ओली र नेपाल समूहबीचको वार्ता निष्कर्षविहिन

पोखरा न्यूज सम्वाददाता ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।

पार्टी कार्यालय  धुम्बाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो “सुरुवातमा राम्रो कुरा भयो । छुट्टीने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हाे यो अवस्थामा पार्टीको संरचना, पादधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाइ पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौ भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन । ”

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलापहरुको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाल कम्युनिष्ट पार्टी एमालेलाई कसरी एकतावद्ध गरेर लैजाने भन्ने विषयमा छलफल गर्याै ।”

सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलाप को प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफूहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताउनुभयो । विशेष गरि अध्यक्ष ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सर्वोच्च अदालतको २३ गते को फैसला पछिका क्रियाकलापको प्रभाव शुन्य हुन्छ । पार्टी अध्यक्षबाट यसबीचमा जुन कामहरु भयो, २८ गतेको केन्द्रीय कमिटि भनिएको छ, त्यसका निर्णयहरु भनिएको छ । हामीलाई खबर नगरिएको, त्यहाँ गरिएको भनिएका निर्णय को प्रभाव पनि शुन्य हुन्छ भन्ने तथ्यगत कुराहरु राख्यौ तर त्यो कुरालाई तदनुकुल स्वीकारर्ने कुरा हामीले सुन्न पाएनौ । त्यो कुरा नभएपछि हामी त्यसमा सहमत हुनै सक्तैनौ । किन भने सर्वोच्च अदालत फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा गयो भनिसकेपछि त संगठनात्मक र राजनीतिक, बैचारिक र व्यवहारिक दृष्टिकोणबाट हामी पूर्ववत अवस्थामा गयौ नि त । पूर्ववत अवस्थामा गयौ भनिसकेपछि त्यो अवस्थालाई स्वीकार गरेनौ भने हामीले मान्ने अवस्था आउँदैन ।”

उहाँले आफूहरु नेकपाको विधान पद्धति अनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफूले गरेका कामलाई चाही गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

नेता घनश्याम भुसाल पार्टीको पूर्ववत अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताउनुभयो ।

अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ्गले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताउनुभयो ।

त्यसैगरी महासचिव ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताउनुभयो । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाउनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button