पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र-नेपाल

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताउनुभएको छ ।

सोमबार नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भइरहेको बताउनुभएको हो ।

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षडयन्त्र भइराखेको अनुभूति भएको बताउनुभयो । केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरु उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दावा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालहरुको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक षडयन्त्र भइरहेका छन की पार्टीको आधिकारिकताको कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षडयन्त्रहरु भइरहेको छ ।’

विगतमा पनि यस्ता सडयन्त्रहरु भइरहेको तर निर्वाचन आयोगले कानून र यथार्थको आधारमा निर्णय गरेको नजिरहरु रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी सम्झनु पर्दछ विगतमा पनि अनेक सडयन्त्रहरु भएका थिए तर तत्कालिन समयमा निर्वाचन आयोगका पदाधिकारीहरुले कुनै दवावको सामु झुकेनन, उनीहरुले कानून हेरे यथार्थलाई हेरे, कानून र यथार्थको आधारमा निर्णय गरेका छन । ती निर्णयहरु नजिरको रुपमा रहेका छन् । ती नजिरहरुलाई बेवास्ता गरिकन अनेक ढंगले चल्ने किसिमका प्रयत्न हुन सक्दछन त्यो हुनाले हामी होसियार बन्न आवश्यक छ ।’

अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक नेतृत्व आफूहरुले नै रहेको दावी समेत गर्नुभएको छ । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उहाँले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button