नेपाल भारतवीच यातायात स‌चालन गर्न मन्त्री परिषद्लाई सिफारिस

पोखरा न्यूज सम्वाददाता । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा दैनिक रुपमा फेरि बृद्धि हुन थालेको बेला यस्ताे सिफारिस गरिएकाे हाे ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उहाँको भनाई छ ।

भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ करिब ३६ हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको सङ्ख्या बुधबार ३५ हजार ८७१ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसीएमसीका सचिव बरालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button