मनाङ र सिन्धुपाल्चोकलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन निर्देशन

पोखरा न्यूज । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले यसपालीको विपदबाट बढी प्रभावित सिन्धुपाल्चोक र मनाङलाई विपद् व्यवस्थापनको ‘नमूना क्षेत्र’ बनाउन सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण र सचिव महेश्वर न्यौपाने सहभागी समितिको आजको बैठकले सरकारले विपद्को सङ्कटग्रस्त जिल्ला घोषणा गरेको उक्त दुई जिल्लालाई विपद् व्यवस्थापनको कार्यमा उच्च प्राथमिकतामा राखी नमूना बनाउन निदर्शेन दिएको हो । समितिका सभापति शशि श्रेष्ठले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सबै नागरिकलाई जुनसुकैबेला पनि विपद्को सूचना प्राप्त गर्नसक्ने गरी आवश्यक प्रबन्ध गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले विपद् व्यवस्थापन गर्न आपसी सहकार्य र समझदारी कायम गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्रोतसाधन जनशक्ति सम्पन्न बनाउन पनि भनेको छ ।

समितिले बढी क्षति भएका जिल्लामा अवरुद्ध स्थानीय पूर्वाधार शीघ्र मर्मत तथा सुधार गरी सम्बद्ध निकायबीचको समन्वयमा राहत, पुनःस्थापना, बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माण गरी जोखिमका बासिन्दालाई सुरक्षित राख्न पनि निर्देशन दिएको छ ।

बैठकले तदारुकताका साथ विपद् जोखिम न्यूनीकरणका काम अघि बढाउन, अभाव क्षेत्रमा आवश्यक खाद्यान्न पुर्याउन र विपद् व्यवस्थापन कार्यलाई उद्धार तथा राहतमा मात्रै सीमित नगरी पूर्वतयारी तथा आवश्यक अन्य व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन गरेको छ । समितिले यसअघि दिएको निर्देशन प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पनि आग्ह गरेको छ । बैठकमा गृहमन्त्री खाँडले सरकारले विपद् व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा दिएर काम अघि बढाएको बताउनुभएको थियो । उहाँले नागरिकको सुरक्षा नै पहिलो प्राथमिकतामा रहेको र मन्त्रालय क्षति न्यूनीकरणमा गम्भीर रहेको प्रतिक्रिया दिनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button