विश्व रंगमञ्च दिवसको दिनमा ‘म पछाडिको मेरो सत्य’ मञ्चन हुने

पोखरा न्यूज । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरामा नाटक ‘म पछाडिको मेरो सत्य’ नाटक पोखरामा मञ्चन हुने भएको छ ।

यो एकल नाटक हो । रन्जु दाहालको लेखन, निर्देशन तथा अभिनयमा यो नाटक तयार भएको हो । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा सान्त्वना हुन सफल भएको यो नाटक पोखराको बाराही माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै महोत्सवमा सहभागी बनेको थियो ।

नाटक विश्व रंगमञ्च दिवसको दिन चैत्र १४ गते शनिबार विहान ११ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । कूल १४ मिनेट अवधिको यो नाटकलाई प्रभावकारी बनाउन आफूले मेहनत गरेको बाराही माध्यमिक विद्यालय पोखरामा कक्षा ९ मा अध्यनरत छात्रा समेत रहनुभएकी दाहालले पोखरा न्यूजसँग बताउनुभयो । ‘नाटकको विषयवस्तु तेस्रो लिंगीको बारेमा छ, अरुको भनाई सुनेर नभई उनीहरुकै समुदायमा गएर उनीहरुलाई नै सोधेर कथा तयार पारेर नाटक तयार पारेकी हुँ’ दाहालले भन्नुभयो ।
अपेक्षा नगरेको भएपनि सान्त्वना स्थान प्राप्त गर्दा उत्साहित भएको उहाँको भनाई छ ।

नाटक मञ्चनको लागि तयारी गरिरहेको कारण दर्शकको साथ पाउने उहाँको अपेक्षा छ । ‘रिहर्सल गरिरहेकी छु, केही परिमार्जित समेत गरेकी छु पक्कै राम्रो बन्नेछ’ उहाँले थप्नुभयो । यसभन्दा अगाडि कथा, कविता लेख्ने गरेको भएपनि नाटक भने पहिलोपटक लेखेको उहाँको भनाई छ । स्कुलमा आयोजना हुने कार्यक्रममा नाटकमा अभिनय गरिरहेको भएपनि थिएटरमा पहिलोपटक प्रस्तुति राख्न लागेकोले थप उत्सुकता मनमा बढेको उहाँले सुनाउनुभयो ।

बाराही माध्यमिक विद्यालय पोखराका प्रधानध्यापक शिव प्रसाद भण्डारीले स्कूलले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको बताउनुभयो । विद्यार्थीलाई उत्पेरित गर्न विद्यालय लागिरहेको छ, स्कुललमा अतिरिक्त क्रियाकलाप अन्र्तगत नाटकमात्र नभएर निबन्ध, कविता लगायतका प्रतियोगीता आयोजना गर्दछौँ’ पोखरा न्युजसँग उहाँले भन्नुभयो । नाटकले सान्त्वना स्थान प्राप्त गरेकोमा खुशी लाखेको उहाँको भनाई थियो ।

प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दी, तनहुँ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । जसमध्य भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘न्यायको खोजी’ नाटक उत्कृष्ट बन्न सफल भएको थियो । जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्धितीय भयो । न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतले तयार पारेको ‘अभाव’ नाटक तृतीय भएका थिए ।

सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ सहित बाराही माध्यामिक विद्यालय कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ नाटक सान्त्वना भएको थियो ।प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । यो महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो ।

उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको थियो । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको थियो । ‘समितिले पहिलो चरणमा ४० नाटकलाई अवलोकन गरेको थियो । ४० नाटकमध्येबाट दोस्रो चरणमा उत्कृष्ट १५ नाटकलाई छनोट गरेर तीनै १५ मध्येबाट प्रथम, द्धितिय, तृतीय, सान्त्वना स्थानमा आउन सफल नाटक छनोट गरिएको हो’ महोत्सवका निर्देशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तले पोखरा न्यूजलाई भन्नुभयो ।

यस अगाडि उत्कृष्ट ४ नाटकलाई छनोट गरिने भनिएपनि २ नाटकले समान अङ्क प्राप्त गरेका कारण ५ नाटकलाई नै महोत्सवमा पुरस्कृत गर्ने निर्णय गरिएको आयोजकको भनाई छ । गत वर्षदेखि पोखरा थिएटरले विद्यालयस्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिकास्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेशस्तरीय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ रहेको छ ।

पुरस्कृत हुने ५ वटै नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको हो । प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चीस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ समेत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button