पुगेपछि एजेन्डालाई विर्सने हो भने कम्युनिष्ट सत्तामा गएको अर्थ के नै भयो र ।

नेताको स्थार्थ के थियो आफ्नो ठाउँमा होला तर नेपाली जनताको स्वार्थ सुखी नेपाली समृद्ध नेपाल निर्माण हुन्छकी भन्ने नै थियो । युवाहरु अब विदेश जान पर्दैनकी रोजगारीको सम्भावना नेपालमानै बन्छकी भन्ने आशा थियो । शान्तिका साथ नेपाली बाच्न पाउछनकी भन्ने ठुलो अपेक्षा जनताको थियो । तर जनताका ती अपेक्षामाथी अहिले धब्बा लागेको छ । अब युवाहरु जागेर जनताका अपेक्षालाई पुरा गर्ने दिशामा नेतृत्वलाई हिड्न बाध्य पार्नुपर्छ ।

दुई पक्षमा बिभाजन हुँदा कास्कीको राजनीतिमा कस्तो असर परेको छ ?

असर नै नहुने कुरा त भएन । यसले देशैभरीनै असर गरेजस्तो कास्कीमा समेत विभाजनको असर देखिन्छ । वैधानिक रुपमा विभाजन नभएपनि दुवै पक्षबाट आ–आफ्ना गतिविधि भैरहेका छन् । कास्कीका मतदाता तथा कम्युनिष्ट कार्यकताहरु न्यायको पक्षमा हुनुहुन्छ । अहिले अन्याय देशको प्रधानमन्त्रीले गर्नुभएको छ । उहाँले चालेको कदमको पक्ष विपक्षबाट तर्क विर्तक भइरहेका छन् । यो फुटले सामान्य असर त केही गर्ला, सामान्य स्वार्थ मिल्ने उता लाग्नुहोला तर ‘मुलबडी’ यताउता हुँदैन । सबै कम्युनिष्ट कार्यकता हामीसँग एकै ठाउँमा हुनुहुन्छ । आउनेक्रम बढ्दैछ । विस्तारै फुटको असर छैन भन्ने अवस्थामा पुगिनेछ ।

नयाँ पुस्ताको आकर्षण राजनीतिमा कस्तो देखिन्छ ?

राजनीतिमा नयाँ पुस्ताको आर्कषण छैन । नयाँ पुस्ता राजनीतिमा आउँन चाहदैन । राजनीतिलाई फोहोरी खेल हो भन्ने एउटा पंत्ती रहेको छ । राजनीति फोहोरी खेल हैन है राजनीतिले सबै कुराको फाइनल गर्छ । यसलाई फोहोरी खेलको रुपमा बुझ्नुहुदैन भन्ने मान्यता विकास हुँदै गएको थियो । धारणा विकास हुदै गएको थियो । प्रधानमन्त्रीको असंवैधानिक कदमले अहिले फेरि पुरानै अवस्थामा पु¥याएको छ ।
युवाहरु १२ कक्षा पढेपछि पासपोर्ट तयार गरेर विदेश जानको निम्ति तयारी गर्ने ट्रेन विकास भइरहेको थियो । यो ट्रेनलाई रोक्न सकिन्छ की भन्ने अवस्थामा आइपुग्दा फेरी नेपाल द्धन्द्धमा जाने खतरा देखिएको छ । यो पहिलो खतराले गर्दा युवा राजनीतिमा अब झनै आउदैनन् ।

अर्को कुरा अहिले पनि केपी शर्मा ओली, माधव कुमार नेपाल, प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराईलाइनै नेता बन्न परिराखेको छ । दोस्रो पिढिको कुरै छैन । यो देशको मुल नेतृत्व गर्छु भनेर राजनीतिमा आउने मान्छेलाई अगाडि बढ्न दिइदैन । मेरो नीतिले यो देशको परिवर्तन गर्छु भनेर राजनीतिमा आउने युवाहरु दाह्री फुलेका, दात फुस्केका नेताहरुले नछोडेपछि राजनीतिमा लागेर आफ्नो भविष्य देख्दैनन । आफ्नो भिजन, रणनीति, कार्यनीति लागु गर्न नस्क्ने भएपछि खास युवाको आर्कषण राजनीतिमा देखिदैन । नेता रिसाउछन्की भनेर पुस्ता हस्तान्तरणको एजेन्डा नउठाउँदा राजीनितमा युवाको आर्कषण कम देखिन्छ ।

तपाईंले राजनीतिमा देखेको सपना के हो ?

मेरो मुख्य सपना विभेदरहित समाजको स्थापना हो । कसैलेपनि अन्याय अत्याचारको अनुभुती गर्न नपरोस् भन्ने मेरो मान्यता छ । सोही कारण मुख्यत विभेदरहित समाजको स्थापना राजनीतिको मैले देखेको प्रमुख सपना हो । यसलाई व्याख्या गर्ने क्रममा कोही मानिस गास, बास, कपास,शिक्षा, स्वास्थ्यका कुरा आउँछ । यीनकोे अभावमा कसैले पनि सरकार छैन, राज्य छैन भन्ने कुराको अनुभुति गर्न नपरोस् भन्ने कुरा नै हो । कोही व्यक्तिले कुनै कार्यगर्दा अन्याय भोग्नु नपर्ने अवस्थाको सिर्जना हुने वातावरण होस् भन्नेने मैले देखेको सपना हो ।

तपाईंले राजनीतिक यात्रा गर्दा भोगेका दुःखद क्षण ?

राजनीतिक यात्राका क्रममा मैले धेरै दुःख भोगेको छु । आन्दोलनमा गएपछि प्रहरीले दिने थप प्रेसर, गिरफतारी भैहाल्यो । प्रहरीको कुटाइबाट धेरैपटक घाइते भएको छु । आन्दोलनका क्रममा झडप हुने, कुटाई खाने, गिरफतारी हुने भयो भनेर कहिल्यै निरास भइन ।
आन्दोलका क्रममा हुने झडपका कारण प्रहरीले झुट्टा मुद्दा लगायो । प्रहरीबाट जोगिन धेरै दिन लुक्नपथ्र्यो । सैनामैनामा रहेको कृष्णसेन स्मिृति विग्रेडमा लामो समय लुकेर धेरैपछि मात्र सम्पर्कमा आउनु परेको थियो । त्यतिबेला कोही साथीसँग सम्पर्क गर्न पाइने थिएन । केही समय पोखरामानै भुमिगत अवस्थामा बसेपछि प्रहरी प्रशासनको धेरै सोधखोज भएर निगरानी बढेपछि दुई महिना भुमिगत भएर बसे । राजनीतिका क्रममा अरु थुप्रै दःुखद क्षण छन् । यस्ता क्षणलाई लेसनको रुपमा लिन्छौ । यस्ता पाटा धेरै छन् । अर्को कुरा विद्यार्थी राजनीतिमा आर्थिक रुपमा सबल नहुँदा आएका धेरै समस्या छन् । त्यस्ता समस्या मैले भोगेको छु ।

अन्तमा के भन्नुहुन्छ ?

अन्तमा यो दुःखलाई नयाँ पाठको रुपमा ग्रहण गरेर फेरि संविधान कार्यान्वयन गराउने मुद्दा प्रमुखताका साथ उठाउन सडकमा आएका छौँ । पहिला हामी विद्यार्थी बोल्यौ । पोखराबाटनै सबैभन्दा पहिला प्रधानमन्त्रीको कदमको विरोधमा अग्रपभागमा जुटेका थियौ । प्रतिगमनका विरुद्ध तथा संविधान कार्यान्वयनको लागि हामीले शुुरु गरेको आन्दोलनमा विस्तारै युवाहरु आउनृुभयो । अहिले अधिकाशं पार्टी, अधिकाशं नेपालीजनता संविधान कार्यान्वयनको पक्षमा हुनुहुन्छ । म सबैलाई यो आन्दोलनमा आएर संविधान रक्षाको निम्ति सडकमा उत्रन आव्हान गर्दछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button