चुम्बनले गयो मन्त्री पद, बारम्बार माफी माग्न बाध्य

पोखरा न्यूज । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिनुभएको छ ।

‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उहाँले ’जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताउनुभएको छ ।

कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका बेलायती समाचार माध्यममा आएको छ ।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार नम्बर टेन भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उहाँलाई प्रधानमन्त्रीले ननिकालेको बताएको छ ।

ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भन्नुभएको छ, “म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ ।”

“यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु…र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ ।”

स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ’नियम तोडेकोमा’ बारम्बार माफी माग्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button