संस्थापक अध्यक्ष सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा न्यूज । चलचित्र पत्रकार संघ नेपाल पोखरा शाखाको संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रथम ‘जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पोखरा महानगरपालिका १३ कास्कीमा जन्मिनुभएका सिग्देलले २०५४ सालमा आदर्श समाज दैनिकबाट पत्रकारिता आरम्भ गर्नुभएको थियो । आर्दश समाज दैनिकमा मनोरञ्जन स्तम्भकारको रुपमा अहिलेपनि कार्यरत रहनुभएका उहाँ फेवा पोष्ट साप्ताहिकको सहायक सम्पादक तथा हिमालयन एफएमको गण्डकी प्रदेशको संवाददातासमेत हुनुहुन्छ ।
यही फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान सदस्य रहेको समिति गठन गरेको थियो । छनोट समितिको पदेन सदस्यमा अध्यक्ष अरुण गिरी र सचिव प्रभु अधिकारी रहनुभएको थियो । सोही छनौट समितिले सिफारिस गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

सिग्देलको अध्यक्षतामा चलचित्र पत्रकार संघ पोखरा शाखा २०६० साल असार २२ गते स्थापना भएको थियो । त्यतिबेला चलचित्र पत्रकार संघ केन्द्रमा मात्र सीमित थियो । चलचित्रको मुख्य बजार काठमाण्डौ उपत्यका भएपनि दोस्रो बजार पोखरा, धरान नारायणगढ, बुटबल, सुर्खेत, विर्तामोड जस्ता ठाउँमा थियो । केन्द्रले यी ठाउँमा शाखाको रुपमा चलचित्र पत्रकार संघको शाखा खोल्ने योजना बनायो । यता सिग्देललगायतले चलचित्र पत्रकारिता गर्ने उपयुक्त ठाउँ पोखरा हुनसक्छ भनेर काम गर्दै हुनहुुन्थ्यो । किनकी त्यतिबेला यहाँ फिल्मी गतिविधि धेरै हुने थिए । संघनै बनाएर पत्रकारलाई आवद्ध गर्ने र चलचित्र पत्रकारितालाई व्यस्थित रुपमा अगाडि बढाउने उहाँहरुको उद्देश्य थियो । केन्द्रको र उहाँहरुको उद्देश्य मेल खायो । चलचित्र पत्रकार संघ केन्द्रको संस्थापक भरत शाक्य उहाँकै प्रमुख आतिथ्यतामा चलचित्र पत्रकार संघ पोखरा शाखा स्थापना भयो । त्यतिबेला अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्ष्माा नवीन घायल, सचिवमा शिव शर्मा चञ्चल, सहसचिवमा टंक खनाल, कोषाध्यक्षमा इन्द्र राई तथा सदस्यमा एमबी आस्था मगर, विभु भुषाल, माधव बराल र सागरराज तिमिल्सिना हुनुहुन्थ्यो ।

त्यतिबेला पत्रपत्रिकाको स्कोप थियो । सिग्देलले फिल्म धेरै नै हेर्नुहुन्थ्यो । फिल्मी पत्रिका तथा काठमाण्डौबाट निस्कने पत्रिकामा चलचित्र सम्बन्धी समाचार पढ्दा उहाँलाई नेपाली चलचित्र हेरेर समीक्षा लेख्न सकिन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिबेला मेजर नेपाली लिएर उहाँ पृथ्वीनारायण क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो । सोही कारण लेखनमा रुचि जाग्यो । अनि ‘चोर’ भन्ने नेपाली चलचित्रको पहिलो समीक्षा उहाँले गर्नुभयो । समीक्षा आदर्श समाज पत्रिका प्रकाशित भएको थियो । त्यही समयबाट उहाँको चलचित्र पत्रकारिताको यात्रा सुरु भएको हो । कला मनोरञ्जन र संगीतको बारेमा पत्रकारिताको माध्यमबाट अगाडि बढाउन सकिन्छ भन्ने उहाँको मनमा लाग्थ्यो । बोर्डसिटका पत्रपत्रिकामा समाचार देख्दा मैले पनि लेख्न सक्छु भन्ने उहाँको मनमा हुन्थ्यो । सोही जोशका कारण उहाँले चलचित्र पत्रकारिता सुरु गर्नुभएको हो ।

अभिनयमा समेत रुचि राख्ने उहाँले अभिनेता राजेश हमालको क्यारिकेचर दुरुस्तै गर्नुहुन्छ । केही नेपाली चलचित्रमा छोटो भूमिकामा अभिनय गरिसक्नुभएका उहाँको अझैपनि नेपाली चलचित्र क्षेत्र र चलचित्र पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन निरन्तर कलम चलाउने योजना छ । प्रेम पागल, पछ्यौरी, रामलक्ष्मण, धर्मात्मा उहाँले अभिनय गर्ने अवसर पाएका चलचित्र हुन् ।
यता पुरस्कारदाता जीतप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुनुहुन्छ । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हाल्नुभएको थियो । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उहाँकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज संचालनमा छन् । त्यो बाहेक ‘एफडी’ चलचित्र वितरण कम्पनी द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले सञ्चालन गर्ने गरी यो पुरस्कार द्वा परिवारले स्थापना गरिदिनु भएको हो । गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट वर्षेनी एक जनालाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कार २०७७ सालमानै स्थापना भएको हो ।
यो पुरस्कार प्राप्त गर्ने ब्यक्ति पत्रकारितालाई मूल पेशा बनाई चलचित्र पत्रकारितामा सक्रिय हुँदै आएको तथा पत्रकारिता पेशा अन्र्तगत चलचित्र बीटमा कम्तिमा ५ वर्ष निरन्तर कार्य गरेको हुनुपर्नेछ । यसैगरी छनोट समितिमा वसेका कोहीपनि ब्यक्ति यस पुरस्कारका लागि योग्य नमानिने स्पष्ट रुपमा उल्लेख गरिएको छ । पुरस्कार वितरण गर्नुभन्दा १ महिना अगावै ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गर्नुपर्ने नियम रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button