गोही प्रजनन केन्द्रमा २ सय ६५ वटा बच्चा कोरलिए

पोखरा न्यूज ।  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २ सय ६५ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर)लगायतका क्षेत्रबाट २ सय ३८ वटा अण्डा सङ्कलन गरिएको थियो । नारायणी नदीको भेलौजी र शिसुवारबाट २ सय १० वटा अण्डा सङ्कलन गरिएको हो । कूल ४ सय ४८ अण्डा सङ्कलन भएकामा ११ वटा न्याउरी मुसाले खाएको उहाँले जानकारी दिनुभयो ।

ती अण्डामध्ये १० अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए । त्यहाँबाट सातवटा बच्चा र अन्यबाट २ सय ५८ वटा बच्चा कोरलिएका हुन् । कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताउनुभयो । वैशाखको पहिलो साता अण्डा सङ्कलन गरिएको थियो । असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ । राप्ती, नारायणीलगायतका नदीमा हालसम्म एक हजार ५ सय १५ गोहीका बच्चा छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार नेपालका नदीमा १ सय ९८ वटा गोही भेटिएका थिए । पानीको बहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताइन्छ । हाल प्रजनन केन्द्रमा नयाँ बच्चाबाहेक ५ सय २ गोही छन् । प्रजनन केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् । गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजनन केन्द्रमा १२ वटा वयस्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले विसं २०३५ यता रहेको उहाँको भनाइ छ ।

राप्ती नदीको दुधौरा क्षेत्रमा १ सय ८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिकरूपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिनुभयो । निकुञ्जले केही अण्डालाई प्राकृतिकरूपमा छाडेर केहीलाई प्रजनन केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोहीको संरक्षण गर्दै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button